Techie IT
२०८१ माघ २९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनमुस्ताङको लुरी गुम्बा ओझेलमा

मुस्ताङको लुरी गुम्बा ओझेलमा


म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२औँ शताब्दीमा बनेको हो ।

समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताए।

आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।

स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्ती अनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् ।

मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताए । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ । लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । गाउँपालिका र प्रदेश सरकारको १५–१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताए । यस वर्ष सार्वजनिक शौचालय बनाउन ५ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

खोटाङ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिक रुपमा शुरुआत गरिएको छ

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका

मुस्ताङमा पर्यटक आगमन वृद्धि

म्याग्दी । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन्

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् ।

Techie IT