Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनपर्यटकको पर्खाइमा टिटिताल

पर्यटकको पर्खाइमा टिटिताल


म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो ।

समुद्री सतह बाट २ हजार ६ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ । टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये पाँच प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताए । “वार्षिक चार लाख भन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउने मध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन्”, उनले भेन, “टिटीताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने होभने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो ।”

दैनिक हजारौँ पर्यटक आवतजावत गर्ने बेनी–जोमसोम सडकको लेते र कोखेठाटी बाट पाँच किलोमिटर भित्र रहेको टिटीताल सुनसान छ । लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पु र लेतेस्थित कालीगण्डकी नदी माथि मोटरेबल पुल निर्माण हुने हो भने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताए । हाल बेनी–जोमसोम सडक अन्तर्गत लेते छयो, धम्पु र सिर्खुम बाट झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन् ।

धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ । तालको चारैतिर सल्ला र धुपीका रुखको जङ्गल छन् । शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो । टिटी मुस्ताङमा रहेका मध्ये सबै भन्दा ठूलो ताल पनि हो ।

बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीन पटक टिटीताल घुम्न पुगेको बताए । “बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ”, उनले भने, “हाँसको बथान रमाइरहेको तालको एकातर्फ बाट निलगिरि र अर्का तर्फ बाट धवलागिरि हिमाल देख्न पाइन्छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गरेको अध्ययन अनुसार टिटीताल क्षेत्रमा एक सय ८६ प्रजातिका चराको बासस्थान छ । यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए ।

उनका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन । त्यसैले टिटीताल जैविक हिसाबले पनि महत्त्वपूर्ण मानिएको वन अधिकृत रानाभाटले बताए । मानिस र अन्य जनावरको पहुँच नभएको तालको बीच भागमा रहेको थुम्काहरूमा हाँसले गुँड बनाएका छन् । तालको कुना तर्फ रहेको थानमा हरेक वर्षको जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन टिटीतालमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय विकास गौचनले बताए ।

थासाङ गाउँपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप्र)ले ताल संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताए । गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङ सहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ । टिटी सहित वडा नम्बर २ कोवाङको भूगोलमा पर्ने भुछर्तो र सेकुङताल तथा गुरुसाम्पुक गुफामा पनि पूर्वाधार निर्माण भएको छ ।

यस अघि तालको पानी निस्कने ठाउँमा बाँध बनाएर क्षेत्रफल बढाइएको थियो । एक्पापले ताल परिसरमा पर्यटक बस्नका लागि फलामको बेञ्च र फोहर व्यवस्थापन गर्ने डस्टविन राखेको छ । ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ । पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेष्टुरेष्ट छन् ।

टिटीताल नजिकै तेजोडाडामा रहेको हिमालयन प्याराडाइज होटलका सञ्चालक दीपक गौचनले पाहुनालाई अग्र्यानिक तरकारी र खानाका परिकार खुवाउने गरिएको बताए । मुस्ताङको सबै भन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ । कुञ्जो बाट कास्की, लमजुङ, गोरखा लगायत जिल्लामा गुरुङ समुुदाय बसाइँसराइ गरेर गएका गौचनले बताए ।

टिटीताललाई सिमसार क्षेत्रमा सूचीकृत गर्न, बिचभागमा थुप्रिएको झार हटाउन, छयो र कालोपानीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल तथा छयो–कुुञ्जो–ताक्लु–टिटी–धम्पु–सिर्खुम सडक आयोजनालाई पूर्णता दिन स्थानीयवासीले माग गरेका छन् । साथै कोखेठाटीमा मोटरेबल पुुल निर्माणको पनि माग गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

Techie IT