Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थअन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा नयाँ रेकर्ड

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा नयाँ रेकर्ड


कास्की । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।

‘अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले भन्नुभयो, ‘पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन्, अन्य देशका पर्यटक भने घटेको पाइएको छ ।’ सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकोमा गएको वर्ष ९७ हजार पाँच सय ५४ जनाले यो क्षेत्रको भ्रमण गरेका थिए ।

अन्य देशका पर्यटक भने पहिलेको तुलनामा घटेका ‘एक्याप’ को तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा सार्क क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकामा गएको वर्ष जम्मा ९४ हजार चार जनाले यो क्षेत्र घुमेको आयोजना प्रमुख डा. कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । यस अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनीका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्याङ्क छ ।

कोभिड–१९ महामारीका बेला पर्यटक आगमन घटेकोमा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानै लय समातेको हो । कोभिड–१९ महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

आयोजना प्रमुख डा. कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको बताउनुभयो । घसडक मार्ग विस्तारले अन्नपूर्ण क्षेत्रमा पदमार्गको अस्तित्व सङ्कटमा परेको छ जसले गर्दा पदयात्रामा आकर्षण घट्दै गएको पाइएको छ, विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक छ, पर्यटन सम्बद्ध सबैको यसतर्फ ध्यान जानु जरुरी छ ।’

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । ‘आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य रहेको हुन्छ’, प्रमुख डा. कडरियाले भन्नुभयो, ‘असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा पर्यटकको चाप बढी हुन्छ ।’ सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।

तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट ‘लोन्ली प्लानेट’ ले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको थियो । गएको कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्त्व थप चुलिएको थियो ।

त्यस बखत उहाँले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताउनुभएको थियो । अमेरिकी समाचार संस्था ‘सीएनएन’ ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

‘कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘आकर्षक गन्तव्यस्थलहरू, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

Techie IT