Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभारत भ्रमण परिणाममुखीः प्रधानमन्त्री

भारत भ्रमण परिणाममुखीः प्रधानमन्त्री


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किएका छन् ।

साँझ नेपाल फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको बताए ।

“नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबुद बनाउन यस भ्रमणले योगदान गरेको छ”, उनले भने, “भारतका प्रधानमन्त्री मोदीसँग खुलस्त कुरा भएपछि विश्वासको वातावरण सिर्जना भएको छ भने थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तय भएको छ । विगतको भ्रमणभन्दा मैले फरक पाएको छु । सारभूत रूपमा यो भ्रमण परिणाममुखी र भविष्यका लागि स्पष्ट मार्ग निर्देशन गरेको छ ।”

प्रधानमन्त्री दाहालले भ्रमणमा विभिन्न सात दस्तावेजमा हस्ताक्षर र आदानप्रदान भएको जानकारी दिए । नेपाल–भारत पारवहन सन्धि, पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी समझदारीपत्र, दोधारा–चाँदनीमा एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धमा समझदारीपत्र, फुकोट–कर्णाली चार सय ८० मेगावाट जलविद्युत् परियोजना विकाससम्बन्धी समझदारी पत्र, तल्लो अरुण छ सय ६९ मेगावाट जलविद्युत् परियोजनासम्बन्धी परियोजना विकास सम्झौता, नेपालको नेशनल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट कम्पनी इण्डिया लिमिटेडबीच सीमापार विद्युतीय भुक्तानीसम्बन्धी समझदारीपत्र, नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज विदेश सेवा संस्थान बीच समझदारी पत्रमा हस्ताक्षर एवं आदानप्रदान भएको उनले बताए ।

त्यसका अतिरिक्त व्यापार, पारवाहन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमापार सम्पर्कको कनेक्टीभिटी बढाउन, रेल्वे सेवा सञ्चालन कार्र्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अघि बढाउने विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्री दाहालले बताए ।

“भारतीय आन्तरिक जल यातायात सञ्जाल प्रयोग गर्न सकिने र बल्क कार्गोसमेत ढुवानी गर्न सकिने गरी परिमार्जन भएको एवं विगत चार वर्षदेखि हुन नसकेको पारवहन सन्धि सम्पन्न भएको छ । यो एक महत्त्वपूर्ण उपलब्धि हो भन्न सकिन्छ”, उनले भने, “हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई प्रवेश मार्ग र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्ट्र्मेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीका बारेमा छलफल भएको छ ।”

नेपालगञ्ज र भैरहवाबाट नयाँदिल्ली लगायतका भारतका अन्य सहरमा दुईतर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक कुराकानी भएको उहाँले जानकारी दिए । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भारतीय प्रधानमन्त्री मोदीसँग कुर्था बिजलपुरा रेलमार्गको हस्तान्तरण, भारतको जोगबनीदेखि नेपालको विराटनगर कस्टम्स यार्डसम्म कार्गो रेल सेवाको सञ्चालन, भैरहवा–सुनौलीस्थित एकीकृत जाँच चौकीको शिलान्यास, नेपालगञ्ज–रूपैडियास्थित एकीकृत जाँच चौकीको उद्घाटन, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको निर्माण कार्यको शिलान्यास, बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास संयुक्तरूपमा भर्चुअल माध्यमबाट उदघाटन र शिल्यान्यास गरेको जानकारी दिए ।

उनले जलविद्युत्का क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा बलियो सहमति निर्माण भएको बताए । उनले भने, “खासगरी दीर्घकालीन ऊर्जा व्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत् निर्यातको सुरूआत गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ । भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् नेपालबाट आयात गर्ने भारतको लक्ष्य रहेको बताउनुभएको छ । ऊर्जा व्यापारसम्बन्धी सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिकता दिन मात्र बाँकी छ, जुन छिट्टै हुँदैछ ।”

प्रधानमन्त्री दाहालले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित थप एक हजार दुई सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत् निर्यातका लागि भारतीय प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको जानकारी दिए । उनले नेपालमा निर्माणाधीन जलविद्युत्, सडक जस्ता ठूला विकास निर्माण परियोजाका लागि अति आवश्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्तिका लागि समेत छलफल भएको बताए ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको शीघ्र कार्यान्वयनका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)लाई अन्तिम रूप दिने गरी द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको उनले जानकारी दिए । उनले भने, “वित्तीय प्रबन्धसहित दुई सरकारले डिपीआर स्वीकृत गरेपछि त्यसको एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गोे लगाइनेछ ।”

नेपालतर्फका संरचनाको तयारीको अवस्थाका आधारमा टनकपुर ब्यारेजबाट लिङ्क क्यानलमार्फत चरणबद्ध रूपमा नेपाललाई सिँचाइको लागि पानी उपलब्ध गराउने सहमति भएको उहाँले जानकारी दिए । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याका बारेमा पनि छलफल भएको जानकारी दिँदै उनले मनसुन सुरु हुनुअघि नै बाढी र डुबान नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नका लागि विद्यमान द्विपक्षीय संयन्त्रलाई तत्काल सक्रिय बनाउन सम्बन्धित अधिकारीहरूलाई भारतीय प्रधानमन्त्री मोदी र आफूले निर्देशन दिएकोसमेत बताए ।

त्यसैगरी नेपालभित्र थप विद्युत् प्रसारण लाइन निर्माणका लागि एक्जिम बैंक इण्डियाबाट प्राप्त सहुलियतपूर्ण कर्जाको चौथो खण्डको रकम उपयोग गर्ने विषयमा भारतीय प्रधानमन्त्री मोदी सहमत भएको प्रधानमन्त्री दाहालले बताए । उनका अनुसार भारतको अनुदान सहयोगमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्ने र सिलिगुडीदेखि झापाको चारआलीसम्म नयाँ क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ । महाकाली नदीमाथि शिरसा (पर्शुराम धाम–पूर्णागिरि माई)तथा झुलाघाटमा भारत सरकारको अनुदान सहयोगमा पक्की पुल निर्माण गर्ने सहमति भएको हो ।

उनले भने, “भारत सरकारको अनुदान सहयोगमा रामायण सर्किटअन्तर्गतका परियोजना, जिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेस र सुदूरपश्चिमको कैलालीमा नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्यअघि बढाउनेबारेमा पनि छलफल भएको छ ।”

पत्रकारसँगको अन्र्तक्रियामा उहाँले कृषि क्षेत्रमा क्षमता अभिवृद्धि, अर्गानिक खेती, प्राकृतिक कृषि प्रणाली, नानो फर्टिलाइजर जस्ता विषयमा आपसी सहयोग विस्तार, मलको सहज आपूर्ति, नगदे बाली र चौपायाको नश्ल सुधारका लागि सहायतालगायतका विषयमा समेत छलफलबारे जानकारी दिए । उनले नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यता एवं बजारको सुनिश्चितताका बारेमा पनि छलफल गरेको बताए ।

“भारतीय बजारमा नेपालका कृषिजन्य उत्पादन र प्राथमिक वस्तुहरूको निर्यात सहजीकरणका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको छ”, उनले भने । उनले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिएकोसमेत जानकारी दिए, “मैले भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निम्ता दिएको छु । उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ ।”

प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँदिल्ली प्रस्थान गरेका थिए । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो विदेश (भारत) भ्रमण हो । प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल थिए । प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री दाहालसँग नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT