Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’

‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’


जनकपुर । सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएको छैन । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ । तर अहिले भने त्यो अवस्था छैन ।

हिजोको बगरमा आज मौसमअनुसारको खेती हुन थालेको छ । धान, मकै र गहुँखेती गर्ने किसान त्यसैमा सीमित छैनन् । बाह्रै महिना कुनै न कुनै खेती गर्ने प्रचलन बढ्दो छ । त्यसैले खेत वर्षभरि हराभरा देखिन थालेका छन् । “बगरमा खर र अन्य ठाउँमा दुई याममा लगाइने परम्परागत धान, गहुँ र मकैखेती मात्रै हुन्थ्यो । त्यसबाट किसानको गुजारा पनि चल्दैनथ्यो । अहिले त्यो समय बदलिएको छ । किसानहरुले उन्नत जातको बाली लगाउनुका साथै तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्”, महतोले भने ।

उनका अनुसार बागमती सिँचाइ आयोजनाको पहुँच क्षेत्रमा अन्य ठाउँभन्दा राम्रो उत्पादन भइरहेको छ । मकै उत्पादनमा नेपालकै नमुना भनेर चिनिन थालेको छ भने आलु, गोलभेंडालगायत तरकारी उत्पादनबाट उर्बरभूमिको पहिचान बनाउँदैछ । “सिँचाइ सुविधा र कृषकमा आएको चेतनाका कारण अहिले परम्परागत खेती गर्ने प्रवृत्ति बदलिएको छ । यस ठाउँमा अचेल बाह्रै महिना कुनै न कुनै खेती हुन्छ । मौसमअनुसारको बालीका साथै बेमौसमी उत्पादन पनि भइरहेको छ । अहिले दलहन, तेलहन, तरकारी, मकैलगायत बालीको वर्षभरि खेतीपाती हुन्छ”, महतोले भने,“यो वागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो । तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को मार्थ्यो ।”

वागमती नगरपालिका—१० का वीरबहादुर खड्का देशमै अन्नभण्डारको रुपमा परिचित मधेश प्रदेशमा सिँचाइ सुविधा पुगेमा उत्पादन वृद्धि र नमुना कृषि क्षेत्रको विकासमा टेवा पुग्ने उदाहरण पानीको पहुँच भएका ठाउँहरुको उत्पादनबाट प्रष्ट हुने बताउँछन् । खड्का भन्छन्,“सिँचाइ सुविधा पुगेमा यहाँका किसानहरुले रोजगारीका लागि अर्को विकल्प सोच्नुपर्दैन । तर पर्याप्त र सबै ठाउँमा पानी पुग्न नसकेकाले सोचेजस्तो खेतीपाती गर्न सकिरहेका छैनौँ ।”

समस्याका बीच पनि विभिन्न माध्यमबाट सिँचाइ सुविधा पुगेका क्षेत्रमा गोलभेंडा, परबल, बोडी, सिमी, भान्टा, करेलालगायत तरकारी उत्पादनमा निरन्तर प्रगति हुँदै गएको कृषि थोक बजार व्यवस्थापन समिति, लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरको भनाइ छ । त्यहाँको उत्पादन हाल सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिराहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामढीलगायतका बजारमा निर्यात हुने गरेको उनले बताए ।

“बागमती नहर बन्यो हाम्रो सपना पनि बढे । मकैमा निर्भर यहाँका कृषकहरुले धान, मकै, दलहन, तरकारी खेती गर्न थाल्यौँ तर पानी अभावले सोचे जस्तो खेतीपाती गर्न सकिरहेका छैनौँ । सुनकोशी–मरिण पथान्तरणपछि हाम्रो सपना थप फराकिलो हुनेछ । पक्कै यो अवस्था बदलिने छ”, रक्षापुर जल उपभोक्ता समिति, वागमती—१० का अध्यक्षसमेत रहनुभएका खड्काले भने।

सुनकोशी–मरिण पथान्तरणको काम नहुँदासम्म भएकै बागमती सिँचाइबाट बढी लाभलिने गरी व्यवस्थापनको जरुरी रहेको भनाइ छ जल उपभोक्ता महासङ्घ, सर्लाहीका अध्यक्ष महतोको । “एकातिर स्रोतमै पानीको कमी छ भने अर्कोतिर धेरै पुराना, माटोका नहर हुँदा भएकै पानी पनि खेतसम्म पुग्दैन । चुहावटका कारण पहुँच भएकै ठाउँमा पनि पर्याप्त पानी पुगेको छैन”, महतोको गुनासो छ,“त्यसले आयोजनाले नहरको उचित मर्मतसम्भार र व्यवस्थापन सुधार गरी भएकै पानीबाट बढीभन्दा बढी लाभ लिने अवस्था बनाउनुपर्छ । आयोजनाले प्रभावकारी कार्ययोजना बनाएर काम गर्नुप¥यो ।”

कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द राय यादव पनि वागमती सिँचाइ अर्थात् सतह सिँचाइको पहुँच पुगेका क्षेत्रमा बाली सघनता, उत्पादकत्व वृद्धि भए पनि जिल्लामा सिमानातर्फका क्षेत्रमा नहर पहुँच नहुँदा बहुसङ्ख्यक कृषकले लाभ लिन नसकेको बताउनुहुन्छ । “पानी लाग्ने क्षेत्रमा धानलगायत कृषि उपजको उत्पादन राम्रो देखिन्छ तर आकासे वर्षाको भर पर्ने स्थानका कृषकले राम्रोसँग खेती गर्न पाएका छैनन् । बोरिङबाट पानी चलाएर खेती गर्दा लागत बढ्ने हुँदा कृषितर्फको आकर्षण बढिरहेको छैन । यी ठाउँमा सिँचाइको पहुँच विस्तार गर्न जरुरी छ ।”

बागमती सिँचाइ आयोजना प्रमुख भिलानन्द यादव ३० वर्ष पहिले र अहिले खेती गर्ने प्रवृत्ति बदलिएर पानीको माग बढे पनि स्रोतमा नै पानीको अभाव भएकाले माग र आपूर्तिमा सन्तुलन मिलाउन कठिन भइरहेको बताउँछन् । तर भएकै पानीलाई आलोपालो विधिमार्फत खेतमा पु र्‍याउन हरसम्भव प्रयास भइरहेको यादवले बताए । “धानखेती अर्थात वर्षमा दुई याममा मात्रै खेतीपाती हुने बेला आयोजना बनाइएको हो तर अहिले त दलहन, तेलहन, तरकारी, मकै गरी वर्षभरि खेतीपाती हुन्छ”, आयोजना प्रमुख यादवले भने,“उही संरचनाबाट कृषकको बदलिँदो आवश्यकता सम्बोधन गर्न वर्षभरि पानी चलाउनुपर्ने बाध्यता छ । यसले नहर मर्मत तथा व्यवस्थापनमा केही समस्या भइरहेको छ ।”

आयोजनाका प्रमुख डिभिज्नल इन्जिनीयर रञ्जनराज भट्टराईले नहरको पहुँच क्षेत्रमा बनाइएका जल उपभोक्ता समितिसँगको सल्लाहमा पानीको वितरणलगायत कार्यहरु भइरहेको बताए । पहुँच क्षेत्रमा एक सय ३० जल उपभोक्ता समिति गठन गरिएका र ती समितिमा आबद्ध किसानसँग नियमित बैठक बसेर समस्याको पहिचान र निदानको काम सँगसँगै अगाडि बढाउने गरिएको भट्टराईले बताए । उनी भन्छन्,“अहिले दुई वटा मूल नहर, त्यसका तीन÷तीन वटा शाखा नहर र २१ वटा प्रशाखा नहरबाट पानी वितरणको काम भइरहेको छ । सर्लाही र रौतहटको ४५ हजार छ सय हेक्टरमा जमिनमा सिँचाइ पहुँच छ । त्यसको अभिकतम उपयोगको नीतिअनुसार हामीले काम गर्दै आएका छौँ । एक लाख २२ हजार हेक्टरमा सिँचाइ पहुँच पु र्‍याउने लक्ष्यसहित बनिरहेको सुनकोशी–मरिण डाइभर्सनपछि किसानका सबै गुनासाहरु सम्बोधन हुनेछन् ।”

‘सबैको सपना सुनकोशी—मरिण पथान्तरण’

बागमती सिँचाइ आयोजना आर्थिक वर्ष २०३५र३६ मा निर्माण सुरु भई २०५० सालमा सम्पन्न भएको थियो । पहिलोपटक सन् १९६७–१९७२ मा तयार गुरुयोजना र पछि सन् १९७९र८० मा अध्ययन पुनर्संरचना गरिएको यस आयोजनाबाट समग्रमा एक लाख २२ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । दुई चरणमा निर्माण गरिने योजनाअनुसार पहिलो चरणको प्रथम खण्डमा बागमती नदीमा ब्यारेज निर्माण गरी सर्लाही र रौतहट जिल्लाको ४५ हजार छ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको विकास र दोस्रो खण्डमा बारा जिल्लाको करिब २२ हजार चार सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको विकास समावेश गरिएको थियो ।

पहिलो चरणमा ६८ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पहुँच पु र्‍याउने परिकल्पना भए पनि पहिलो खण्डको काम सम्पन्न भई ४५ हजार छ सय हेक्टरमा नहर पहुँच पुगेको छ । तर बारातर्फको २२ हजार चार सय हेक्टरमा पानी पु र्‍याउने काम हुन सकेको छैन ।

त्यसैगरी आयोजनाको दोस्रो चरणअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनाको काम भइरहेको छ । प्रमुख भट्टराईका अनुसार दोस्रो चरणको लक्ष्य हासिल गर्न करिब ६७ घनमिटर प्रतिसेकेन्ड पानी सुनकोशी नदीबाट बागमती नदीमा मिसाउने नदी पथान्तरणको कार्य सम्पन्न भएमा रौतहट तथा सर्लाहीमा सीमित आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ विस्तार गर्नेछ । त्यसका लागि दोस्रो चरणको विस्तार तथा मौजुदा संरचनाको पुनःनिर्माण एवं जीर्णोद्वारबारे अध्ययन तथा त्यसको कार्यान्वयन गर्न दुईवटा परामर्शदातामार्फत अध्ययनको काम भइरहेको आयोजना प्रमुख यादवले जानकारी दिए । उनले भने,“नदी पथान्तरणपछि धनुषाको नगराइन, महोत्तरीको रातुखोला र बाराको दुधौरासम्म सिँचाइ पहुँचका लागि पूर्वाधार निर्माण गर्न विस्कृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारी र अध्ययनकै क्रममा छ ।”

विसं २०५० अर्थात् ३० वर्षअघि निर्माण गरिएको सो आयोजनाले वर्षैपिच्छे नहर संरचना टालटुल र मर्मतसम्भार गरी सिँचाइ सुविधा पु र्‍याइरहेको छ । वागमती नदीको स्रोतमै पानी बहावमा कमी आएपछि आयोजनाको नहरमा पानी घट्दै गएको र चुहावटका कारण नहर मुहानको पानी खेतमा पुग्ने अवस्था पनि नरहेको किसानले गुनासो गर्दै आएका छन् । हाल ४९ किलोमिटर लम्बाइ रहेको आयोजनाको मूल नहरको पूर्वतर्फ रौतहट क्षेत्रमा २२ हजार छ सय हेक्टर अर्थात् २२।२५ किमी र पश्चिमतर्फ सर्लाहीतिर २३ हजार हेक्टर अर्थात् २८ किमी क्षेत्रमा पहुँच छ । यो गुरुयोजनाअनुसार कुल क्षमताको ३७ प्रतिशत मात्रै हो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर

काठमाडाैँ विश्वकै प्रदूषित शहर बन्याे

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता

प्रधानमन्त्री र एडीबीका उपाध्यक्षबीच लगानी सम्मेलनका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास

Techie IT