Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनपर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल

पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल


झापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ ।

झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन् ।

शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका विरुवा हुर्काइएको थियो । पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको हो ।

शिरीष फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस सो स्थानमा घुमफिरका लागि आउने गरेका छन् । पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएका छन् । “शिरीष फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु”, बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्छन्, “पहिला बुधबारे बजारमा दोकान चलाउँथे । अहिले यही भाइरल शिरीषको फेदमा बसेर व्यापार चलाइरहेको छु ।” अरुभन्दा शनिबार भीड उर्लिने गरेको उनले बताए ।

एक साताअघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्किएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल शिरीषको फूलले लोभ्यायो । परिवारका १२ जना सदस्यसहित आउनुभएकी उनले रिजर्व गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडियो खिचाउनमा बिताइन् ।

“चिया बगानको हरियाली हेर्दै इलामतिर जाँदै थियौँ, रुखभरि रातो रङ पोतेजस्तो गरी फूलेको शिरीषका रुखहरू बाटामा लहरै उभिएका देखेपछि मनै थामिएन”, उनले भनिन्, “वरिपरि चिया बगानको हरियाली, माझमा चिल्लो राजमार्ग र लहरै फूलको शिरीषहरू । साह्रै राम्रो ठाउँ रहेछ ।”

उनले राताम्य फूललाई पृष्ठभूमिमा राखेर १२ वटा टिकटक र मनलाग्दी सेल्फी खिचेको बताइन् । अस्ट्रेलियातिर सार्वजनिक पार्कहरूमा शिरीषको रङ्गीबिरङ्गी फूलले पर्यटकलाई लठ्याउने गरेको देखेको बताउँदै उनले यति धेरै मानिसको भीड लागे तापनि यहाँ पार्किङ, शौचालय र गफिने चौतारोहरूको अभाव रहेको गुनासो सुनाइन् ।

भोजपुरको अरुण–४ घर बताउने ३० वर्षीय अर्पण राईले पाँचथरको फालेलुङ जाँदै गर्दा भाइरल शिरीषको फूलमा केही भिडियो बनाउन पाउँदा आनन्द लागेको बताए । फूलको फेदमा गिटार रेटेर गीत गाउँदै गरेको सात वटा भिडियो खिचेको उनले बताए ।

“फूल त एउटा सिजनमा मात्र फुल्छ, तर यहाँ चिया बगानको सदाबहार हरियाली रहेकाले दीगो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ”, उनले भने । गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छायाँ पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।

के पाका, के युवा तथा बालबालिका, सबै उमेरका पाहुना त्यहाँ पुग्ने गरेका छन् । इटहरीका ६३ वर्षीय बलराम कटुवाल छोरीछोरीहरूको आग्रहमा भाइरल शिरीषको बोटमुनि टिकटकका लागि छमछमी नाचिरहनु भएको भेटियो । “छोरीहरूले कर गरेपछि नजानी नजानी पनि नाचेको हुँ, तर यो ठाउँ चाहिँ साह्रै मज्जाको रहेछ”, इलाममा घुम्न जाने क्रममा बाटैमा फूलको रौनक देखेर टिकटक बनाउनतिर लागेको उनले बताए ।

भाइरल शिरीषको चर्चा सामाजिक सञ्जालमार्फत फैलिएपछि टिकटक बनाउनकै लागि भनेर साथीहरूसँग घुम्न आएको भद्रपुर–३ की रेबिका थापाले बताइन् । चन्द्रगढीको वीरेन्द्र नमूना क्याम्पसको शिक्षा सङ्कायको स्नातक प्रथम वर्षमा अध्ययनरत उहाँले धेरैजसो साथीहरू शिरीषको फूलसँग फोटो र भिडियो खिचाउन यसअघि नै आइसकेको बताइन् ।

झापामा पर्यटकीय आकर्षणका स्थलहरू प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उल्लासित बनाउने भएकाले फूलेका शिरीषका रुखहरू भाइरल भएको फोटो पत्रकार देवेन्द्र खरेल बताउँछन् । “यो ठाउँ राजमार्गबाट नजिक र हरियाली चियाका बोटहरूले घेरिएको कारण धेरै मानिसहरूको रोजाइ बनेको हो”, उनी भन्छन्, “फूल फूलेरै सुन्दर बनेका यस्तै दर्जनौँ स्थलहरू हाम्रै वरपर छन् ।” सामाजिक सञ्जालमा प्रकाशित गरिएका तस्वीर र दृश्यका कारण टाढादेखि आन्तरिक पर्यटकहरू शिरीषको फूलको सौन्दर्यप्रति मोहित बनेको उनको ठम्याइ छ ।

ठाउँ सुन्दर र फूल झन् सुन्दर भएरै त्यहाँ शिरीषको फूल हेर्न पर्यटकहरूको ओहोरदोहोर बढिरहेको छ । छोटो अवधिमै नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित बनिरहेको त्यस ठाउँमा राजमार्गतिर उभिएर आफ्नै धुनमा फोटो र भिडियो खिच्ने प्रवृत्ति बढ्दा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । अर्कातिर, पर्यटकको सुविधा र सहजताका लागि शौचालय, खाजाघर र सुरक्षाको पर्याप्त प्रबन्ध हुन सकेको छैन । – चन्द्रकला भण्डारी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौँका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका

प्रधानमन्त्रीले गरे पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छन् । गण्डकी प्रदेश

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

गुल्मी । धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका

हिमाल पग्लिएकोबारे विश्वको ध्यानाकर्षण गर्न २५ जना महिला कालापत्थर प्रस्थान

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपाली

भरतपुरको भ्रमण वर्ष उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने

चितवन । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व

विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्छौंः मुख्यमन्त्री कार्की

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताएका छन् । सगरमाथा क्षेत्र र प्रदेश राजधानीको

Techie IT