Techie IT
२०८१ चैत्र ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालआदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती मनाइँदै


काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरुको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ ।

घरघरमा उनले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् ।

भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।

भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसईईको सबै तयारी पूरा

काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

Techie IT