चितवन । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झरेकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उनका उर्जाशील धेरै समय पनि चितवनै बित्यो ।
बाहिर चर्चा निकै कम भए पनि सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रचण्डलाई सफल बनाउन सीता दाहालको भूमिका महत्वपूर्ण थियो । चितवन सीताका लागि माइति र घर दुवै थयो । यस हिसाबले उनी चितवनको छोरी मात्रै होइन बुहारी र आमा पनि थिइन् । दाहालकी माईली छोरी रेनु दाहाल यतिबेला भरतपुर महानगरपालि प्रमुख छिन् ।
विसं २०११ साल असार २१ गते कास्कीको हेम्जामा (हालको पोखरा महानगरपालिका वडा नं) २५० मा जन्मिएकी सीता छ वर्षको उमेरमा बुबाआमासँगै चितवन झरिन् । पटिहानीको सुन्दरबस्तीमा उनीहरु बसोबास गरिन् । नजिकै शिवनगरको भीमसेन नगरका पुष्पकमल दाहालसँग उनको २०२६ सालमा विवाह भयो । तत्कालिन समयमा दाहाल प्रवेशिका परीक्षा मात्रै दिएकी थिइन् ।
सीताका भाई हेमराज पौडेलका अनुसार बिसं २०३० सालमा प्रचण्ड गोरखा पढाउन जाँदै गर्दा सीता भने सासुससुरासँगै भीमसेननगरमै रहिन् । पौडेलका भनाइमा २०३० सालदेखि ३८ सालको बीचमा तीन छोरी र एक छोरालाई उनले जन्मदिइन् ।
पौडेलले भने “यही समयमा भिनाजु प्रचण्ड अर्धभूमिगत भएपछि निकै संघर्षका साथ दिदीले भान्जाभान्जी हुर्काउनुभयो ।” घरका सासु ससुरासँगै माईतकी आमाको सहयोगले छोरीछोरी हुर्काउन उनले सकिन् । संघर्षकै क्रममा २०४२ सालतिर प्रचण्ड परिवार काठमाडौँमा बस्न थाल्यो । माईली छोरी रेनु भने दुई वर्षको उमेरदेखि एसएलसीसम्मको पढाइ नसकिँदासम्म मामाघरमै बसिन् । ललितपुरको पाटन, गोङ्गबुलगायतका क्षेत्रमा भाडाका घरमा सङ्घर्षका साथ दिदीले भान्जाभान्जी हुर्काएको पौडेल स्मरण गर्छन् ।
“धनसम्पत्ति आर्जनगर्नेतर्फ कहिल्यै ध्यान नदिने सीता सर्वहारा वर्गको हितका लागि जहिल्यै पनि लाग्नुपर्छ भन्नुहुन्थ्यो”, पौडेलले स्मरण गर्दै भनिन्, “दिदीले कहिल्यै आफ्नो दुःख सम्झनुभएन । सधैं सर्वहारा वर्ग र महिलाका हकहितका पक्षमा कुरा गर्नुहुन्थ्यो ।”
जीवनको उत्तराद्र्धमा सीतालाई बुबाआमा बसेको र आफू हुर्किएको सुन्दर बस्तीमा घर बनाएर बस्न मन थियो । भान्जा भान्जीका लागि जग्गा पनि दिएको भन्दै पौडेलले पछि आफ्नै पैत्तृक सम्पत्तिमा घर बनाए पनि दिदी बस्न नपाएको बताए ।
भरतपुर महानगरपालिका वडा नं। १४ भीमसेन नगरमा दाहाल परिवारले घर बनाएको छ । अघिल्लो निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएपछि आफ्नै गृहजिल्लालाई राजनीतिक थलो बनाउन चाहेर घर बनाइएको थियो । श्रीमती सीताको इच्छा समेत पूरा गर्दै नयाँ घर बनेपनि सीताले उक्त घरमा जम्मा तीन रात मात्रै बिताउन पाउनुभयो । पौडेलले भने “घर बनाउने दिदीको ईच्छा पूरा भएपनि बस्ने ईच्छा पूरा हुन पाएन ।”
देश र विदेशले प्रचण्डलाई चिन्दै गर्दा सीतालाई धेरै कमले चिने । तर, चिन्नेहरु उनीसँग निकै निकट भएको देखिन्छ । विस २०५३ मा माइली छोरी रेनुसँग विवाह बन्धनमा बाँधिनु भएका अर्जुन पाठक सीता आमाले तल्लो वर्गका नागरिकको पक्षमा लाग्न सबैलाई प्रेरणा दिने गरेको स्मरण गर्छन् ।
आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै नलाग्ने सीताले जनताको अधिकार प्रत्याभूतिका लागि सधैं लाग्न उत्प्रेरणा दिने गरेको उहाँको भनाइ छ । संविधानसभामार्फत् संविधान बनेपछि पनि संविधान प्रदत्त अधिकार आम नागरिकलाई दिलाउन लाग्न सबैसँग उहाँको आग्रह हुने गरेको पाठकले बताए ।
सादा र सादगी जीवन बिताउनुहुने सीता हक्की स्वभावको थियो । प्रचण्डका बहिनी ज्वाई भक्तिराम अधिकारीले भन्नुभयो, “परिवारका सबैसँग उत्तिकै राम्रो सम्बन्ध दिदीले गर्थिन् ।” परिवारको एउटा मियोका रुपमा दिदी सीता रहेको अधिकारीले स्मरण गर्नुभयो । प्रचण्डलाई सफल बनाउनुको पछाडि सीताको महत्वपूर्ण साथ रहेको उनको बुझाइ छ ।
पछिल्लो एक दशक यता प्रचण्ड परिवारसँग निकट भएर काम गर्दै आएका पत्रकार सुरेशचन्द्र अधिकारीको बुझाइमा परिवारदेखि आम नागरिकसम्ममा सीताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पु¥याएको योगदान आफैमा महत्वपूर्ण छ । उनले भने, “आमा सीताले कहिल्यै कसैको कुभलो चिताउनु भएन ।”
प्रचण्डले महत्वपूर्ण निर्णय गर्नुपर्दा सीताकै सुझाव लिने गरेको अधिकारीको भनाइ छ । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असङ्ख्य पीडा सहन सक्ने महिला भएको अधिकारीको भनाइ छ ।
जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको उनका निकटस्थहरु बताउँछन् । विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।
जनयुद्धसँगै उनका धेरै समय नेपालका ग्रामीण क्षेत्रसँगै भारतीय भूभागमा पनि बितेका छन् । ती अतितका सङ्घर्षका समयलाई सामना गर्दै आफ्नो जीवनको उत्तराद्र्धसम्म उनी अविचलित रहिन् ।
पछिल्लो समय बिरामी भएपछि भने उनी थलिन् । दुई साताअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारिवारिक सन्दर्भका कुरा गर्दैगर्दा भनेकी थिइन् “काठमाडौँबाट साँझ बिहान बुबाको फोन आउँदै गर्दा झसङ्ग हुने गर्दछ । कतै आमालाई केही भयो कि भनेर झस्काईरहन्छ ।” नभन्दै बुधबार विहान त्यही नमीठो खबर प्राप्त भयो ।