काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ ।
महासंघले शिक्षक र विद्यालय कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनेको छ । संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै पक्षसँग महासंघको आग्रह गरेको हो ।
आन्दोलनको अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड बृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायत कुनै पनि क्रियाकलापमा संलग्न नहुन महासंघले आब्हन गरेको छ ।
कक्षा १२ को परीक्षामा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ । विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न राज्यलाई बाध्य पार्न आन्दोलन जारी रहेको महासंघको भनाइ छ ।
महासंघले आजपनि काठमाडौंको तीनकुनेदेखि वानेश्वरसम्म तीनघन्टा धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ । शिक्षकहरुले चैत्र २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका छन् ।