काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा ६ जना आइसफल डाक्टरसहित ९ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण शुुरु गरेको आरोहणको बाटो सम्पन्न गरेको हो ।
चुनौतीपूर्ण मौसम भए पनि १८ घण्टा खटेर टोलीले दुई हजार २०० मिटर डोरी राखेपछि २०२५ को सगरमाथा सिजन अब आधिकारिक रूपमा खुलेको समितिले जनाएको छ । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हरेक वर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ ।
आइसफल डाक्टरहरूले आल्मुनियमका भर्याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्छन् । सन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३ सय ८१ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार बिहीबारसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् । सगरमाथा आरोहणका लागि मात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् ।
नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् । जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन्् । यस्तै अन्नपूर्ण–१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् ।
हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५ सय ३७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।