काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ ।
आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताएका छन् । वर्षासँगै काठमाडौं उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।