Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीखुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक


पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् ।

पाल्पामा २२ जना यौनिक अल्पसङ्ख्यक नागरिक खुलेर आएका छन् । हाल यहाँ हुने कार्यक्रममा पनि आफ्नो पहिचान सहित उनीहरू खुलेर आउन थालेका छन् । हालै साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको सहयोगमा भएको यौनिक तथा अल्पसङ्ख्याक समुदायको तथ्याङ्क सङ्कलनका लागि अन्तरक्रिया र सचेतना कार्यक्रममा जिल्लाका २२ जना व्यक्ति खुलेरै उपस्थित भए । आफ्ना विषय र अधिकारबारे खुलेरै बोले ।

आफ्ना समुदायका हकहितका लागि आन्दोलन गर्नुपर्दा थोरै मात्रै उपस्थित हुने गरे पनि सचेतनाका कारण पछिल्लो उपस्थिति बढ्दै गइरहेको साहसी कदम नेपालकी संस्थापक अध्यक्ष तथा यौनिक अल्पसङ्ख्यक महिला हसिना क्षेत्री बताउछिन् । पछिल्लो समय आफ्ना पहिचानबारे खुल्न सक्ने अवस्था बनेको उनले सुनाइन्। “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आन्दोलन गर्नुपर्दा पहिला दुई÷चारजना मात्रै देखिन्थे, हाल त्यो सङ्ख्या बढेको छ । गर्वका साथ बाहिर निस्कने अवस्था छ । आफू के हो भनेर खुल्ने माहोल बनेको छ, यो सबै सचेतनाका कारण हो”, क्षेत्रीले भनिन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू समाजमा पहिचानसहित खुल्न थाले पनि राज्यको नीति, कार्यक्रम तथा योजनामा नपर्दा अधिकार प्राप्तिको सङ्घर्ष भने जारी छ । संविधानमा व्यवस्था भएअनुसार पहिचानसहितको अधिकार प्राप्त गर्न नसकेको यो समुदायका नागरिकको गुनासो छ । संस्थाकी संस्थापक अध्यक्ष क्षेत्रीले सरकारले पहिचानसहितको अधिकार संविधानमा उल्लेख गरे पनि प्रभावकारी कार्यान्वयन नगर्दा आफूहरूले समस्या भोग्नु परिरहेको बताइन् । आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिता भएको उनको भनाइ छ ।

संस्थाकी कार्यक्रम निर्देशक रेसम न्यौपाने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथिको बुझाइमा केही परिवर्तन आए पनि अझै विभेद र लाञ्छनाको अन्त्य नभएको बताइन् । यो समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको उनको गुनासो छ । “नेपालको नागरिक भए पनि अन्य नागरिक जस्तै समान हक पाएका छैनौँ । फरक पहिचान भएकै कारण घरपरिवार र समुदायबाट अपहेलित हुनुपरेको छ । सङ्घर्षपश्चात् विवाह गर्ने अधिकार स्थापित भए पनि सन्तानको हकमा कानूनी समस्या कायमै छ । नागरिकता पाउन लिङ्ग पुष्ट्याइँ गर्नुपर्ने जस्ता विभेदकारी अवस्थाहरू छन्”, न्यौपानेले भनिन् ।

नागरिकता लिन जाँदा मेडिकल जाँच गरेर पहिचान सहितको ‘रिपोर्ट’ लिएर आउनु भनेर फर्काइने गरेको उनले सुनाइन् । “स्वास्थ्य परीक्षण गर्नुपर्ने विषयमा हाम्रो आपत्ति होइन तर परीक्षण गराउन जाँदा पाँच÷छ जना डाक्टर वरिपरि बसेर हामीलाई नाङ्गै हुन लगाइन्छ र पालैपालो हाम्रा यौनाङ्ग खेलाइन्छ । त्यसपछि मात्र कागज लेखेर पठाइन्छ । हालसम्म यस्तो यातना सहनु परेको छ”, न्यौपानेको कथन थियो ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष÷महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदाय पर्दछन् । जसलाई छोटकरीमा ‘एलजिबिटिआइक्युए’ भन्ने गरिएको छ ।

तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका विषयमा आफूहरू संवेदनशील रहेको बताए । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोगेका समस्याहरू वास्तवमै पीडादायी भएको मैले बुझेको छु । नीति तथा कार्यक्रम बनाउँदा सबै समुदायका सवालहरूलाई समेट्ने गरी कानुन बनाउने र बनेका कानूनको कार्यान्वयन गर्न नगर सरकारले ध्यान दिनेछ”, उनले भने ।

उपप्रमुख प्रतीक्षा सिञ्जालीले सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजान सके समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुने बताए । उनले संविधानमा व्यवस्था भएबमोजिम यो समुदायको अभियानमा नगर सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमा समाज र देशका लागि योगदान दिन सक्ने क्षमता रहेको बताए ।

साहसी कदम नेपालकी सदस्य इन्द्रादेवी सारु मगरले आफू यौनिक अल्पसङ्ख्यक नभए पनि यस्ता समुदायका व्यक्तिलाई समस्या पर्दा सहयोग गर्ने हुँदा आफूलाई पनि साथीहरूबाट नराम्रो दृष्टिकोणले हेर्ने गरेको गुनासो गरिन् । उनले भनिन्, “साथी, सङ्घसंस्थाहरू छोडे तर यी समुदायका व्यक्तिहरूलाई सहयोग गर्न छोडेकी छैन । हाल संस्थालाई मेरै घरमा निःशुल्क कार्यालय राख्न दिएकी छु ।”

यौनिक अल्पसङ्ख्यक महिला सानु खनालले पाल्पामा रहेका थुप्रै यौनिक अल्पसङ्ख्यकहरूलाई बाहिर ल्याउने प्रयास गरिएको बताइन् । संस्थाका व्यवस्थापक सुमन थापाले सबै सङ्गठित भएर यौनिक अल्पसङ्ख्यकका लागि सङ्घर्ष आवश्यक रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT