Techie IT
२०८१ पुस १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा मार्फा गाउँ

मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा मार्फा गाउँ


म्याग्दी । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्ती बीचको पदमार्गमा पर्यटकहरु बिहान देखि साँझ सम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए।

“दुुई तीन वर्ष अघि सम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कन पर्यटकको पनि चहलपहल बढेको हो”, उनले भने, “बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।”

चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबै भन्दा धेरै पर्यटकहरु झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्ति गल्ली बाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका छन् ।

चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो । भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिएका हुन् “साइनबोर्ड राखेपछि यहाँ आउने पर्यटकले फोटो, भिडियो खिच्न, टिकटक बनाउन थाले सँगै प्रचारप्रसार भएको हो”, भक्तीप्रसादले भने, “यस्तो धेरै प्रचार होला र पर्यटक आउलान् भनेर सोचेको थिइन् । अहिले खुसी लागेको छ ।”

पर्यटकहरुले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । स्थानीय ब्यापारीहरुले बख्खु भाडामा लगाउँछन् । एक पटक बख्खु लगाएको दुुई सय देखि तीन सय भाडा तिर्नुपर्छ । यसैगरी याकको डमी पनि राखिएको छ । याकको डमीमा चढेर तस्विर खिचाएको एक सय ५० र सँगै तस्बिर खिचाउँदा ५० शुल्क तिर्नुपर्छ ।

मुस्ताङ भ्रमणको सम्झनाका लागि हिमाली पोसाकमा सजिएर मौलिक घरहरु भएको बस्ती भित्र तस्बिर र भिडियो खिचाएको विराटनगर बाट आएकी रिमा लुइँटेलले बताइन् । “सामाजिक सञ्जालमा जेरी गल्लीको भिडियो देखेपछि कस्तो रहेछ भनेर आएको हो”, उनले भनिन्, “हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ भन्ने गीत सुन्दा गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।”

मार्फाका गल्लीहरुको नामकारण

मुस्ताङ भ्रमणमा आउने सबै जसो नेपाली मार्फा घुम्न आउने गरेको स्थानीयवासी रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । गत कात्तिक महिनामा एक लाख १३ हजार पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए ।

पर्यटक आगमन बढेपछि मार्फा गाउँ छिर्ने देखि बाहिरिने ठाउँ सम्म रहेका ११ वटा गल्लीलाई स्थानीय नाम र नम्बर सहितको साइन बोर्ड राख्न लागेको उनले बताए । अध्यक्ष लालचनका अनुसार गल्लीलाई अमरसिङ, लुक्ने, वुद्ध, झाँक्री, धौलागिरी बेसक्याम, हाङ, जेरी, ढाक्रे, कमेडियन, स्ट्रेस फ्रि नामकरण गरिएको छ ।

“विद्युतको तार भूमिगत गरिएको मार्फाको बस्ती भित्र रातमा बत्ती बालेर उज्यालो पारिएको छ”, उनले भने, “पर्यटकलाई सहजताका लागि गल्लीको नामा सँगै सङ्ख्याको साइनबोर्ड राख्न लागेका हौँ ।”

संस्कृति र प्रकृतिमा धनी

मुख्य पदमार्गमा यस अघि नै ढुङ्गाको छपनी विछ्याइएको छ । स्थानीयले घर अगाडिको पैदलमार्ग सरसफाइ गर्छन् । शाखा पैदलमार्गमा पनि छपनी ढुङ्गा विछ्याउने काम भइरहेको छ । रसिला र स्वादिलो स्याउ उत्पादन हुने मार्फा संस्कृति र प्रकृतिमा धनी छ ।

मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउछन् । “मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउँदै गएको छ”, उनले भने, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउन र उनिहरुलाई भुलाउन मार्फामा धेरै आकर्षणहरु छन् ।”

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरमा माटोकै छाना र छाना माथि दाउरा चिनेर राखिएको छ । मार्फालीले शताब्दीऔँ अघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुना तर्फ सुक्खा पहाड छ ।

वसन्त ऋतुमा स्याउ फुल्दा र शरदयाममा लटरम्म दाना लागेका स्याउ बगैँचा डुल्दा प्रकृतिको काँखमा रमाएको महसुस हुने काठमाडौं बाट मार्फा आएका रामशरण अधिकारीले बताए ।

लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० घरपरिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ । यहाँका परम्परागत घरमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिरेर राख्ने चलन छ ।

मार्फाको शिरमा स्याउ उद्यान निर्माणाधीन छ । जहाँ बाट मार्फा गाउँ र स्याउ बगैँचाको दृष्य अवलोकन गर्न सकिन्छ । दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन भएको मार्फाका घरमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् ।

मार्फाको पश्चिम तर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भीर गुम्बा अर्को आकर्षण पनि छ । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोग ब्याधी नआवास भनेर पुजाआजा गर्ने चलन छ ।

जापानी भिक्षु तथा अन्वेषक एकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामकरण गरिएको छ । एकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूत मानिन्छन् ।

हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शितोष्ण बागबानी विकास फार्म छ । कृषि सम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न फार्ममा पर्यटक भुल्ने गर्छन् ।

देशका विभिन्न ठाउँ बाट कृषक समूह र कृषि प्राविधिक अवलोकन भ्रमणमा आउँछन् । शितोष्ण बागबानी विकास केन्द्रको नजिकै मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा वौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति रहेको स्थानीय ज्ञानु पन्नाचनले बताए । स्याउको राजधानीले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचा भित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा रायो जातको साग मार्फामा विकास भएको हो ।

मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योग छन् । पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दा बढी होटेल सञ्चालनमा छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घर बाट स्याउ, सकुटी, दाल, ब्रान्डी किनेर लैजाने गर्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रदेश प्रमुख भट्टद्वारा अध्यादेश प्रमाणीकरण

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन् । मुख्यमन्त्री

सम्पदाहरुको बजारीकरण गरेर देशमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ: उपप्रधानमन्त्री…

भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने

विपद् उद्धारमा खटिने स्वयंसेवकको सी विकासका लागि पाठ्यक्रम बनाइँदै

काठमाडौं । सरकारले विपद् व्यवस्थापन (उद्धारलगायत)मा परिचालन हुने स्वयंसेवकलाई सीपयुक्त बनाउन पाठ्यक्रम निर्माण गर्ने भएको छ । अहिलेसम्म सेना, प्रहरी

भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत

सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता

काठमाडाैँ । चितवनको सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । भोलिदेखि हात्तीको

आज २ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने

Techie IT