पाँचथर । पाँचथरमा बिहीबार भएको विस्फोटको घटनामा घाइते भएका अर्का बालकको पनि मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार दिउँसो भएको विस्फोटमा परेर गम्भीर घाइते भएका स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।
माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए भने बिस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पताल पु¥याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पु¥याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइते बालक पवनको पाँचथर अस्पतालमै उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको उपचाररत अस्पतालले जनाएको छ ।
बालबालिका घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि भण्डारीले बताउनुभयो ।
ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।