काठमाडाैँ । भारतका ९ जना र नेपालका १५ जना पत्रकारसहितको टोलीले रारातालको अवलोकन भ्रमण गरेर फर्किएको छ । नेपाल फोटो पत्रकार महासंघको आयोजनामा कर्नाली प्रदेश सरकारको आर्थिक सहयोग रहेको ‘गर्मीसे बेहालः चलो राराताल’ कार्यक्रममा गत असार २ गतेदेखि आज ७ गतेसम्म भारत र नेपालका पत्रकारलाई रारातालको भ्रमण गराइएको थियो । कर्नाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पाँच दिनसम्म सडक यातायातको प्रयोग गरी पर्यटकलाई रारा घुमाउनुको उद्देश्य रारातालको प्रचारप्रसार गर्नुका साथै अनुभवी पत्रकारबाट सुझाव लिनु रहेको थियो ।
‘गर्मीसे बेहालः चलो राराताल’ कार्यक्रममा कर्नाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्नाली प्रदेशको पर्यटनका विकासमा थप काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनको भनाइ थियो, ‘तपाईंहरूले दिएका सुझाव उपयुक्त छन् । कर्नाली प्रदेश प्रकृतिले नै निर्माण गरेको अनुपम पर्यटकीय गन्तव्य हो । भौगोलिक विकटता बाहेक हामीसँग सबै छन् । आगामी दिनमा पूर्वाधार निर्माण गरी सहज बनाउन लागि परिरहेका छौँ । धार्मिक, पौराणिक र सांस्कृतिक रूपले पनि कर्नाली समृद्ध छ । मानसरोबर, छायानाथ, पञ्चकोशी जस्ता सांस्कृतिक सम्पदाको करिडोर निर्माण गरी कैलास जाने भारतीय धार्मिक पर्यटकलाई कर्नाली घुमाउन प्रतिबद्ध छौँ ।’ उनले संघीय सरकारसमक्ष पनि कर्नालीको विकास र समृद्धिमा पर्यटनको भूमिकाबारे पटक पटक माग राखेको बताएका थिए ।
कर्नाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री दुर्गाबहादुर राउतले सुर्खेत पुगेपछि खादा लगाई सम्मान गरेका थिए । उनले भनेका थिए, ‘नेपाल र भारत भौगोलिकरूपमा पछि छुट्टिएका हुन् । सांस्कृतिक र धार्मिक हिसाबले हामी सबै एकै हौँ । हाम्रो, संस्कृति, ईतिहास र मीथकमा रहेका सबै कुरा उस्तै छन् । आजको हाम्रो यश अभियानले भारत र नेपालका जनताको मनसँग मन जोड्नेमा हामी विश्वस्त छौँ ।’ उनले सुर्खेतबाट हिँडेका ३८ जना पत्रकार तथा मन्त्रालयका पदाधिकारीलाई मन्त्रालयमा रिबन काटेर बिदाई गरेका थिए । फर्केर आएपछि मन्त्रालयले विदाइ पनि गरेको थियो । मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा मन्त्री रावलले आगामी वर्षको बजेटमा राखेरै काम गर्ने बताए । उनले भनेका थिए, ’कर्नाली प्रदेशमा थुप्रै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक र सामरिक महत्वका स्थानसमेत घुमाउनेछौँ र कर्नाली कति सुन्दर छ भन्नेबारे सारा भारतीयलाई देखाउन चाहन्छौँ ।’
पर्यटन शाखाका प्रमुख रामबहादुर बुढाले समग्र कर्नालीको पर्यटन प्रबर्धनमा यस्ता कार्यक्रममा निरन्तरता दिइने बताएका थिए । उनले भनेका थिए, ‘पत्रकारिताको माध्यमबाट दिन सक्ने योगदान तपाईंहरू दिनुहोस् हामी तपाको अभियानमा हामी सधैँ साथमा छौँ । आज थालनी मात्र भएको यस कार्यक्रमलाई हामी अभियानकै रूपमा अघि बढाउनेछौँ । मुम्बई, दिल्लीसम्मका पत्रकारलाई समेत सामेल गराउने योजनामा छौँ ।’ विदाई कार्यक्रममा सबै पत्रकारका धारणा सुनिसकेपछि आगामी दिनमा प्रदेश सरकारले बाटोघाटो र पर्यटन नीतीमा सुधार गरि समग्र कर्नालीको पर्यटन मार्फत् समृद्ध कर्नाली निर्माण गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
मन्त्रालयका कार्यबाहक सचिव शेरबहादुर श्रेष्ठले कर्नाली प्रदेशस्थित रारा तालको भ्रमणमा आएकोमा खुसी लागेको बताएका थिए । उनले भनेका थिए, ‘केन्द्र सरकारको प्राथमिकताबाट अझै टाढै रहेका भर्जिन ठाउँहरू घुमाउने छौँ । सडक र पर्यटन नीतिमा आवश्यक सुधार गर्दै अगाडि बढ्नेछौँ ।’
खाडाचक्र नगरपालिका कालिकोटका नगरप्रमुख कमलजङ्ग शाही तथा प्रमुख जिल्ला अधिकारीले स्वागत गरेका थिए । खाडाचक्र नगरपालिका कालिकोटका नगरप्रमुख शाहीले भनेका थिए, ‘राज्यले कर्नालीलाई सधैँ हेयको नजरले हेर्छ । सबैभन्दा विकट कर्नालीका स्थानीय सरकारलाई नै बजेट कम दिएपछि हामीले कसरी पर्टन प्रबर्धनमा बजेट छुट्याउन सक्छौँ ?’ उनले सरकारको पर्यटन प्रबर्धनको प्राथमिकतामा कर्नाली नपरेकोमा गुनासो गरेका थिए ।
मुगुका पूर्व संविधानसभा सदश्य गोपाल बमले सल्लेरी आइपुगेर आफैँ रारातालसम्म पुर्याए । पत्रकार महासंघ मुगुको टोलीले आयोजना गरेको स्वागत कार्यक्रममा पूर्व संविधानसभा सदश्य बमले राराको समग्र पर्यटन गतिविधिबारे जानकारी दिँदै आफैँले डुङ्गा चलाएर एक घण्टासम्म रारा तालको सयर गराएका थिए । उनले भनेका थिए, ‘सरकारी नीति तथा निकुञ्जको कडा नियमका कारण ड्रोन र ठूला क्यामरा भित्र्याउन सकिँदैन । यसले गर्दा रारातालका बारेमा जति गहन अध्ययन गर्नुपर्ने र व्यापक प्रचारप्रसार गर्नुपर्ने थियो– त्यो सकिएको छैन । राराताल जत्ति पनि सुन्दरता नभएको भारतस्थित नैनीतालमा दैनिक हजारौँ हजार पर्यटक पुग्ने तर रारा सुनसान हुने कारणमा सरकार नै मुख्य दोषी हो ।’
फर्केर दैलेख बजार आइपुगेका पत्रकारको टोलीलाई नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शैलेश श्रेष्ठले स्वागत गरेका थिए । ऐतिहासिक कोटगढीको भ्रमण गराइएको थियो । अनौपचारिक र छोटो स्वागत कार्यक्रममा उनले भनेका थिए, ‘सरकारले दिने भनेको असी लाख पनि पूरातत्व विभागले रोकेर राखिदिएका कारण थप जिर्णोद्धार गर्न सकिएको छैन । सामान्य माटो परीक्षणदेखि निर्माणसम्मै ढिलाई गरिदिएको छ । ६ महिना अघि निरीक्षण गरेको पूरातत्व विभागले स्पष्ट कारण नदिँदा यश वर्ष न केन्द्रसँग बजेट माग्न पाइयो न आफूले छुट्याउन पाइयो ।’ पूरातत्व विभागको स्पष्ट मापदण्ड नआउँदा कोटगढीको विकास नै अलपत्र हुने उनको गुनासो थियो ।
५ दिनसम्म सञ्चालित उक्त अभियानले सीमावर्ती मुलुक भारतका पर्यटकलाई गर्मी छल्न रारामा आकर्षित गर्ने उद्देश्य राखेको नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष हरि रेग्मीले बताएका थिए। उनले भनेका थिए, ‘कर्नालीको पर्यटन प्रबर्धनमा उद्योग, पर्यटन तथा वन मन्त्रालयको यश कदमले कर्नालीको पर्यटनमा नयाँ आयाम थपिनेछ । आगामी दिनमा विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मित्रराष्ट्र भारतका पर्यटक भित्र्याउने कर्नाली प्रदेश सरकारका यस्ता कदममा हाम्रो सर्वदा साथ र सहयोग रहने छ ।’ कार्यक्रम संयोजक तथा नेपाल फोटो पत्रकार महासंघका वरिष्ठ सचिव हरिहरसिँह राठौरले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने बताएका थिए । उनले भनेका थिए, ‘आगामी दिनमा सरकारले पर्यटनको प्रबर्धन र पूर्वाधारको विकासमा थप लगानी गरे हामी अझै राम्रो काम गर्नेछौँ ।’ भारतबाट आएका वरिष्ठ पत्रकार मिथिलेस दुबेले भनेका थिए, ‘यो नैनीतालभन्दा दशौँ गुणा राम्रो छ तर सडकको समस्याले रारासम्म पुग्ने निकै कठिनाई हुन्छ । हवाइजहाज एउटा मात्रै चल्छ ।’ अर्का अनुभवी र पाका पत्रकार आनन्द गुप्ताले भनेका थिए, ‘आउँदो समयमा यो भन्दा ठूलो कार्यक्रम आयोजना गर्नुहोला । सडक, स्वास्थ्य, शिक्षामा परिवर्तन नगरी पर्यटनको विकास सम्भव छैन ।’
यात्रामा कठिनाई सामान्य कि अनुभव ?
यात्रामा एड्भेञ्चर सामान्य र रोमाञ्चक अनुभव हो । तर, चाहिनेभन्दा बढी कठिनाईको सामना गर्नुपरेमा एकपटक घुम्न आएको पर्यटकले अर्कोपटक आउने मन गर्दैन । अझ त्यसमाथि पत्रकार त प्रचारप्रसारका लागि बोलाइएका थिए । यसमा सबैभन्दा बढीस्थानीय सरकारका प्रतिनिधिको हेलचेक्र्याइँ देखियो । भारत र नेपालका गरी २० जनाभन्दा बढीको टोली खाउँदा सम्मानका लागि उपस्थित हुन अनकनाउने जनप्रतिनिधिले त्यहाँको पर्यटन प्रबर्धन गर्छन् भनेर सोच्नु पनि मुर्खता हो– यो नियत धेरैजसो स्थानीय सरकारका प्रतिनिधिमा देखियो । यस अर्थमा टोलीले प्राकृतिक एड्भेञ्चर नभई मानव निर्मित सास्ती भोग्यो । यसले दीर्घकालीन रूपमा नराम्रो असर पार्नेछ ।
कर्नाली प्रदेश नेपाली पर्यटनको भर्जिन डेस्टिनसन हो भन्दा पनि फरक पर्दैन । रारा तालको बाहेक अन्य स्थानको प्रचारप्रसार सही तरिकाले गरिएको छैन– गर्न सकिएको छैन । जसमध्ये कर्नाली प्रदेशकै पर्यटन प्रबर्धन गर्न यी कदम चाले कर्नालीको पर्यटन समृद्ध हुन्छः
१. कर्नाली प्रदेश सरकारले ५० वटा प्राथमिकताका पर्यटकीय स्थलहरू तोक्नुपर्छ ।
२. भौगोलिक/प्राकृतिक, सांस्कृतिक र एड्भेञ्चर पर्यटनको पूर्वाधार निर्माण गर्नुपर्छ ।
३. प्रदेशभरिका अन्तरजिल्ला र जिल्लाभरिका अन्तरपालिका पर्यटन सहकार्य नीति तय गर्नुपर्छ ।
४. खास खास स्थानको सर्किट ९जस्तै पञ्चकोशी सर्किट० बारे समय समयमा छलफल गर्नुपर्छ ।
५. दैलेखमा रहेको ग्यास खानीलाई नेपालको एकमात्र उत्पादनमुलक उद्योगको रूपमा प्रचार गरि पर्यटक भित्र्याउने कार्य गर्नुपर्छ ।
६. खस सभ्यताका ऐतिहासिक स्तम्भ, गढीरकिल्ला र दरबारका अवशेषहरूको संरक्षण, संवर्धन र प्रचारप्रसार गर्नुपर्छ ।
७. भर्जिन हिमालको आरोहणको व्यवस्था मिलाउनुपर्छ र तालतलैयाको प्रचारप्रसार गर्नुपर्छ ।
८. कैलासकेन्द्रित पर्यटन प्रचार नीति अख्तियार गर्नुपर्छ ।
इन्डो–कर्नाली पर्यटनको कोसेढुंगो बनाउन के गर्नुपर्छ ?
कर्नाली प्रदेशमा भारतीय पर्यटकमात्रै आउने हो भने पनि वार्षिक लाखौँको संख्यामा पर्यटक भित्र्याउन सकिन्छ । यसका लागि पर्यटकमैत्री पूर्वाधार निर्माण गर्नुपर्छ । इन्डो–कर्नाली पर्यटनलाई मूल नीतिका रूपमा अगाडि नसारेसम्म कर्नालीको पर्यटन प्रबर्धन समृद्ध हुँदैन । नेपाल भारत र चीनजस्ता ठूलो जनसंख्याको हिस्सा ओगट्ने र संसारकै ठूलो अर्थतन्त्र भएका देशको बीचमा रहेका छौँ । जसमध्ये भारत र नेपालका सामाजिक( सांस्कृतिक मूल्यमान्यताका हिसाबले समेत समान छन् । यही कुरालाई पौराणिक, रामायणकालीन र महाभारतकालीन सभ्यतासँग जोडेर प्रचार प्रसार गर्न सके कर्नालीको मात्रै होइन समग्र राष्ट्रकै पर्यटनले अग्रगति लिन सक्छ । त्यसमाथि हिमाली सभ्यताको जननी र नेपाली खस भाषाको उद्गम स्थलको रूपमा प्रचारप्रसार गर्न सके कर्नालीको समृद्धि सम्भव छ । यसका लागि पर्यटन नीतिहरूमा सुधार गर्नुपरेको खण्डमा पनि कर्नाली प्रदेश सरकार तयार रहनुपर्छ ।