Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालभारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग

भारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग


एजेन्सी । भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ ।

जिल्लामा नौमती घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । तीनमध्ये आर्ट स्टुडियो महिला नौमती बाजाको टोली भारतको सिक्किम, दार्जीलिङ र कोलाकता पुग्न थालेको हो ।

विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा पछिल्लो समय बाक्लै देख्न पाइन्छ । विर्तामोड–२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो ।

पाँच वर्षअघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि उहाँलाई महिलाको अलग्गै टोली बनाउने रहर जागेको पौडेलले बताउनुभयो । “त्यसबेला मेरो नेतृत्वमा गाउँका महिला नाटक खेल्ने गर्थे । रुवा र खरानीको धागोजस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गरेसँगै विर्तामोडलगायत झापाका विभिन्न स्थानमा नाटक मञ्चन गरेका थियौँ । पछि उक्त टोली महिला कलाकारका रुपमा परिचित बनेको थियो”, उहाँले भन्नुभयो ।

सोही टोलीलाई समेटेर शान्ताले नौमती बाजा बजाउने समूह खडा गरे । आवश्यक तामिल लिएपछि विर्तामोड वडा नं २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले टोलीलाई बाजा किन्न रू डेढ लाख बजेट दिनुभएको संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिए। उनका अनुसार नमूना कार्य भन्दै कनकाई नगरपालिकाले पनि बाजा खरिदका लागि रू ३० हजार थपिदिएको थियो ।

केही नयाँ काम गरौँ भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिला मात्र रहेको पहिलो नौमती बाजा बजाउने टोलीको जन्म भयो । उहाँहरुले टोलीलाई संस्थागत गर्दै ‘आर्ट स्टुडियो महिला नौमती बाजा संस्था’ दर्ता गर्नुभएको छ । पौडेलका अनुसार टोलीमा १४ जना सबै महिला सदस्य छन् । समूहमा नौमती बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा रहेका उनले जानकारी दिए ।

विभिन्न कार्यक्रममा समूहले निश्चित शुल्क लिएर बाजा बजाउँदै आएको पौडेलले बताए । उनका अनुसार अवधि र अवस्था हेरेर शुल्क निर्धारण हुने छ । एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा रू दुई लाखसम्म शुल्क पाउने गरेको संस्थाकी कोषाध्यक्ष गोमादेवी विमलीले जानकारी दिए । उनका अनुसार एउटा कार्यक्रमबापत टोलीले नेपालमा रू १५ हजारदेखि ३० हजारसम्म शुल्क लिने गरेको छ ।

भारतमा भने भारू ५० हजार शुल्क निर्धारण गरिएको विमलीले जानकारी दिनुभयो । “केही समयअघि जिल्लामा महिलाले नौमती बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जीलिङका एक जना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा बाजा बजाउने टोली झिकाएका थिए। दार्जीलिङबाट कोलकातामा जन्ती जाँदा रू ५० हजार दिने सहमति भएको थियो”, उनले भने, “हामीले नौमती बजाएको मन पराएर उहाँहरुले भारू डेढ लाख दिनुभयो ।”

बाजा बजाउन आमन्त्रण गर्नेहरुले टोली र बाजा बोक्नका लागि गाडी भाडा व्यहोर्ने गर्नुभएको विमलीको भनाइ थियो । उनका अनुसार काठमाडौँमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमती बाजा बजाएको थियो । ऊबेला बाजा बजाएबापत रू एक लाख शुल्क दिइएको उनले जानकारी दिए ।

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमती बजाउन उनीहरुको टोलीलाई निमन्त्रणा गरेका थिए । तामाङले महिलाको नौलो र राम्रो कार्य भनेर प्रशंसा गर्दै भारू एक लाख पुरस्कार दिएका थिए । टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरीसमेत खेल्ने अवसर पाएको थियो ।

संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमती बाजा बजाउन सुरु गर्दा आफू र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नुपरेको बताए। दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए पनि आफुहरुले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उनले अनुभव सुनाए।

“यस्तो दमाईं बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यबाटै साथीहरुले अवहेलना भोग्नुपर्‍यो”, अध्यक्ष पौडेलले सङ्घर्षका दिन सम्झिँदै भने, “सुरुमा कसैले पनि साथ दिएनन् । तथापि हामी पछाडि हटेनौँ । अहिले चाहिँ प्रशस्त आम्दानी र सामाजिकरुपमा प्रशंसा हुन थालेपछि परिवारका सदस्य खुसी छन् ।”

टोलीका सदस्यहरुले घरको कामधन्धा छाडेर बाजा बजाउन जाने भएकाले सङ्कलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन् । दश प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आइएको कोषाध्यक्ष विमलीले बताए ।

लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमती टोलीलाई अचेत कार्यक्रममा भ्याइनभ्याइ छ । व्यावसायिकरुपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले प्रशस्त आम्दानीको स्रोत बनेको छ भने सामाजिकरुपमा पनि प्रशंसा हुन थालेको छ । यसरी महिलाले नौमती बजाएर कला, संस्कृतिको संरक्षण हुनुका साथै यस क्षेत्रको पहिचानमा योगदान पुगेको स्थानीय बताउँछन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT