Techie IT
२०८१ चैत्र ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालकक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाईजहाज’

कक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाईजहाज’


झापा । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन् । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए । सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत बताए ।

बुद्धशान्ति–१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ । जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए । धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए । खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौँ दर्शक रोमाञ्चित बनेका थिए ।

गाउँपालिकाको बैठक बसेर प्रतिभाशाली विद्यार्थी बाँस्कोटालाई आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष प्रसाईंले प्रतिबद्धता व्यक्त गरेका छन् । छात्र बाँस्कोटाले तीनवटा जहाजको नमूना र अन्य वैज्ञानिक उपकरण निर्माण गरेका छन् । बनाएका सामानले उनको घरको कोठाहरु भरिएका छन् । बनाएका जहाजहरुलाई उनले नेपाल एयरलायन्स, तारा एयरलायन्स र ग्रेटर नेपाल नाम दिएका छन् । अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गल्र्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जरलगायत छन् । गरिब परिवारमा जन्मेका छात्र बाँस्कोटाले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेका जनाइएको छ ।

“सानैदेखि विज्ञान सामग्री बनाउनेमा चाख थियो,” उनले भने, “सुरुसुरुमा आमाबुबाले गाली गरे पनि अहिले सहयोग गर्नुभएको छ । आर्थिक स्रोत हुने हो भने अझ धेरै ठूलाठूला उपकरण बनाउन सक्नेथिएँ ।” एउटा हवाईजहाज बनाउन रु ६५ हजार खर्च भएको उनले जानकारी दिए । भर्खर कक्षा १० मा पढ्दै गरेको विद्यार्थीमा विज्ञान उपकरण निर्माणमा यतिधेरै चाख र क्षमता भएको देखेर आश्चर्य लागेको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले बताए । “एउटा सानो भाइमा यस्तो प्रतिभा हुनु सामान्य हुँदैहोइन,” उनले भने, “हौसला र आर्थिक स्रोत हुने हो भने दुनियाँलाई छक्क पारेर देखाउने क्षमता रहेछ । उहाँले हामी सबैका अगाडि हवाईजहाजलगायत उपकरणहरु प्रदर्शनी गरेर देखाउनुभयो ।”

सबिनकी आमा चेलीमायाले गहना र गाईबाख्रा बेचेर उपकरण बनाउन सहयोग गरेको बताइन् । विद्यालय जाँदा खाजा खान दिएको रु २० पनि बचत गरेर रु चार हजार बनाएको देखेपछि छोरोको चाहना पूरा गर्न आफूले गहना बेचेको उनले बताइन् ।

सानैदेखि तीक्ष्ण दिमागको सबिनमा घरका रेडियो र ब्याट्री खोलेर जोड्न रमाउने चकचके स्वभाव थियो । चेलीमायाका अनुसार नयाँ किनेर ल्याएका रेडियो, टर्च लाइट र मोबाइल उपकरण सबै बिगार्ने र बनाउने गरेर सबिनले सुरुमा घरमा हैरानी दिने गरेका थिए । “असाध्यै चुलबुले र तेज दिमागवाला थियो”, छोराको बाल्यकाल सम्झँदै आमा चेलीमाया भन्छिन्, “दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भत्काएर हैरान नै पाथ्र्यो ।” तर, अहिले हवाईजहाज समेत बनाएर उडाउन थालेपछि परिवारका सबै खुशी छन् ।

सबिनले बनाएको अर्को सामान बिजुली साइकल हो । चलिरहेको पाइडल साइकलमा उनले आफूद्वारा निर्मित ब्याट्री जोडेका छन् । उक्त ब्याट्री चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि साइकललाई दिनभरि कुदाउन सकिने उनको दाबी छ । बिजुली साइकल बनाउन रु २० हजार खर्च भएको छ । बिग्रेको चार्जर र एडप्टर जोडेर ‘गल्र्स सेफ्टी’ नामको नयाँ डिभाइस उनले बनाएका छन् । जसले कुनै पनि युवतीलाई दुव्र्यवहार भएमा बिजुलीको करेन्ट प्रवाह गरिदिने उनको दाबी छ । डिभाइसका कारण दुव्र्यवहारबाट जोगाउने उपकरण भएकाले यसको नाम ‘गल्र्स सेफ्टी’ राखिएको रहेछ ।

‘भ्वाइस कमान्ड’बाट चल्ने रोबोट र बमबार्ड गर्ने ड्रोन बनाउन सक्ने उनको दाबी छ । एउटा रोबोट निर्माण अन्तिम चरणमा छ । कोठाभरि चिसो बाफ फ्याँक्ने इलेक्ट्रोनिक डिभाइस उनले बनाएर प्रदर्शन समेत गरेका छन् । ‘पाइप एसी’ नाम दिइएको उक्त डिभाइस बिजुलीबाट चल्छ । मिहनेत र खर्चले यस्ता उपकरण बनाउने सबिनले भविष्यमा धेरै पढेर मेकानिकल इन्जिनियर बन्ने सपना साँचेका छन् । “आठ महिना लाग्यो । कैयौँपटक बनाउँदै भत्काउँदै गर्दा मात्र यो सम्भव भएको हो”, उनले भने, “सामान किन्न धेरै पैसा चाहिन्थ्यो । त्यो सबै मेरी आमाले गाई, बाख्रा र गहना बेचेर पुर्याउनुभयो ।”

पाँचथरको हिलिहाङमा जन्मेका सबिनलाई उनका बुबा कृष्णले राम्रो शिक्षा दिने उद्देश्यले सात वर्षअघि पहाडबाट मधेसको झापा ल्याएर पढाउन थालेका थिए । मधेसमा बाँस्कोटा परिवारको दुई कट्ठा घडेरीमात्र छ । उक्त जग्गामा टिनको छानो र बाँसको भाटाले बारेको एउटा घर छ । बुबाआमाले अर्कैको खेतबारी अधिया–ठेक्कामा लिएर परिवारको जीविका चलाउँदै आएका छन् ।

आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पु¥याउन नसकेको वुबा कृष्ण बताउँछन् । घरमा वाइफाई नभएका कारण सबिन गाउँको वाइफाइमा गएर मोबाइल चलाउने गर्छन् । “यति धेरै विज्ञानका सामान बनाउने छोरोलाई सहयोग नगरौँ भन्ने त मनमा हुँदैन नि,” मनको बह पोख्दै उनले भने, “घरमा वाइफाई जोडिदिन सकेको छैन । एउटा राम्रो मोबाइल पनि किनिदिन सकेको छुइन ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

Techie IT