Techie IT
२०८१ फागुन ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थहेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन


काठमाडौँ । मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै नौ वर्षअघि देखि निर्माण सुरु भएको सो आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइनको तारमुनिको जग्गाको मुआब्जा वितरणका लागि मात्रै रु पाँच अर्ब बराबरको बजेट आवश्यक रहेको छ । यस्तै, निर्माण व्यवसायीलाई थप रु पाँच अर्ब बराबरको बजेट आवश्यक देखिएको छ ।

यस आधारमा सो आयोजनाका लागि कूल रु १० अर्ब बराबरको थप बजेट आवश्यक देखिएको उहाँले जानकारी दिनुभयो । प्रसारण लाइनको दायाँ बायाँ ४६ मिटर रहने भएकाले पनि मुआब्जा बापतका लागि ठुलो बजेट जरुरी रहेको छ । अवरोधै अवरोधका कारण आयोजनालाई गति दिन समस्या पैदा भएको छ ।

आगामी चार महिनाभित्र सो प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गर्नुपर्ने बाध्यतामा प्राधिकरण रहेको छ । “जताततै समस्या छ, समाधानका लागि गरिएको प्रयाससमेत सार्थक हुन सकेको छैन”, कार्यकारी निर्देशक घिसिङले भने, “सप्तरी र सिरहामा नापी र मालपोत कार्यालयले समेत आवश्यक सहजीकरण नगरिदिएका कारण झनै समस्या पैदा भएको छ ।”

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानको स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण ढिला भएको हो । स्थानीय अवरोध खुलाइ निर्माणका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल हुन सकिरहेको छैन ।

रणनीतिक महत्त्वको प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसक्दा कूल चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन सकिएको छैन । अहिले ढल्केबरबाट पश्चिमतर्फ एक सय ३२ केभी प्रसारण लाइन मात्रै छ ।

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने दुई सय ८८ किलोमिटर प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये सात सय ५७ टावरको जग हालिएको छ भने सात सय ५० खडा गरिएको छ । रूख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरहरूको निर्माण हुन सकेको छैन । सबै टावर खडा गरिसकेपछि ठेकेदार कम्पनीले तार तान्न सुरु गर्नेछ ।

हेटौँडा उपमहानगरपालिका–१५, १६ र १७ स्थिति हटिया क्षेत्रका बासिन्दाको अवरोधका कारण निजी जग्गामा पर्ने १४ वटा टावरको निर्माण सुरु हुन सकेको छैन ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रसारण लाइन निर्माणमा भइरहेको प्रगतिका बारेमा चासो व्यक्त गरेका छन् । उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आवश्यक समन्वय गरेर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिए । उनले स्थानीय सुरक्षाकर्मीको सहयोग लिन र प्रशासनसँग मिलेर काम गर्न निर्देशन दिए ।

स्थानीयहरूले प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै सामुदायिक वनमा पर्ने टावरसमेत निर्माण गर्न दिएका छैनन् भने निर्माण गरिएका दुईवटा टावर सार्न माग गरिरहेका छन् । उनीहरूले प्रसारण लाइन मानव बस्तीबाट नलगी जङ्गलबाट लैजानुपर्ने माग गरेका छन् । आयोजनाले भने सबै प्रक्रिया पूरा गरी डिजाइन गरिएकाले अहिले आएर रुट परिवर्तन गर्न नसकिने प्रस्ट पार्दै आएको छ ।

“माथिल्लो तामाकोशीको बिजुली ढल्केबरबाट पश्चिमतर्फ ल्याउन नसक्दा यता नपुग्ने उता खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न यो लाइन जतिसक्दो छिटो निर्माण गर्नुपर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भने ।

स्थानीयले सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर र सिरहाको लहान पडरिया क्षेत्रमा पनि प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३र२३ मिटर हुने छ । सो प्रसारण लाइन निर्माणपछि मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापार सहज हुने अपेक्षा गरिएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

Techie IT