Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालमध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा


पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ ।

भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेट र पहुँचको अभावमा यो सडक ओझेलमा परिरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको अध्यक्ष पुनले बताए ।

“बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उनले भने, “पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।”

म्याग्दीको धवलागिरि गाउँपालिका–२ खोरियामा तीन वर्षअघि पुगेको सडक निर्माणको काम पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा रोकिएको छ । १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वीरुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वीरुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् ।

“भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो”, उपाध्यक्ष पुनले भने, “तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिङ्गो जिल्लालाई नै अन्याय भएको छ ।”

बेनी–दरबाङ–धारापानी–ताकम–मुनासम्मको सडक कालोपत्र गर्ने र मुनाबाट जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिइने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उनको भनाइ छ ।

“म्याग्दी हुँदै ढोरपाटन पुगेर बुर्तिवाङ हुँदै लुम्बिनी र पोखरा पुग्ने पर्यटनमार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्वपूर्ण योजनामा समेट्छौँ”, उनले भने “बेनीबाट दरवाङ हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडक कालोपत्र गर्ने र ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिन्छौँ ।”

प्रदेश सरकारमार्फत बेनीबाट मङ्गला गाउँपालिका–२ सिमसम्म १२ किलोमिटर पाँच सय मिटर सडक कालोपत्र भइसकेको छ । सिमबाट लाम्पाटा चार किलोमिटर र लाम्पाटा–दरवाङको आठ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तीव्रता पाएको छ । दरवाङबाट धारापानीसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने योजनाको काम जारी छ ।

दरवाङ–मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न रु एक करोड ६६ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन तयार भएको धवलागिरि गाउँपालिकाले जनाएको छ । विसं २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक २०७४ सालदेखि स्तरोन्नतिको काम थालिएको थियो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकखण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT