Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालनवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै

नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै


महोत्तरी । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो ।

यो विधि कोजाग्रत रातमा गरिने परम्परा छ । सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलाहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ । यस अवसरमा दुलही पक्षका आफन्तले दुलहाका लागि वस्त्रआभूषण र मिष्ठान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् ।

कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी(चेलीका परिवारजनप्रति अहोभाव दर्शाउन यो दिन रोजिएको हुनसक्ने मैथिली लोकपरम्पराका जानकारको भनाइ छ । दुर्गा पूजन सकिएलगत्तै दसैं पर्वको कोसेली पुर्याउन र पर्वविशेषको भेटघाट गर्न पनि यो परम्परा चलाइएको हुनसक्ने संस्कृतिविद जलेश्वर ६ का बासिन्दा पूर्वप्रशासक महेश्वर रायको भनाइ छ ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण र कायस्थ जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ । दुलही पक्षका आफन्तले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभुषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलाहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

भेटका लागि वस्त्र आभूषण, मिष्ठान्न परिकार, दही, मखान (तलाउको पानीमा फल्ने मिथिलाको एक फल विशेष) र फलफूलसहितका पचासभन्दा बढी भार (सोली) लिएर दुलही पक्षका आफन्त दुलहा घर पुग्छन् । दुलही पक्षका आफन्तको लामो लावालस्करले विवाहकै झझल्को दिने र असाध्यै खर्चिलो हुने गरेबाट अब यो विधि टार्न गरिबलाई धौधौ पर्ने गरेको मैथिल ब्राह्मण नै बताउँछन् ।

विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको परम्परा थेग्न अब भने घरखेत बेच्नपर्ने सम्मको स्थिति आएको भङ्गाहा ३ का ७० वर्षीय मैथिल ब्राह्मण चन्द्रकान्त झा बताउँछन् । पिता, पुर्खाले आपसी सदभाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शन जस्तै बनेको हुँदा अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT