कास्की । पोखरा महानगरले फिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । पोखरा १८ अधेरी कुनादेखि पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने यो खोला करिब आठ किमी लामो छ ।
महानगरले फिर्के खोलाको बहाव क्षेत्र (खोलघर) भित्र बनेका संरचना हटाउन शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । सूचनामा खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू पूर्ण रूपमा ३५ दिनभित्र हटाउन भनिएको छ । महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी यकिन गरेको खोलाघरभित्र अस्थायी र स्थायी गरी एक सय ६० संरचना छन् ।
तोकिएको मितिभित्र संरचनाहरू नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने जनाएको छ । यसअघि पोखरा महानगरले गठन गरेको फिर्के सिमाङ्कन टोलीले असोज ६ गते प्रतिवेदन पेस गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्के खोला नै हराउने र प्राकृतिक विपत्ति निम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।
१८ वटा सङ्घ, संस्थाका स्थायी संरचना खोलाघर नै मिचेर निर्माण भएका छन् । कतिपय संरचना शतप्रतिशत खोला घरमा बनेका छन् भने कतिपय संरचनाको आंशिक भाग खोलाघरमा पर्छ । खोला मिचेर ९७ अस्थायी, ३५ स्थायी, १० सङ्घ, संस्थाका अस्थायी र १८ सङ्घ, संस्थाका स्थायी संरचना बनेको प्रतिवेदनमा उल्लेख छ ।
खोलाघरमै बनेका संरचनामा वडा, महानगर, प्रदेश र सङ्घ सरकारले समेत लगानी गरेको देखिएको छ । खोला फोहोर फ्याँक्ने डम्पिङ जस्तो बन्दै गरेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने प्रतिवेदनले औँल्याएको छ ।
सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ पोल गाडेको छ । पोल गाड्न सम्भव नभएका ठाउँमा इनामेलले चिन्ह लगाइएको छ । टोलीले साउन ३ देखि भदौ २ गतेसम्म एक महिना लगाएर फिर्के नाप जाँच गरेको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिवेदन अनुसार पहिलो चरणमा खोलाघर खाली हुने र त्यसपछि फिर्केको नयाँ मापदण्ड बनाएर कार्यान्वयन गरिने बताए। उनी भन्छन्, “फिर्केको अतिक्रमण हटाएर फिर्के कोरिडोर निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्र बनाउँछौँ । यसका लागि लगानीको समस्या हुँदैन ।”
फिर्के खोलामा पटक पटक सिमाङ्कन र नक्सांकन भएका छन् । तर कार्यान्वयन नहुँदा फिर्के निरन्तर अतिक्रमणको चपेटामा परेको छ । प्रमुख आचार्यले प्रतिवेदन कार्यान्वयन गर्दै फिर्केलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने प्रतिबद्धता जनाएका छन् । रासस