झापा । झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका ३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उनी हात्तीको आक्रमणमा परे । उनको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भयो ।
झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जङ्गललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जङ्गली हात्तीको त्रास छ । मेची नदी पार गरेर दर्जनौंको सङ्ख्यामा भित्रिने जङ्गली हात्ती रातभर खेतीपाती चरेर विहानको उज्यालो नहुँदै भारततिर फर्किन्छन् । तर, रैथाने हात्ती विहान अबेरसम्म स्थानीयको खेतबारीमा चरिरहेका हुन्छन् ।
एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका रैथाने हात्तीका कारण ‘मर्निङ वाक’ त्रासमय हुने गरेको छ । “विहानै सडकमा हात्ती हिँड्दै गरेका हुन्छन्, मर्निङ वाक गर्न पनि डराउने अवस्था आयो”, मेचीनगर–१० धुलाबारीका गङ्गाधर पराजुलीले सुनाए ।
‘मर्निङ वाक’ मात्र होइन, विहान सडक आसपास फूल टिप्न हिँड्ने चलन पनि हात्तीकै कारण घट्दै गएको छ । हालै धुलाबारी बजारभित्रै बगैँचामा फूल टिपिरहेका बेला जङ्गली हात्तीको आक्रमणमा परी ८० वर्षीया पानालाल देवी साहको घटनास्थलमै मृत्यु भयो ।
‘मर्निङ वाक’ गर्ने, च्याउ र निगुरो टिप्ने र घाँस र दाउरा सङ्कलन गर्ने मानिसहरु हात्तीको आक्रमणमा पर्ने गरेका छन् । झापाको जङ्गलमा टिपेको च्याउ र निगुरो बेचेर जीविका चलाउनेहरु धेरै छन् ।
पूर्वपश्चिम राजमार्गको चारआली जङ्गल खण्डमा दिनहुँ ५० भन्दा बढी महिला तथा बालबालिका निगुरो र च्याउ बेच्न बस्ने गरेका छन् । उनीहरु एकाविहानै घना जङ्गलभित्र पसेर निगुरो र च्याउ सङ्कलन गर्छन् र सडक किनारमा पसल थाप्छन् ।
निगुरो र च्याउ खोज्ने मानिसहरु हात्ती आक्रमणको जोखिममा छन् । जङ्गल पार गरेर सडकमा आउनुपर्ने र एकाविहानै जङ्गलभित्र ती वस्तु खोजी गर्नुपर्ने भएकाले उनीहरु कुनै पनि बेला हात्तीको निशानामा पर्न सक्छन् ।
हात्ती नियमित हिँड्ने बाटोमा चारआलीको निचाझोडा र जलथल वनसहित दर्जनौं सामुदायिक वन क्षेत्र छन् । मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, विर्तामोड, भद्रपुर, हल्दिबारी, बाह्रदशी, कनकाई, शिवसताक्षीलगायतका क्षेत्रमा पनि हात्ती भेटिन्छन् ।
स्थानीय शिक्षक रञ्जित परियारका अनुसार निगुरो र च्याउ खोज्ने चारआली जङ्गल हात्तीले बाहुनडाँगीदेखि जलथलसम्मको पचास किलोमिटर विचरण गर्ने मुख्य बाटो मै पर्दछ । “दिनहुँजसो हात्ती यताउता हिँडिरहेका हुन्छन्, मानिसहरु ज्यान जोखिममा पारेर च्याउ र निगुरो टिपिरहेका हुन्छन्”, उनले भने, “हात्ती जङ्गलमा छ कि छैन भन्ने थाहा हुने कुरा भएन । ‘साइरन’को व्यवस्था पनि छैन ।”
डिभिजन वन कार्यालय झापाले हात्ती विचरण गर्ने जङ्गल आसपास सर्वसाधारणको सतर्कताका लागि सूचना पाटी राखेको छ । कार्यालयले हात्तीलाई नजिस्काउन, नजिक नजान र नमार्न स्थानीयलाई चेतावनी दिए पनि घाँस, दाउरा, च्याउ र निगुरोको सङ्कलन स्थानीयको जीविकासँग जोडिएका कारण जोखिम बढेको छ ।
भद्रपुर नगरपालिका वडा नं। ७ का गिरेन कर्मकार हल्दिबारी गाउँपालिका वडा नं। २ स्थित चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मारिए । दमक वडा नं। ३ का कमैया राई हम्सेदुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा मारिए ।
वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत अभियन्ता शङ्कर लुइँटेल जङ्गली हात्ती सामान्यतया आफू खतरामा परेको महसुस गरेपछि मात्रै आक्रमणमा उत्रिने बताउँछन् । हात्ती आहारा खोज्दै मानिसको बस्ती, खेतबारी र सहरतिर जाने गरेको हुँदा उसको लक्ष्यमा बाधा महसुस गरेपछि आक्रामक हुने गरेको उनको भनाइ छ ।
“मानिस र हात्तीको हिँड्ने र जीवन धान्ने क्षेत्र एउटै हो,” अभियन्ता लुइँटेलले भने, “हात्तीका लागि जङ्गलमा आहारा छैन । त्यसो भएकाले हात्तीहरु मानव बस्ती र खेतबारीसम्मै आइपुग्छन् । बालीनाली जोगाउने मान्छेको प्रयास र जसरी पनि बाली खाएर पेट भर्नुपर्ने हात्तीको बाध्यताका कारण मानव–हात्ती द्वन्द्व चर्किएको हो ।”
डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार विगत एक दशकमा झापामा हात्तीको आक्रमणमा ६० जनाले ज्यान गुमाइसकेका छन् । रासस