Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालसोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदै

सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदै


काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।

आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।

कारणबश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणबस अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

यो समयमा पनि कारणबस सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र वडादसैँ पर्व पछि सरेको हो । पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने जनाइएको छ । आइतबारदेखि वडादसैँ अर्थात् दुर्गा पक्ष सुरु हुन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने

ट्रक दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी…

काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

Techie IT