काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन यस बर्ष २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गर्दैछ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको छ । निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनौट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ । मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको छ । केही सार्वजनिक सूचना प्रकाशनको चरणमा छन् ।
पैदल यात्रा गर्ने यात्रीको सहजताका लागि गएको आर्थिक बर्षबाट थालिएको कामलाई यस बर्ष थप तीब्र बनाइएको हो । सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ । यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिनेछन् । दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट छापिनेछ ।
सार्वजनिक निर्माण विभागका अनुसार, वडा नं. २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा यस अघि काम भइसकेको छ । अहिले वडा नं. २६ लैनचौरबाट वडा नं. १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको छ । यसको लागत ४ करोड ५५ लाख रुपैयाँ हो । वडा नं. २६ लैनचौरबाट वडा नं. २ को लाजिम्पाट, वडा नं. ३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि सम्झौता भइसकेको छ । यसको लागत करिब १० करोड रुपैयाँ हो । वडा नं. २८ को प्रदर्शनी मार्गमा काम थालनी भएको छ । यसको लागत ३ करोड ७८ लाख रुपैयाँ हो । वडा नं. ११ को त्रिपुरेश्वरदेखि वडा नं. २२ सुन्धारा, वडा नं. २७ र २८ को सिमाना महावौद्ध, रत्नपार्क, जमल हुँदै वडा नं. २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । यसको लागत १८ करोड रुपैयाँ हो । नयाँ बजार बडा नं. १७ खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा काम हुँदैछ ।
वडा नं. ४ को बालुवाटार सडक खण्डमा निर्माण कार्य गर्नका लागि सम्झौता भइसकेको छ । यसको लागत ६ करोड ३५ लाख रुपैयाँ हो । वडा नं. ३२ को तीनकुनेदेखि वडा नं. ९ सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै वडा नं. ८ को गौशालासम्मका लागि सम्झौता भइसकेको छ । यसको लागत ६ करोड ६९ लाख रुपैयाँ हो । वडा नं. १० नयाँ बानेश्वरदेखि वडा नं. ९ पुरानो बानेश्वरसम्मको मार्गका लागि ३ करोड २३ लाख रुपैयाँ लागतमा काम हुनेछ । वडा नं. ११ थापाथलीदेखि वडा नं. १२ टेकुहुँदै वडा नं. १३ कालीमाटीसम्मको सडक खण्डको लागत ६ करोड रुपैयाँ हो ।
वडा नंं २८ को बागबजारदेखि वडा नं. २९ चारखाल, वडा नं. ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नं. ९ को पुरानो बानेश्वर, वडा नं. ३१ को भीमसेनगोलाहुँदै वडा नं. ९ को सिनामंगल सडक खण्डका लागि १० करोड लागत रहेको छ ।
वडा नंं १३ को कालीमाटीदेखि सोल्टी मोडहुँदै वडा नं. १४ को कलंकीसम्म, वडा नं. ८ को गौशालादेखि वडा नं. ७ को चावहिलसम्म, वडा नं. ८ गौशालादेखि वडा नं. ९ रातोपुलसम्मको सडक खण्डलाई एउटा प्याकेजमा राखिएको छ । यसका लागि १० करोड लागत अनुमान गरिएको छ । यसका लागि पहिलो पत्र प्रकाशन गरिएको बोलपत्रबाट चाहिएको निर्माण पक्ष प्राप्त नभएपछि पुनः खरिद प्रक्रियामा लगिएको छ ।
वडा नं. ४ को विशालनगरको भित्री सडकमा १ करोड ३५ लाख रुपैयाँ लागतमा काम हुँदैछ । यस्तै वडा नं. ६ को महाङ्काल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख रुपैयाँ लाग्नेछ । यो खण्डको कामका लागि सम्झौता चरणमा पुगेको छ । वडा नं. १५ को भगवान पाउदेखि जुडोल मार्ग जोड्ने सडकका लागि १ करोड लागत अनुमान गरिएको छ । यसको वोलपत्र आव्हान सूचना प्रकाशन भएको छ । सूचनामा गएको अर्को योजना वडा नं. १६ को बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यानहुँदै बनस्थलीतर्फको सडक खण्ड हो । यसको लागत ३ करोड रुपैयाँ हो । वडा नं. ३२ जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्मको सडक खण्डमा ११ करोड रुपैयाँ लागतमा पैदल मार्ग निर्माण हुनेछ ।
वडा नं. ११ को माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै वडा नं. ३२ को तीनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदल मार्ग र साइकल लेन निर्माण हुनेछ ।
यसैगरी वडा नं. ५ को बालमन्दिरदेखि नक्साल, वडा नं. १ को नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै वडा नं. ३० को डिल्लीबजार क्षेत्रका लागि ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । धोवीखोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड रुपैयाँ लागत हुनेछ ।
वडा नं. १५ को डल्लु आवास क्षेत्रमा ७७ लाख रुपैयाँमा उपभोक्ता समितिबाट काम भइरहेको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ । बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ । सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको छ ।
यस खण्डमा छुटेका पैदल मार्ग निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । यसको खरिद प्रक्रियाअन्तर्गत सूचना प्रकाशन भइसकेको छ ।
प्रयोगकर्तामध्ये सडकमा पैदल यात्रीको पहिलो अधिकार हुन्छ । यसपछि मात्र सवारी साधनले प्राथमिकता पाउँछन् । पैदल यात्रामा रहने यात्रीलाई कुनै पनि खालको अवरोध पु¥याउनु हुँदैन । यसको अर्थ पैदल यात्रीले जसरी पनि हिँड्न पाउँछ भन्ने चाहिँ होइन । पूर्वाधार र सडक सुरक्षाका लागि उसका पनि केही दायित्व र जिम्मेवारी हुन्छन् ।
पैदल यात्रीको यो अधिकार स्थापित गर्न काठमाडौँ महानगरपालिकाले सडक व्यापारलाई निषेध गरिसकेको छ । सडकको किनारामा कसैले पनि कुनै खालका व्यापार गर्न पाउँदैनन् । यसअघि सडकमा खुला व्यापार र ठेला व्यापारले हिँड्न कठिन थियो । सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकुलता थपेको थियो ।
यी सबै खालका प्रतिकुलताको सामना गरेर पूर्वाधार निर्माण हुन सक्ने वातावरण तयार भएको छ । यसपछि बर्खायाममा हिलो र घाम लागेका बेला धुलो उड्ने वातावरणमा सुधार आउनेछ ।
महानगरपालिकाको यो प्रयासको दिगोपना र लगानीको सुरक्षाका लागि एकीकृत सहरी विकासको अभ्यास थालनी आवश्यक छ । सडकको स्वामित्व निक्र्यौल हुनुपर्छ । कुनै पनि सडकमा समस्या आउँदा कसको जिम्मेवारी हो भन्ने हरेक उपभोक्ताले बुझ्ने गरी स्पष्ट हुने सूचना हुनुपर्छ । यसो भएन भने विग्रिएको सडक अर्काको हो भनेर अरुलाई दोष लगाएर आफू चोखो भएर बस्ने प्रवृत्ति रोक्न सकिँदैन । जसकारण धराप सडक सम्भावित दुर्घटनाको कारण बनेर बसिरहन्छ । अधिकारी बजेट छैन । मेरो होइन भनेर कार्यालयमै बसिरहन्छन् । स्वामित्व अर्काको हुन्छ, लगानी गरेर पनि दोष महानगरपालिकाले बोकेर बस्नुपर्छ ।
विकास जे होस्, सडकमै हुन्छ । विजुलीको पोल गाड्ने होस् या खानेपानीका पाइप विछ््याउने होस् । सहरी सुविधा वितरणको मुख्य मार्ग सडक नै हो । यसकारण पनि सडकमा सवै छन्, तर समस्या परेका वेला कोही देखिँदैनन् । अहिलेसम्मको भोगाइ हो । सहरी विकासको दुखाइ यही हो ।
अवको आवश्यकता सहरी सडक सञ्जालमा कुनै पनि संरचनागत जोखिम नहोस् । सतह मिलेको मार्गमा जुनसुकै शारीरिक अवस्था भएका व्यक्ति पनि निर्वाध हिँड्न सकुन् । सजहता र सुरक्षाका दृष्टिले रात र दिन फरक नहोस् । सडक दुर्घटनाका कारण व्यक्तिको जीवन नजाओस् । आश्रित परिवारको विचल्ली नहोस् ।