Techie IT
२०८१ असार १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालबीआरआईको वित्तीय लगानी मोडलको नीतिमा केही पूर्नविचार आवश्यक छः प्रधानमन्त्री

बीआरआईको वित्तीय लगानी मोडलको नीतिमा केही पूर्नविचार आवश्यक छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआईको वित्तीय लगानीको मोडलको नीतिमा केही पूर्नविचार आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्रीले बीआरआईको वित्तिय मोडलको मसिनो छलफल आवश्यक रहेको र केही नीतिमा पुनर्विचार गर्न आफुले चीनलाई सुझाव दिएको पनि बताए ।

परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने पनि प्रधानमन्त्रीको भनाई थियो ।

बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आइतबार काठमाडौंको याक एण्ड यतीमा ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयमा आयोजना गरेको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन् ।

नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको प्रधानमन्त्रीको भनाई थियो ।

उनले बीआरआई परियोजना कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत समस्या हटाउन नेपाल सरकारले पहल गर्ने समेत बताए ।

आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर बीआरआईमा एमओयू गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले तेस्रोपटक प्रधानमन्त्री भएको बेला त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आएको बताए । ‘यो मेरो लागि खुसीको कुरा हो, गर्वको कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीको सम्वोधनको पूर्ण पाठ

र्वप्रथमतः बिआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल शीर्षकको सेमिनारमा आमन्त्रण गर्नुभई आफ्ना विचारहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

यस कार्यक्रमले हाम्रो छिमेकी एवं असल मित्र चीनका महामहिम राष्ट्रपति सी चीनफिङले सन् २०१३ मा अघि सारेको विभिन्न भूगोल, संस्कृति र सभ्यताबीच सम्पर्क सञ्जालको विस्तार गरी लाभ–लाभको सिद्धान्तमा आधारित समावेशी विकासको बृहत अवधारणा ९बिआरआइ० का बहुआयमिक पक्षबारे सही जानकारी सम्प्रेषण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा मैले गरेको छु । नेपाल र चीनबीच हिमाल छिचोल्ने बहुआयमिक सम्पर्क सञ्जालको बिस्तारबाट साझा चासोको सम्बोधन गर्ने र साझा समृद्धि हासिल गर्ने हाम्रा साझा प्रयत्नबारे बुझ्न, उपर्युक्त उद्देश्य हासिल गर्नका लागि दुबै मुलुकका सरकार र जनताबीच सहकार्यलाई प्रवर्धन गर्न तथा द्धिपक्षीय हित र चासोलाई सम्बोधन गर्ने दुबैतर्फका सम्भावना, प्राथमिकताहरू, भूमिका र अपेक्षित उपलब्धीका बारेमा पनि यस कार्यक्रमको निष्कर्ष दुबै सरकार र नीजि क्षेत्रका लागिसमेत एक महत्वपूर्ण सन्दर्भसामग्री हुने विश्वास लिएको छु ।

मैले हालै मात्र मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी नेपाल फर्किएको यहाँहरूलाई बिदितै छ । भ्रमणका क्रममा महामहिम राष्ट्रपति सी चीनफिङ, प्रधानमन्त्री लि छ्याङ्गसँग दुईपक्षीय हित तथा चासोका सबै विषयमा वार्ता, छलफल र कुराकानी भएका छन् । मेरो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् । यस भ्रमणले नेपाल तथा चीनबीच उच्च राजनीतिक तहमा थप सुदृढ समझदारी विकास गर्न र यस क्षेत्रमै शान्ति, स्थायित्व तथा साझा समृद्धि हासिल गर्न सघाउ पुग्नेमा म विश्वस्त छु । ती सबै सम्झौता र भ्रमणको नतिजा कार्यान्वयन चरणमा गएपछि प्रत्यक्ष अनुभूति हुनेगरि देखिनेछन् । अहिलेको भ्रमणले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा लैजान मद्दत गरेको छ भनेर मैले भ्रमण सम्पन्न गरेर फर्कदाको समयमा बताएको कुरासमेत यहाँ स्मरण गर्न चाहन्छु ।

यो भ्रमणबाट नेपालको निजी क्षेत्रसँग चिनियाँ पक्षको सहकार्य थप घनिभूत हुनेछ भने थप लगानी भित्राउन मद्दत गर्नेछ । साथै, तुलनात्मक लाभका क्षेत्रमा लगानी तथा प्रविधि विस्तार गरी दुबै मुलुकका जनताले बढीभन्दा बढी प्रतिफल प्राप्त गर्नेगरि चिनियाँ लगानीकर्तासँग सहकार्य गर्न नेपालको निजी क्षेत्रलाई सघाउन सरकार प्रतिबद्ध रहेको कुरा पनि म स्पष्ट गर्दछु ।

महामहिम राष्ट्रपति सी चीनफिङ सन् २०१३ मा चीनको केन्द्रीय नेत्तृवमा आइसकेपछि गरिबी निवारण, अनुसन्धान र विकास ९आर एण्ड डी०, प्रविधि र अन्य क्षेत्रमा चीनले जुन परिमाणमा फड्को मारेको छ त्यो विश्व इतिहासका लागिसमेत शिक्षाप्रद र नमुनायोग्य छ । विश्वकै लागि अनुकरणीय छिमेकी र असल मित्र राष्ट्र चीनको यो अभूतपूर्व विकास नेपालका लागि ठूलो शिक्षा र अवसर दुबै हो । नेपाल चीनको यो द्रूततर विकास, गरीवी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा ९बिआरआइ० बाट पूरा लाभान्वित हुन चाहन्छ ।

हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन । विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो छ । बिआरआई नेपालका लागि त्यस्तो महत्वपूर्ण स्रोत हुन सक्छ । विगत १० वर्षमा बिआरआईमार्फत मात्र १००० अर्व अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सावजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन सकेन । अब हामी छिटै कार्ययोजना बनाएर समयवद्ध कार्यतालिकाअनुरूप दुबैतर्फका र साझा संयन्त्रहरूलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेछ ।

मैले चिनियाँ नेता, प्राज्ञिक समुदाय र व्यावसायिक समुदायलाई पनि स्पष्ट भनेको छु– नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम नेपाल सरकारले गर्नेछ, चिनिया पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, साँस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोस् । हामीबीच जीत–जीतको समबन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवर्धन गर्न सकिने ठूलो सम्भावना छ । त्यो सम्भावनालाई पूराका पूरा अवसरमा बदलौँ ।

विगतमा म आफै सरकारको नेत्तृवमा रहँदा र महामहिम राष्ट्रपति सी चीनफिङको २०१९ मा भएको ऐतिहासिक भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धीलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ । अब बिआरआई परियोजना मनोकामनाको सूची ९धष्कज(ष्कित० नभई कार्यान्वयनयोग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने छौं । यो नेपाल सरकारको स्पष्ट धारणा पनि हो ।

यस बीचमा बिआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रश्नहरू यदाकदा सुनिने गरेका छन् । यसका लागि कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन् । तर नेपाल बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ । नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने महामहिम राष्ट्रपति सी चीनफिङको भनाइप्रति मेरो पूर्ण सहमति छ, जुन कुरा मैले केही दशकदेखि दृढतापूर्वक भन्दै पनि आएको छु । अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ । तसर्थ, यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्नेछौं । चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ ।

नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको छ । हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौँ । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन । यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याएको मूल्यवान सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण छ । हामी त्यसै उद्देश्य प्राप्तिमा निरन्तर लाग्नेछौँ ।

यस कार्यक्रममा पनि यी विषयहरूको गहन छलफल र प्राज्ञिक तथा प्रबुद्ध व्यक्तिहरूबाट विषयको सही उठान हुनेछ, नेपाल–चीन सम्बन्धका बृहत्तर हितका विषयमा आपसी सहकार्यमा केन्द्रित हुनेछ भन्ने मैले अपेक्षासहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताएका छन् । सोमवार सङ्घीय

राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले राज्यबाट सेवा सुविधा…

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकहरूले राज्यबाट सेवा सुविधा पाउने बताएका छन्

५ नक्कली कम्पनी खडा गरेर ३२ क्विन्टल सुन तस्करी: सीआईबी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी गर्ने समूहले नक्कली कम्पनी खडा गरेर झण्डै ३२ क्विन्टल सुन

दाङमा आमा साक्षरता अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिका–९ की हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास

युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा सरकारको एक जना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ ।   सोमबार

Techie IT