Techie IT
२०८१ फागुन ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालगन्ज सहरः टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

नेपालगन्ज सहरः टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो


जानकी । “पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि घाँस बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन् । उनले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ ।

उनी भन्छिन् “श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै काँधमा आएको छ । श्रीमान् बिरामी नहुँदा उहाँले पनि मजदुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो । उनी बिरामी भएर थलिएदेखि उनको उपचार खर्चदेखि साँझ–बिहानको छाक टार्न मलाई धेरै नै मेहनत गर्नुपरेको छ ।”

गुड्डीलाई घाँस काट्नमा सघाउँछिन् उनकी १७ वर्षीया छोरी सोनी घँसियारले । तीन कक्षा पढ्दापढ्दै स्कुल जान छाडेकी सोनी आमासँगै नेपालगन्जका खाली चौरमा घाँस काट्न जान्छिन् । घाँस काटेर जीविकोपार्जन गर्ने गुड्डीको परिवार तेस्रो पुस्ताको परिवार हो ।

गुड्डीका अनुसार पहिला नेपालगन्जमा टाँगा चल्ने गथ्र्यो र घाँस पनि राम्रै बिक्री हुन्थ्यो । हिजोआज टाँगाको ठाउँमा अटोरिक्सा चल्ने भएकाले मान्छेले घोडा पाल्न छाड्दै गए र घाँस किन्ने पनि घट्दै गए । “पहिला–पहिला घोडाका लागि घाँस किन्ने हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन्”, उनले भनिन्, “घोडाले खाने आहार र बाख्राले खाने आहारमा धेरै फरक हुन्छ । आहार फरक भएपछि घाँस खरिदसँगै कमाइ पनि घट्नु स्वभाविक हो ।”

गुड्डीले जस्तै घाँस काटेर अनि बेचेर परिवारको जिम्मेवारी सम्हाल्दै आइरहेकी छन् मीना घँसियारले पनि । श्रीमान्को मृत्युपछि दुई सन्तानसँगै जीविकोपार्जन गर्न मीना पनि गुड्डीजस्तै नेपालगन्जका खाली ठाउँमा बोरा बोक्दै दिनभरि घाँस काट्न जानुहुन्छ । उहाँको पनि दिनभरिको घाँसबाट साँझ कमाइ भनेको त्यही सयदेखि डेढसय जतिको हुन्छ । “घाँस किन्न आउनेले हाम्रो न मेहनत बुझ्छन् न त हाम्रा बालबच्चामा दया–माया नै देखाउँछन्”, मलिन मुहार बनाउँदै उनी भन्छिन्, “हामीले रु बीस भनेको घाँसलाई किन्नेले रु पाँच भन्छन् । कसैले रु पाँच र त कसैले दश दिएर लैजान्छन् । साँझ परिसकेको हुन्छ । घरमा छोराछोरीलाई खाना पकाउने हतारोमा पाँच–दश रुपैयाँमा भए पनि बेच्न पर्ने हाम्रो बाध्यता छ ।”

वर्षाको समयमा भन्दा हिउँदको समयमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक दुईदेखि तीनसयसम्मको कमाइ हुने बताउँछिन् मीना । घाँसबाट कमाएको पैसाले घरपरिवार चलाएर मीनाले रु डेढ लाख बचत गरेको जानकारी दिइन् । मीनालाई डेढ लाख बचत गर्न २० वर्ष लागेको बताइन् । “छोरीको विवाहका लागि भनेर मैले २० वर्षदेखि घर खर्चबाट पैसा जोगाएर सहकारीमा रु डेढ लाख बचत गरेको थिएँ । तर त्यो सहकारी नै भागेपछि मेरो वर्र्षौँदेखिको कमाइ खेर गयो । मैले छोरीको विवाह गर्न सकिरहेको छैन”, उनले दुःखी हुँदै भनिन् ।

मीना र गुड्डीको भन्दा फरक छैन परेमपति घसियारको व्यथा पनि । ४० वर्षको उमेरमा हजुरआमा बनिसक्नु भएकी परेमपतिको चार पुस्ता नै घाँसको भरमा बाँच्दै आइरहेको छ । श्रीमान् र छोराले मजदुरी गरे पनि काम नपाउँदा उहाँहरूबाट कमाइ नहुने परेमपतिको भनाइ छ । हिउँदको चर्को घाम होस् या वर्षामासको झरी घाँस काट्ने काम भने निरन्तर हुने भएकाले मजदुरीजस्तो अभाव नहुने उनको भनाइ छ । “मजदुरी त पाइए गर्ने हो नपाइए घरमै बस्ने हो तर घाँस काट्न त बाह्रैमास पाइन्छ । त्यसैले हाम्रो घरको चुल्हा यही घाँसबाट कमाइएको पैसाले नै बल्ने गरेको छ”, परेमपतिको कमाई पनि यो सिजनमा सयदेखि डेढ सयसम्म मात्रै हुने गर्छ ।

सत्ताइस घरधुरी भएको उक्त घसियार टोलको एउटा घरमा तीनजना देखि १४ जनासम्मको परिवार सदस्य रहेका छन् । घाँस काट्ने र बेच्ने जति सबै महिला नै हुन्छन् । साँझपख टोल नजिकै रहेको खाली ठाउँमा आ–आफूले काटेको घाँसको थुप्रो लगाएर महिलामात्रै घाँस बेच्ने गर्छिन् । उनीहरूले बेच्ने घाँसको निश्चित मूल्य नै छैन । यसले जतिमा बेच्न सक्यो, त्यति नै त्यहाँ घाँसको मूल्य बनेको हुन्छ ।

घाँस बिक्रीका लागि स्थानीय सरकारले निश्चित मूल्य तोकिदिए आफूहरूको आर्थिक अवस्था थोरै भए पनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षीय सुरेश घँसियार बताउँछिन् । उनी भन्छिन्, “दिनभरि घामपानी केही नभनी दुःख गरेर आमा–बहिनीले काटेको घाँस साँझ जम्मा रु पाँचमा बेच्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले नै घाँसको मूल्य निर्धारण गरिदिए किन्ने र बेच्ने दुवैले पैसामा बार्गेनिङ नै गर्नुपर्दैनथ्यो नि ।”

नेपालगन्जको मुटुका रूपमा चिनिने त्रिभुवनचोक नजिकै रहेको घँसियार जातिको तीन–चार पुस्ता घाँसकै भरमा बाँच्दै आएको नगरका पूर्वउपप्रमुख तथा टोलका स्थानीयवासी शमशुद्धिन सिद्धीकी बताउँछन् । उनका अनुसार पुस्तौँ पुस्तादेखि घाँसकै भरमा बाँच्दै आएका घँसियारको आर्थिक अवस्था उहाँहरूको पहिलो पुस्ताको जस्तो थियो आज तेस्रो÷चौथो पुस्तासम्म आइपुग्दा पनि उस्तै छ । “हामी नजन्मिदैका कुरा हाम्रो बाजेबज्यैले सुनाउनुहुन्थ्यो पहिला–पहिला पाँच–दश पैसामा घाँस बिक्री गर्थे रे । आज जम्मा रु पाँच–दशमा बिक्री गर्ने गर्छन् । के फरक भएको भन्ने त ?”

उनले घँसियारको जीवनलाई परिवर्तन गर्न नसकेको आफू दुःखी भएको बताउँदै उपमहानगरभित्र रहेको उक्त घँसियारन टोलका समुदाय वर्षौँदेखि विपन्नतामा बाँचिरहेको बताए । “टोलमै हाइस्कुल पढेका मान्छे छैनन् । हातमा सीप छैन । व्यवसाय गर्न लगानी छैन । केही नभएपछि घाँस काटेर जीविका चलाइरहेका छन् ।” उनले भने, “उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम विभिन्न सम्बन्धित निकायले ल्याइदिने हो भने घसियारका छोराछोरीको भविष्य उज्जवल हुने थियो ।”

वडाध्यक्ष रसनिश बाजपाइले अझै पनि यो समुदाय चेतनाको हिसाबले पछाडि परेको बताए । “शौचालय मर्मतदेखि अन्य योजना बनाउने योजनामा छौँ”, उनले भने, “आगामी दिनमा प्याकेज कार्यक्रम ल्याएर उनीहरूका लागि काम गर्ने योजना बनाएका छौँ । घाँसको मूल्य निर्धारण पनि चाँडै गर्नेछौँ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT