Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपातले छाँगोको व्यवस्थापनमा पाेखरा महानगरको चासो

पातले छाँगोको व्यवस्थापनमा पाेखरा महानगरको चासो


कास्की । पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् ।

पोखरा–१७ मा अवस्थित पातले छाँगो पर्यटकका लागि पर्यटकीय गन्तव्य मात्रै भए पनि यो त्यतिमा मात्रै सीमित छैन । पर्यटकबाट हुने मुख्य आम्दानी यसको संरक्षण र विकासका साथै छोरेपाटन माध्यमिक विद्यालय सञ्चालनमा खर्च हुने गरेको छ ।

पातले छाँगाको कुल आम्दानीमध्ये ४० प्रतिशत व्यवस्थापनका लागि खर्च हुने गरेको छ भने बाँकी ६० प्रतिशत विद्यालयका शिक्षकको तलब, शैक्षिक तथा भौतिक विकासका लागि खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

पातले छाँगामा प्रवेश शुल्कबाट हाल मासिक रु २५ लाख विद्यालयमा निजी स्रोतबाट नियुक्त भएका शिक्षक र कर्मचारीमा खर्च हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालका अनुसार एक सय १२ शिक्षक तथा कर्मचारी रहेको विद्यालयमा ३० जना शिक्षक मात्रै सरकारी दरबन्दीका छन् । बाँकी सबै ७० शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राखिएको छ । जसको खर्च पातले छाँगाको आम्दानीबाट हुँदै आएको छ ।

भुसालका अनुसार पातले छाँगामा प्रवेश शुल्कवापत वार्षिक रु तीन करोडभन्दा बढी सङ्कलन हुन्छ भने सटर भाडावापत वार्षिक रु एक करोड ५० लाख आम्दानी हुने गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाएपछि बचत भएको रकम छाँगाको संरक्षण तथा सम्बद्र्धनका लागि विकासमा खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

विसं २०३५ देखि उक्त सामुदायिक विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको छ । “विद्यालयमा दुई हजार तीन सयभन्दा वढी विद्यार्थी अध्ययनरत छन्”, अध्यक्ष पहारीले भने, “जसमध्ये उच्च माविमा करिब पाँच सय विद्यार्थी छन् ।” यहाँ कक्षा १ देखि ८ सम्म निःशुल्क अध्यापन हुन्छ भने कक्षा ९ र १० का लागि मासिक रु एक सय लिने गरिएको अध्यक्ष पहारीले जानकारी दिए ।

गएको ४० वर्षदेखि यसैगरी विद्यालयको व्यवस्थापनमा सघाउँदै आएको पातले छाँगाको आम्दानीमा अहिले आएर पोखरा महानरपालिकाको आँखा लागेको छ । “महानगरले आफ्नो मातहतमा ल्याएर निजी क्षेत्रलाई पातले छाँगो ठेक्का दिने योजना बनाएकाले विद्यालय व्यवस्थापनलाई पातले छाँगाको व्यवस्थापन छाड्न दबाब दिँदै आएको छ”, अध्यक्ष पहारीले भने ।

कूल १२ रोपनी क्षेत्रफलमा फैलिएको यस पर्यटकीयस्थलमा आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकको अत्यधिक चाप हुने गरेको पातले छाँगोमा टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले बताए । उनका अनुसार असोज र कात्तिकमा पर्यटकको चाप बढी हुन्छ । यहाँ पर्यटकका लागि विद्यार्थीका लागि छुटसहित रु २०, नेपाली नागरिकका लागि रु ४०, भारतीयलाई रु ८० र तेस्रो मुलुकका नागरिकलाई एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

पोखरा –१७ छोरेपाटनस्थित पातले छाँगोले वर्षादको समयमा पर्यटकलाई झनै लोभ्याउने गर्छ । जमिनको सतहभन्दा तल अर्को पर्यटकीय स्थल गुप्तेश्वर गुफातर्फ झर्ने यो छाँगोलाई गुफाको भित्री भागबाट समेत देख्न सकिन्छ ।

हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो । पातले छाँगो र गुप्तेश्वर गुफा नजिकै पुम्दीमा शान्ति स्तुप र हालै ठूलो आकारको शिव मूर्ति निर्माणसँगै त्यस क्षेत्रमा पुग्ने पर्यटक पनि यहाँ आउने गरेका छन् ।

कोरोना महामारीपछि छाँगो अवलोकन गर्नेको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको जानकारी पातले छाँगो स्थित टिकट काउन्टरका कर्मचारी रेशम खड्काले दिए । यतिबेला छाँगो अवलोकन गर्न आउने नेपाली र भारतीय पर्यटक बढी हुने गरेको उनको भनाइ छ ।

डेभी नाम गरेकी एक स्वीस पर्यटक सन् १९६१ मा यस छाँगोबाट खसेर बेपत्ता भएपछि उनको नाममा यसको नाम ‘डेभिज फल्स’ रहन गएको हो । पाँच सय मिटर भूमिगत जल प्रवाह र एक सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ । विशेष गरी जेठदेखि असोज महिनासम्म छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरपरका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्रिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोषाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT