Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम


काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ ।

सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन् । बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो । छयात्तर किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ ।

कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ । साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन–चारपटक सडक अवरुद्ध हुन्छ । घन्टौँसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ ।

सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ । दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिराको जोखिममा परेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए । “जीर्ण र पहिराको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ”, उहाँले भन्नुभयो, “सामान्य अवस्था भए बेनीबाट चार घन्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ ।”

म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए । “यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ”, उनले भने । विसं २०७४ असारमा चारवटा प्याकेज (भाग)मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले रु दुई अर्ब ५० करोडमा ठेक्का लिएका थिए ।

गत शुक्रबारदेखि बेनी–जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ । म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन् ।

यसैगरी बेनी–दरबाङ सडकखण्डको अवस्था पनि अत्यन्त दयनीय छ । सडकको ट्रयाक खुलेको १८ वर्ष बितिसक्दा पनि पहिराको समस्या समाधान हुनसकेको छैन । विसं २०६२ मा ट्रयाक खुल्नुअघिको पहिराको समस्या रहेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको सडकखण्ड अहिले सबैभन्दा बढी जोखिमयुक्त बनेको छ ।

पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको यो सडकखण्डका सवारी चालक वीरबहादुर विकले बताए ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उनले भने, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको दीर्घरोगजस्तो भएको छ ।” उहाँका अनुसार पहिराबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिराले पनि बेलाबेलामा दु:ख दिने गरेको स्थानीयले बताउँछन् ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ”, उनले भने, “ठस्लो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT