Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाँदर आतङ्कले किसान हैरानी: कुरुवा बस्दै बित्छ दिन

बाँदर आतङ्कले किसान हैरानी: कुरुवा बस्दै बित्छ दिन


गलकोट । बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन् । जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ । यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् ।

उनीहरु यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन् । एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन् । यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नुपर्ने बाध्यतामा उनीहरू छन् । जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतङ्क मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन् । हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको पाइन्छन् । तर बाँदर नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसान निराश छन् ।

सयौँको सङ्ख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताए । असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको जनाउँदै उहाँले अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने बताए । बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

“पहिले–पहिले बाँदर कम लाग्थ्यो, अहिले निकै ठूलो सङ्ख्या आउँछन्, दुई–तीन सयको सङ्ख्यामा आउने बाँदरले सिङ्गो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ, त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ”, उनले भने, “के गर्ने बल्लतल्ल दु:ख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरि भोकै बस्नुपर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रु नै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो ।”

कतिपय किसानले बाँदरलाई डराउन दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको डमी बनाएर राखेको देखिन्छन् । पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको निसीखोलाका किसान निमबहादुर घर्तीले बताए । उनले घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको बताउनुभयो । बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दु:खेसो पोखे । बाँदरले हैरानी बनाएपछि गाउँका खेतीयोग्य जमिनमा बाली लगाउन छाडिएको उनको भनाइ छ ।

घर्तीले भने, “बाँदर नियन्त्रण गर्न धेरै कोसिस गरियो, धेरै उपाय पनि अपनाइयो तर सकिएन, दिनभरि कुरुवा नबसेसम्म बाली जोगिन्न, पहिले–पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ, मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छाडे, हामी सानो–सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो, अहिलेजस्तो बाँदर आतङ्क पनि थिएन, राम्रो उत्पादन हुन्थ्यो, अहिले घर अगाडिकै बारीमा आएर बाँदरले बाली खाइदिन्छ, त्यही भएर पनि मान्छेहरू बसाइँ सरे ।”

बाँदर नियन्त्रणका लागि निसीखोला गाउँपालिका–४ ले अघिल्लो वर्ष रु साढे चार लाख छुट्याएर काम गरेको थियो तर प्रभावकारी भने हुनसकेको थिएन । यस वर्ष नयाँ प्रविधिको प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको वडाध्यक्ष टीकानिधि पौडेलले बताए । पछिल्लो समय लेक–लेकबाट मध्यगाउँमै बाँदर आउन थालेको उनको भनाइ छ । कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतङ्कबाट मुक्त बनाउनका लागि तीनवटै सरकारले सहकार्य गर्नुपर्ने अध्यक्ष पौडेल बताए ।

“बाँदर आतङ्क बढ्दै गएको छ, पहिले यस्तो समस्या हुँदैनथ्यो, बसाइँसराइको प्रभाव हो कि, के हो अहिले गाउँगाउँमै बाँदर बस्न थालेको छ, हामीहरूले यसको नियन्त्रणका लागि केही प्रयास गर्यौँ तर त्यत्ति प्रभावकारी भएन”, उनले भने, “अब अलि फरक तरिकाले लाग्नुपर्ने देखियो, बाँदर धपाउने बन्दुक पट्काउँदा सुरुमा डराउने गरेको पाइयो पछिपछि टेर्न छाड्यो भन्ने गुनासो सुनियो, अब यसको दीर्घकालीन समाधान के हो त्यसका लागि विज्ञसँग बुझ्ने र समधान गर्नतर्फ लाग्नुपर्ने भयो ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Techie IT