Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा


बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो ।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।

साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ ।

पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ ।

घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको छ ।

गौमूलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन् । विसं २०७७ मा पनि पालिकाको १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित बनेका थिए । सयौँ बिघा जमिनमा क्षति पुगेको थियो भने दर्जनौ पशु चौपाया मरेका थिए । त्यो बेला पनि पालिकाका तर्फबाट उद्धार सम्भव नभएपछि तत्कालीन सरकारका गृहमन्त्रीकै नेतृत्वमा टोली अवस्था अध्ययनका लागि बाजुरा आइपुगेको थियो ।

साविक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भूगर्भविद्ले सुझाव दिएका थिए । त्यही सिफारिसका आधारमा २०७२ सालमा एकीकृत बस्ती विकासको परीक्षणका लागि रु ७४ करोड रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन ।

बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोेखिममा छन् । उनीहरुले अहिले पनि पाँल टाँगेर बस्नुपर्ने, रातभर जागराम हुनुपर्ने बाध्य छन् । भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन् । जिल्ला प्रशासन कार्यालयले भने पनि पालिकास्तरीय तयारी पनि हुनुपर्ने र जिल्ला तहमा प्रशासनको पूर्वतयारी पनि गरिएको बताएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT