Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थबर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै


महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् ।

बर्खाको समय शुरु हुन केही महिना बाँकी छ तर यहाँ भने अहिलेदेखि नै गुइँठाको व्यवस्थापन गर्ने गरिनछ । हिउँदभरि सडक किनार र चरन क्षेत्रका चउर चाहर्दै गोबर सङ्कलन गर्नु यहाँका ग्रामीण महिलाको नियमित तालिका नै हो । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरन क्षेत्रबाट बटुलेर ल्याएको गोबरबाट खाना पकाउने दाउरा प्रयोजनका लागि ‘गुइँठा’ बनाउँछन् । हिउँदमा बनाइएका ‘गुइँठा’ वेशाख लागेपछि बर्खाकालका लागि सुरक्षित साथ राख्ने यहाँको चलन हो । हाल यहाँ सो कार्य भइरहेको छ ।

हिउँदमा गोबर पथारेर विभिन्न आकारका ‘गुइँठा’ बनाइन्छन् । यसबाट ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । घरका भित्तामा पथारेर सुकाइएर बनाइएका गोबरलाई ‘चिपरी’ भनिन्छन् । यसैगरी, गोबर पथारेर त्यसभित्र ससाना भिक्रा वा पराल राखी डोल्याएर सुकाइने ‘गोरहा’ र यी दुवैलाई दुवैलाई ‘गुइँठा’ भनिन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । नगर क्षेत्रका भित्री बस्ती पनि ‘गुइँठा’ को प्रयोग भइरहेकै छ । बर्खाकालमा खेतबारीका झिक्राझिक्री भिजेर नबल्ने हुँदा गृहिणी त्यस समयका लागि अहिलेदेखि नै ‘गुइँठा’ बनाएर राख्छन् । “खाना त पकाउनै पर्छ, बर्खामा दाउरा कहाँ खोज्नु ? त्यसैले अहिले नै यिनलाई जोगाएर राख्नु परेको हो”, भङ्गाहा नगरपालिका–४ रामनगरकी पानवती दनुवार भन्छिन्, “अहिले जोगाइएन भने झमझम पानी परेका बेला दुःख पाइन्छ ।”

‘गुइँठा’ बनाउन पैसा खर्च गर्नु नपर्ने र एकपटक सल्काएपछि आगो ननिभ्ने हुँदा खाना पकाउने प्रयोजनका लागि गृहिणीको रोजाइमा पर्ने गरेको छ । अझ गरिब बस्तीमा त ग्यासचुल्हा र काठका दाउराको जोहो गर्न नसक्ने हुँदा ‘गुइँठा’ अनिवार्य जस्तै छ । त्यसैले यी बस्तीका गृहिणी कात्तिकदेखि चैतसम्म गोबर सङ्कलन गरेर ‘चिपरी’ र ‘गोरहा’ पथार्ने र तिनलाई राम्ररी सुकाउने इन्तजाम गर्छन् । ‘चिपरी’ घरगोठका भित्ताभरि पथारिन्छन् । सुक्दै गएपछि एक ठाउँमा थुपारिन्छ । ‘गोरहा’ भने पथारेर घाम लाग्ने ठाउँमा चाङ लगाएर सुकाइन्छ । यसरी वैशाख लागेपछि सुकेका ‘चिपरी’ र ‘गोरहा’ गोठको एकछेउ वा सानो छाप्रो बनाएर थन्क्याइन्छ । असारदेखि असोजसम्म त्यसको प्रयोग हुन्छ ।

“खाने चामल, पीठो त बनिबुतोबाट पाइएला तर दाउराको धेरै समस्या पर्छ”, औरही नगरपालिका–७ भोइलटिम्कियाकी भुट्टी सदा मुसहर भन्छिन्, “त्यसैले अहिलेदेखि नै पराले झुप्रामै गुइँठा राख्नु परेको हो ।”

‘गुइँठा’ बर्सायाममा सहजताका लागि मात्रै होइन, यसमा पाकेका खानेकुरा स्वादिला हुने भएकाले पनि ग्रामीण बस्तीका साना किसान र कतिपय मध्यमवर्गीय परिवारको पनि रोजाइमा पर्ने गरेको छ । गौशाला–६ जमुनियाँकी रामपरी थारू इन्धनका लागि अन्य साधनको जोहो गर्न नसक्ने आर्थिक रूपमा विपन्नहरूका लागि गुइँठाले निकै राहत दिने गरेको बताउँछिन् ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य निरीक्षक सुरेश पासवान ‘गुइँठा’ मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको बताउँछन् । यद्यपि यसको धुवाँ खाना पकाउने गृहिणीको स्वास्थ्यमा अत्यन्त प्रतिकूल हुनेहुँदा विशेष सतर्कता भने आवश्यक रहेको उनको भनाइ छ । “खासगरी ग्रामीण महिलामा श्वासप्रश्वासको समस्या धेरैजसो भान्साघरको धुवाँबाटै हुने गरेको पाइन्छ । आर्थिक अवस्थाले वैकल्पिक इन्धनको जोहो गर्न नसक्नेहरूका लागि ‘गुइँठा’को प्रयोग अनिवार्य बाध्यता पनि हो । यसर्थ धेरै धुवाँ हुने गरी होइन, हावा ओहोरदोहोर हुने ठाउँमा खाना पकाउने र अन्य स्वास्थ्य सतर्कता अपनाउन जरूरी हुन्छ”, वरिष्ठ स्वास्थ्य निरीक्षक पासवानको सुझाव छ ।

महोत्तरीसहित मधेसका जिल्लामा धेरैजसो गोबर खाना पकाउने इन्धन प्रयोजनमा खपत हुने गरेको छ । यसले खेतीका लागि रासायनिक मलको निर्भरता बढाएको भङ्गाहा–४ रामनगरका ८० वर्षीय किसान दीपबहादुर फुयालको बुझाइ छ । “कम्पोष्ट मल बनाइने गोबर दाउरा बन्छ । कम्पोष्ट मल नभएपछि खेतबारी मलिलो हुन नसक्दा उत्पादन घट्दो छ । रासायनिक मलमा निर्भरता बढ्दो छ”, उनले भने ।

इन्धनमा गोबरको विकल्प खोज्नैपर्ने फुयालसहितका पाका किसानको मत छ । “कम्पोष्ट मलको अभावमा जग्गामा उत्पादन घट्दो छ । सरकारले किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वनउपज (दाउरा) मा पहुँच दिन आवश्यक पर्छ”, फुयालकै छिमेकी ८५ वर्षीय छविलाल दाहालले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT