Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्वार्ता‘संसद्ले देशलाई दिशानिर्देश गर्दै सुशासनका लागि शक्तिशाली सन्देश दिनुपर्छ’

‘संसद्ले देशलाई दिशानिर्देश गर्दै सुशासनका लागि शक्तिशाली सन्देश दिनुपर्छ’


पूर्व सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताएका छन् । उनले लोकतन्त्रको कुरा सबैले गर्दै आए पनि साँचो अर्थमा त्यसको स्थापित मूल्य, मान्यता र आदर्शप्रति कोही इमान्दार नदेखिएको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता सापकोटाले भने, ‘लोकतान्त्रिक आचरणमा देखिनुपर्नेमा त्यसमा कमी छ । विचार, व्यवहार र सिद्धान्तमा बहस हुनुपर्छ । सही, गलत, हुने वा नहुने भन्नेमै पनि विचित्र स्थिति छ । प्रियतावादको दबदबा छ ।’

माओवादी जनयुद्धमा भूमिगतरुपमा राजनीतिक फाँटको जिम्मेवारी सम्हाल्दै तत्कालीन वार्ता टोली सदस्यसमेत रहनुभएका सापकोटा विगतमा सञ्चार तथा सूचना प्रविधि र वन तथा वातावरणमन्त्री भई कार्य सम्पादन समेत गरे।

प्रस्तुत छ, कानुन निर्माण र समसामयिक विषयमा केन्द्रित रही माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासँग समसामयिक विषयमा केन्द्रित रही गरिएको कुराकानीको सम्पादित अंश :

अहिले मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईँले कसरी हेर्नुभएको छ ?
संसद्मा एउटै पार्टीको मात्र बहुमत छैन, त्यसको अनिवार्य परिणति भनेको गठबन्धन सरकार हो । समीकरण फेरिरहेको छ,तर यो जटिलताका बीचबाट पनि गठबन्धनको अभ्यास जारी छ । गठबन्धन संस्कृतिमा हामी धेरै अभ्यस्त छैनौँ । कतिपय राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबैलाई सन्तुलित ढङ्गले लैजान सक्नुपर्छ । कतिपय अवस्थामा पार्टीका स्वार्थ टकराउँदा अस्थिरजस्तो हुन्छ । अर्कातर्फ मुलुकमा अर्थतन्त्रको विषम जटिलताको चुनौतीबीच पनि सरकार ठिकै ढङ्गबाट अघि बढिरहेको छ ।

राजनीतिक दल र सांसदको मुख्य जिम्मेवारी विधि निर्माणमा कार्यसम्पादन कमजोर रह्यो भन्ने आरोपलाई कसरी लिनुहुन्छ ?
संसद्को मुख्य काम गुणात्मक विधि निर्माण हो । तत्कालीन परिस्थितिमा राष्ट्रले निर्धारण गरेको चेतनामा निर्भर रही कानुन तर्जुमा हुन्छ । त्यो आफैँ प्राप्त नभई निरन्तरको सचेत प्रयत्नबाट हुने विषय हो । अहिले संसद्ले प्रभावकारी काम गर्न सकेको छैन । संसद् जीवन्त, गतिशील, जनमुखी हुन सकेन ।

राजनीतिक परिवर्तनको सर्वाधिक महत्त्वपूर्ण उपलब्धि भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख राज्य व्यवस्थालाई लिनुपर्छ । संविधानमा लिपिबद्ध गरिएका विचारधारा, मान्यता र आदर्श स्थापित गर्न राजनीतिक दलभित्र लोकतान्त्रिक आचरण परिस्कृत हुनुपर्नेमा भएको छैन । त्यसको प्रभावका रूपमा कानुन निर्माणमा निकै ढिलो र कमजोरी भएको छ । सदनमा स्तरीय छलफल हुन सकेन । संसद् भनेको देशको आत्मा हो ।

संसद्ले देशलाई दिशानिर्देश गर्दै सुशासनका लागि शक्तिशाली सन्देश दिनुपर्छ । संसद्ले बहुआयामिक भूमिका खेल्नुपर्छ । अहिले सदनतिरको बहस हेर्दा आशा जगाउने र जनभावना समेट्ने खाले नभई प्रतिक्रियात्मक मात्र छ । सदनको हालको स्थितिलाई बदल्न प्रधानमन्त्री, सभामुख र प्रतिपक्षले यो थलोलाई जीवन्त र जनमुखी बनाउन भूमिका खेल्नुपर्छ ।

अहिले भइरहेको संसदीय प्रक्रियागत झन्झटिलो बहस र खर्चनु परेको समय लागतअनुरूप परिणाम दिन सकेन भनिएको छ, यसमा विगतका अनुभवका आधारमा टिप्पणी गर्नुहुन्छ ?
संविधान संशोधनका कुरा उठाइरहँदा पहिलो कुरा अभ्यास नै राम्रो भएको छैन । छलफलका निष्कर्षलाई कार्यान्वयन गर्न सकिने ढङ्गबाट सदनमा बहस हुनुपर्छ ।

त्यसमा अलि बढी ध्यान दिनुपर्छ । हाम्रा छलफल र बहस प्रक्रियामुखीभन्दा बढी नतिजामुखी हुनुपर्छ । त्यसका लागि सबै राजनीतिक दलबीच राष्ट्रिय मुद्दामा न्यूनतम् साझा धारणा र दृष्टिकोण हुनुपर्छ भन्ने लाग्छ ।

सभामुखजस्तो सम्माननीय पदमा पुगेर काम गरिसकेको व्यक्ति तपाईँ फेरि पार्टीमा फर्केर काम गर्न असजिलो भएको छैन ?
यो निकै महत्त्वपूर्ण प्रश्न छ, मैले यो प्रश्नमा धेरै गम्भीरतापूर्वक सोचविचार पनि गरेको थिएँ । फेरि पनि राष्ट्रलाई योगदान गर्न अलग भएर कि दलमै आबद्धता हुने भन्ने विषयमा दलभित्र भएको छलफल र बहसपछि यो निर्णयमा पुगेँ । हरेक मानिसका आफ्नै मानक हुन्छन् । मुलुकका तीनमध्ये एउटा अङ्गको नेतृत्व गरेँ । जीवन रहेसम्म त्यो प्राप्त अवसरका सम्मान गर्ने विषयमा राम्रै सोचेको छु । साझा दृष्टिकोण र वैचारिक विचारलाई प्रभावकारी बनाउन बेग्लै चिन्तन मनन गर्नेभन्दा दलमा रहेर बढी भूमिका हुन्छ भन्ने लाग्यो । मेरो विवेक र चेतनाले त्यो बाटोबाट राष्ट्रका लागि बढी योगदान दिन सकिन्छ भन्ने लागेको छ ।

हरेक दलमा जस्तै मेरै पार्टीमा पनि समस्या छ । पार्टीको आधिकारिक पोजिसनसहित छलफल गर्ने कुरा प्रभावकारी होला कि भनेर हो । सभामुख भएपछि फेरि निर्वाचनमा गइन । विगतमा पार्टीमा एउटा समूह राजकीय काममा जाने अर्को टोली दलमा काम गर्ने भन्ने थियो । त्यो छलफल त हराएकोजस्तो भएको छ । मैले एउटा दार्शनिकले भनेको कुरा सम्झिएँ–आफैँ नेता बनाउनेभन्दा अरूलाई नेता बनाउने ठूलो कुराका आधारमा एउटा प्रयोग गरेको हुँ । पार्टीलाई रूपान्तरण गर्न विचारको संश्लेषण आवश्यक छ । अहिले संसारभर नै विचारको बहस हराएर गएको छ । त्यो बहसलाई अघि बढाउन र ऊर्जा प्रवाह गर्दै प्रकाश दिलाउन पार्टीमा फर्केर काम गर्ने निर्णय गरेको हुँ ।

विगतमा मुलुककै ठूलो दल भइसकेको तथा राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको दलले फेरि पुरानै ढर्राका राजनीतिक अङ्क गणितमा लाग्नुपर्दा कस्तो अनुभूति हुन्छ ?
अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ । हाम्रो पार्टीले भर्खरै विधान सम्मेलन गर्‍यो । विशेष महाधिवेशनतर्फ जानुपर्छ भनेर बहस उठिरहेको छ । तपाईँकै भनाइअनुसार राष्ट्रिय राजनीतिमा सङ्ख्यात्मक हिसाबले पार्टीको नेतृत्वदायी भूमिका कमजोर देखिएको छ । विगतमा विचारको निकै माथिबाट संश्लेषण गरी महान् अग्रगामी छलाङ मारियो ।

हामीले २१औँ शताब्दीमा जनवादको विकास भनेका थियौँ, तर पछिल्ला दिनमा त्यसलाई निरन्तरता दिन सकेका छैनौँ । फेरि अब विचारको संश्लेषण अनिवार्य भएको छ । पार्टीले विचारको बहसलाई सघन र घनिभूत बनाउँदैछ । त्यो महान् बहसको प्रक्रियाबाट विशेष महाधिवेशनमार्फत विचारको संश्लेषणपछि फेरि पहलकदमी लिन सकिन्छ । राजनीति भनेको कहिले रसातलमा पुगेको जस्तो त कहिले दिग्विजय भएजस्तो हुन्छ । राजनीतिमा उतारचढाव, घुम्ती र मोड भइरहन्छ । २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत आएकामा अहिले ३२ सिट छ ।

फेरि जनताले उठाएको प्रश्नको एक–एक उत्तर दिँदै समयानुकूल वैचारिक, राजनीतिक, साङ्गठानिक, सांस्कृतिक पुनर्गठनका साथ विज्ञान र प्रविधिको प्रयोग र रूपान्तरण गर्दै अघि बढ्नुपर्छ । युवापुस्तालाई प्रशिक्षित र सङ्गठित गर्न सकियो भने अहिले भुत्तेजस्तो भएको चेतना प्रवाहमा चम्काउन सकिन्छ । फेरि आश्चर्य ढङ्गले पहलकदमी लिन सक्छौँ । अहिले जनतामा डगमगाउन खोजेको जनविश्वासलाई सबल र सुदृढ तुल्याएर अघि जान सकिन्छ, जानुपर्छ । देशको भूराजनीतिक स्थितिका आधारमा जसरी राजनीति अघि बढ्दैछ, निर्माण भइरहेको विश्व दृष्टिकोणका आधारमा राष्ट्रिय दृष्टिकोण बनाएर अघि बढेपछि जनतामा देखिएको चिन्ता र निराशा हटाउन सकिन्छ । अहिलेको उकुसमुकुसप्रति जनताबाट उठेको प्रश्नको हामीले उत्तर दिनपर्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
अहिले नयाँ पुस्तामा अतिरञ्जितरुपमा विदेश जाने महत्त्वाकाङ्क्षा बढाइदिएको छ । विदेशमा जोखिम काममा जाँदा मर्ने र मारिने कुरा शतप्रतिशत सुनिश्चित छ, तर उ नगई छाड्दिन भन्छ र जान्छ । किन त्यस्तो भइरहेको छ भन्दा अतिरञ्जित महत्त्वाकाङ्क्षा जगाइदिएको छ, समाजले । एकथरि रोजगारीका लागि जाने अर्को थरी सम्पूर्णरुपले सेवा सुविधा प्राप्त गरिरहेको पनि विदेश पलायन भइरहेको छ ।

अध्ययनका लागि विदेश गएका सीप सिकेर स्वदेश फर्कने वातावरण बनाउनुपर्छ । आकर्षण बढाउनुपर्छ । नेपाली बौद्धिक मस्तिष्क बाहिर खर्च भइरहेको छ, त्यसलाई देशमै प्रयोग गर्ने वातावरण बनाउनेमा सबै राजनीतिक दल तथा तह र तप्का लाग्नुपर्छ । देशप्रति चिन्ता र चिन्तन गर्न सबैलाई म अपिल गर्छु कि, सबै नेपालीलाई स्वदेशमै बस्ने वातावरण बनाउन लागि परौँ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानीकर्ताको लगानी नडुबोस् भन्नेमा हामी होसियार छौः अर्थमन्त्री पौडेल

काठमाडौँ । राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास

ताइवानमा जहाज डुब्दा ९ जनाको मृत्यु

एजेन्सी । ताइवानको दक्षिणी तटमा जेमी नामक ताइफुको चपेटामा पर्दा एउटा मालवहाक पानीजहाज डुबेको छ । ताइवानको पूर्वी तटसँग जेमी

‘सहभागिता हुँदैमा नेतृत्वदायी भूमिकामा आएको भन्न मिल्दैन’

राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री वर्षमान पुनले गत मंगलबार २०८१/८२ को बजेट भाषण गरे ।

‘वर्तमान समीकरण अलि बढी आयु लिएर आएको छ कि जस्तो…

काठमाडौँ । नेपालको वाम आन्दोलनका लामो समयदेखि सक्रिय एक शीर्ष नेताका रूपमा झलनाथ खनालको भूमिका रहँदै आएको छ । पूर्वप्रधानमन्त्री,

विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित: सिके राउत

जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त (सिके) सिके राउतले सामान्य नागरिक राष्ट्र प्रमुख बन्नसक्ने गणतान्त्रिक व्यवस्था विश्वकै लोकप्रिय

ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना

Techie IT