एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका छन् ।
सोमबार ह्वाइट हाउसमा भएको भेटवार्तामा नेतन्याहूले ट्रम्पसँग अमेरिकी व्यापार नीतिका विषयमा व्यक्तिगत रूपमा छलफल गरेका हुन् । यसरी अमेरिकी कर नीतिबाट मुक्तिका लागि अनुरोध गर्ने उनी पहिलो विदेशी नेता हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेटवार्तामा विशेष गरी इजरायल माथि लगाएको १७ प्रतिशत आयात कर घटाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । यसबीच अमेरिका र चीन दुवैले एक आपसमा ‘ट्यारिफ’को घोषणा गरेको तेस्रो दिनसम्म विश्वको शेयर बजारमा असर देखिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई थप चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले चीनले आफ्नो कुरामा अडिग रहेमा थप ५० प्रतिशत कर लगाउने चेतावनी दिएका हुन् । यो निर्णय लागू भएमा अमेरिका पुग्ने चीनको कुनै सामानको कर १०४ प्रतिशतसम्म हुनेछ । ३४ प्रतिशत महसुलको निर्णयबाट चीन पछि नहटेमा अमेरिकाले पनि थप घोषणा गर्ने समाचारमा उल्लेख छ ।
यसअघि अमेरिकाले मार्चमा २० प्रतिशत कर तथा गत साता थप ३४ प्रतिशत कर लगाउने निर्णय गरेको थियो । बेइजिङले भने चीनलाई दबाब दिनु र थर्काउनु मात्र सही नभएको बताएको छ ।