एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।
उनले आफू विरोधी र उग्रवादी भएको भन्दै भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेकाे बीबीसीले जानकारी दिएको छ ।
यो आदेशले करदाताहरू अब कट्टरपन्थी प्रचारलाई आर्थिक सहयोग गर्न जिम्मेवार छैनन् भन्ने कुरा सुनिश्चित गर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले भने आफूसँगै झण्डै एक हजार तीन सय कर्मचारीहरूलाई तलबी बिदामा राखिएको बताएका छन् ।
भ्वाइस अफ अमेरिका सन् १९४२ मा नाजी र जापानी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो । यसले रेडियो, टेलिभिजन, र अनलाइन प्लेटफर्महरू मार्फत धेरै भाषाहरूमा समाचार र कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।