Techie IT
२०८१ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहङ्गेरीका प्रधानमन्त्री ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध

हङ्गेरीका प्रधानमन्त्री ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध


एजेन्सी । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युक्रेनका लागि युरोपेली युनियन (इयु) को ५० अर्ब युरो सहयोगलाई रोकेका छन् । यद्यपि नेताहरू उनको विरोधलाई किनारा लगाउँदै किएभलाई इयु गठबन्धनमा समावेश गर्ने सम्बन्धमा छलफल सुरु गर्न सहमत भएका छन् ।

हङ्गेरीका अधिनायकवादी नेता ओर्बानले आगामी चार वर्षमा युक्रेन सरकारलाई वित्तीय सहयोग गर्न अस्वीकार गरेपछि ब्रसेल्समा सङ्कटपूर्ण शिखर सम्मेलन एक दिनको झगडापछि भङ्ग भयो । ओर्बानले सामाजिक सञ्जालमा लेखेका छन्, “नाइटसिफ्टको सारांशः युक्रेनलाई अतिरिक्त पैसाका लागि भिटो ।”

इयुका अन्य २६ नेता किएभलाई अत्यन्त आवश्यक समर्थनमा सम्झौतालाई अगाडि बढाउने प्रयास गर्न आगामी वर्षको सुरुमा नयाँ बैठकमा बहसमा फर्कन सहमत भएका छन् । “२६ देशसँग हामी सहमत छौँ, अहिले हङ्गेरीबाट कुनै सम्झौता भएको छैन तर म आगामी वर्षका लागि धेरै विश्वस्त छु”, डच प्रधानमन्त्री मार्क रुटेले भने ।

सदस्यता वार्ता सुरु गर्नका लागि सहमत हुने इयुको प्रतीकात्मक कदमलाई लिएर खुशीयाली मनाएको बेला वित्तीय सहयोगका लागि इयुमा रुसको सबैभन्दा असल मित्र तथा हङ्गेरीका राष्ट्रवादी नेता ओर्बानको अवरोधले किएभ र उसका समर्थकहरूलाई चोट पुर्‍याएको छ । अमेरिकाको सहयोगमाथि आशङ्का बढिरहेको बेला किएभले तत्काल उसका पश्चिमी सहयोगीहरूबाट सहयोग कम हुँदै गएको बताएको छ ।

ओर्बनले पनि छलफल सुरु गर्न विरोध गरेका थिए तर इुयुका अन्य नेतालाई आफूबिना सर्वसम्मतिले निर्णय लिन अनुमति दिन वार्ता कक्षबाट बाहिर निस्किन उनी सहमत भएका थिएनन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा अनुभवी नेताले ‘पूर्णरूपमा मूर्खतापूर्ण, तर्कहीन र गलत निर्णय’ को भर्त्सना गर्दै ‘अन्य २६ देशले उक्त निर्णय लिन आग्रह गरेको’ गुनासो गरे ।

एउटा महत्त्वपूर्ण क्षणका रूपमा माल्दोभासँग सम्मिलित वार्ता सुरु गर्न सहमति समावेश भएको कदमको अन्य युरोपली नेताहरूले स्वागत गरेका छन् । इस्टोनियाका प्रधानमन्त्री काजा कालासले लेख्नुभएको छ, “ऐतिहासिक दिन सबै अवरोधविरुद्ध हामीले निर्णय हासिल गर्यौँ ।”

अत्यन्त सन्तुलित शिखर सम्मेलनमा सहभागी नहुनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त निर्णयप्रति भने, “उत्प्रेरित, प्रेरणा र मजबुत बनाउने विजय ।” माल्दोभाका राष्ट्रपति माइया सान्डुले भने, “मेरो देशले इयुमा सम्मिलित वार्ताका लागि अगाडि बढेसँगै आज नयाँ पृष्ठ बदलेको छ, माल्दोभा चुनौतीको सामना गर्न तयार छ ।”

युक्रेनको समर्थनमा अमेरिकी रिपब्लिकनहरूको विरोधको सामना गरिरहेको ह्वाइट हाउसले ‘ऐतिहासिक निर्णय’ को स्वागत गरेको छ ।

किएभसँग सदस्यता वार्ता सुरु गर्ने सम्झौताको अर्थ युक्रेन चाँडै इयुमा सामेल हुनेछ भन्ने होइन । हङ्गेरीका प्रधानमन्त्री ओर्बानलाई प्रक्रियालाई पुनः रोक्ने पर्याप्त अवसर दिँदै वार्ता सुरु गर्नुअघि इयु राष्ट्रहरू वार्ता ढाँचामा सहमत हुनुपर्नेछ ।

धेरैजसो इयुका नेताहरूले यो साता शिखर सम्मेलनबाट रुसले युक्रेनमाथि चौतर्फी आक्रमण सुरु गरेको २२ महिनापछि युक्रेनलाई ऐक्यबद्धताको सङ्केत दिन चाहन्थे तर यसका लागि कुनै पनि निर्णय सर्वसम्मत हुनुपर्छ वा कम्तीमा पनि निर्विरोध हुनुपर्छ । ओर्बानले सुरुमै वित्तीय कोषमााथि निर्णय गर्नका लागि युरोपेली निर्वाचनसम्म प्रतीक्षा गर्न सकिनेमा जोड दिए

आलोचकहरूले हङ्गेरीका नेतामाथि कानुनी विवादका कारण रोक्का गरिएको इयु कोषको अर्बौं युरो जारी गर्न ब्रसेल्सलाई दबाब दिनका लागि किएभको अस्तित्वलाई बन्धक बनाएको आरोप लगाएका छन् । यसलाई केही मानिसले अन्तिम समयमा अनुदानका रूपमा हेरेका छन् । युरोपेली आयोग र इयुका कार्यकारीले बुधबार उक्त नगदको १० अर्ब युरो खोल्न सहमति व्यक्त गरेका छन् ।

अरु २१ अर्ब युरो अहिले पनि ओर्बानको नियन्त्रण बाहिर छ तर उनले हङ्गेरीले नगद र उसको युक्रेनप्रतिको अडानबीच सम्बन्ध बनाएको कुरालाई अस्वीकार गरे । उनले भने, “यो हाम्रो शैली होइन ।”

जेलेन्स्कीले भिडियो लिङ्कमार्फत भावपूर्ण बिन्तीमा पहिला नेताहरूसँग भन्नुभयो, “अब आधा उपाय वा हिचकिचाउने समय होइन ।” उनले युक्रेनसँग सदस्यता वार्ता सुरु गर्न असफल भए यसलाई ‘पुटिन (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) ले व्यक्तिगतरूपमा तपाईं र सम्पूर्ण युरोपविरुद्ध प्रयोग गर्नुहुनेछ’ भने । “उनलाई यो वर्षको पहिलो र एकमात्र विजय हुन नदिनुहोस्”, उनले भने ।

पहिला अमेरिकी कांग्रेसमा वासिङ्टनको समर्थन खतरामा देखेका इयुका अन्य नेताहरूले ओर्बानभन्दा फरक धारणा राख्दै एकताको आवश्यकता र युक्रेनलाई सहयोगको एउटा बलियो सङ्केत पठाउन जोड दिएका थिए । नेताहरूले रुसको आकर्षक हिराको निर्यातलाई लक्षित गर्दै र तेल मूल्यमा कडाइ गर्न मस्कोमाथि १२औँ चरणको प्रतिबन्धमा सहमति जनाए ।

यद्यपि युक्रेनको रणभूमिमा ग्रीष्मकालीन जवाफी हमलामा असफल भएपछि किएभका लागि आशाजनक देखिँदैन । पुटिनले बिहीबार युक्रेनमा उनको छ लाख १७ हजार सैनिक रहेको र रुसको स्थितिमा सुधार भइरहेको दाबी गरेका थिए ।

ब्रसेल्सस्थित नाटो मुख्यालयमा महासचिव जेन्स स्टोलटेनबर्गले युरोपको बाँकी भागको रक्षाका लागि पश्चिमले युक्रेनको समर्थनलाई जारी राख्नुपर्ने चेतावनी दिएका थिए । “ पुटिनले युक्रेनमा विजय हासिल गर्नुभयो भने उनको आक्रामकता त्यहीँ समाप्त हुनेछैन भन्ने वास्तविक जोखिम छ, हाम्रो समर्थन दान होइन–यो हाम्रो सुरक्षामा लगानी हो ।” रासस एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

एजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा

Techie IT