काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ चापागाईंलाई मंगलबार अर्थ मन्त्रालयमा राजश्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गरेका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो । यसअघि नेप्सेको सीईओमा सरकारले नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरे पनि नाममा विवादका कारण त्याे निर्णय सच्याएकाे थियाे ।
नेप्सेको सीईओका लागि आवेदन दिएका १० जनामध्ये झापाका चूडामणि चापागाईं, सर्लाहीका नारदकुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल संक्षिप्त सूचीमा परेका थिए ।
चापागाईंले यसअघि सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा लामो समय काम गरिसकेका छन् । गएको माघ २५ गतेयता नेप्सेको सीईओ पद रिक्त रहेको थियो ।