काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ४२ दशमलव ८८ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज विजय लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो तीन अर्ब ६ करोडको कारोबार भएकोमा आज तीन सय २० वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको समान १५ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।