काठमाडौँ । लगानी बोर्डले खर्बभन्दा बढीका २ जलविद्युत् आयोजनामा वैदेशिक लगानी खोज्ने भएको छ । विदेशी लगानीकर्तालाई आमन्त्रण गरिएको सम्मेलनमा ठूला जलाशययुक्त आयोजनामा लगानीको आह्वान गर्ने भएको हो ।
२०० मेगावाटमाथिका ४ वटा आयोजना सम्मेलनमा शोकेस गरिँदै छ । जसमा २ वटा जलाशययुक्त आयोजना खर्ब बढी लागत अनुमानका छन् । वैशाख १६ र १७ गते हुने सम्मेलनमा सबैभन्दा ठूलो खिम्ती ठोसे शिवालय आयोजना हुनेछ। लगानी सम्भाव्य यो आयोजना १२ सय १६ मेगावाटको छ ।
विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको आयोजनाको प्रारम्भिक लागत अनुमान २ खर्ब ३१ अर्ब रुपैयाँ छ । आयोजनालाई १७ सय मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। तर आयोजनाको क्षमता बढ्दा लागत समेत बढ्नेछ ।
रामेछाप र दोलखा छुट्याउने खिम्ती–ठोसे–शिवालयमा आयोजना बनाउने योजना छ । ठोसे शिवालयमा खिम्ती नदीमा ड्याम बनाएर विद्युत् उत्पादन गर्न सकिने अनुमान विभागको छ ।
यसो गर्दा देउराली भ्यालीमा जलाशययुक्त जलविद्युत निर्माण गर्न सकिने देखिएको छ। खिम्ती हिम नदी हो । खिम्ती–ठोसे आयोजना बन्दा गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित हुनेछ भने अहिले सञ्चालनमा रहेका आयोजना प्रभावित हुनसक्ने देखिएको छ ।
कालीगण्डकी जलाशययुक्त आयोजना
गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा ठूलो आयोजनाको रुपमा कालीगण्डकी जलाशययुक्त आयोजनालाई हेरिएको छ । हाल कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट विद्युत् उत्पादन गरिएको छ ।
अहिले अध्ययन भइरहेको कालीगण्डकी २ जलाशययुक्त आयोजना ६५० मेगावाट क्षमताको हुने लगानी बोर्डले उल्लेख गरेको छ ।
आयोजनाले सुरुमा ५०० मेगावाट उत्पादन गर्न सकिने अनुमान गरे पनि ६५० मेगावाटसम्मको बनाउन सकिने देखिएको छ । यसको अनुमानित लागत १ खर्ब ३३ अर्ब रुपैयाँ छ ।
विद्युत् विकास विभागले गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ, नवलपुर छन् भने लुम्बिनीको पाल्पामा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्नेछ ।
उक्त आयोजनाको लागि सम्भाव्यता तथा वातावरणीय प्रभाव अध्ययन टेक्नोक्वारी–बीम–एनईडीसीले गरिरहेको छ ।
कालीगण्डकी नदीको खाल्टेमा १५० मिटर उचाइको बाँध निर्माण गरी ३६० मिटर पूर्ण आपूर्ति सतह रहने गरी बाँधको फेदमै विद्युत् गृहबाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।
आयोजनाका मुख्य अवयवहरुमा जलाशय, बाँध, स्पीलवे, पेनस्टक पाइप, विद्युत् गृह तथा प्रसारणलाइन हुनेछन् ।
विभागका सूचना अधिकारी गोपी प्रसाद शाहले २ वटै आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन भइरहेको बताएका छन् ।
‘पूर्णरुपमा अध्ययन भइसकेका छैनन् तर परामर्शदाता छनोट भएर अध्ययनको चरणमा छन्’, शाहले भने, ‘लगानी सम्मेलनमा शोकेस गर्नको लागि प्रस्ताव गरेका छौँ ।’
खर्ब नजिकका नौमुरे र भारबुङ
करिब १ खर्बका अर्का २ वटा आयोजना छन् । नौमुरे बहुउद्देश्यीय आयोजना र भारबुङ जलाशययुक्त आयोजना छन् । २१८ मेगावाटको नौमुरेको लागत ९२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
नौमुरे बहुउद्देश्यीय आयोजना प्युठान र अर्घाखाँचीको सिमानामा पर्छ । प्युठानको झिमरुक र माण्डवी नदीको संगम स्थलनजिकै नौमुरे आयोजना छ। जलाशय निर्माण गरेर ¥याफ्टिङ, माछापालन, सिँचाइलगायतका आयोजना सञ्चालन गर्न सकिने बताइएको छ ।
भारबुङ जलाशययुक्त आयोजनाको ३७७ मेगावाटको आयोजनाको लागत अनुमान ८० अर्ब छ ।
डोल्पा जिल्लामा पर्ने कम्पनी सम्भाव्यता अध्ययन गर्न जर्मनीको फिस्टिन इन्जिनियरिङ, जापानको न्युजेक इन्का र नेपालको हाइड्रो कन्सल्ट इन्जिनियरिङले अध्ययन गरिरहेका छन् ।