काठमाडौँ। आज बिहीवार पनि शेयर बजार बढेको छ। हिजो बुधवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ५५ अङ्कले बढेर एक हजार नौ सय ९४ दशमलव ६० विन्दुमा पुगेको हो।
आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ।
आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन गुराँस लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ।
आज ९६ लाख ३७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १६ करोड रुपैयाँको शेयर किनबेच भयो।