Techie IT
२०८१ माघ १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थउत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परे

उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परे


म्याग्दी । म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको मालिका–२ रुमकी टेकसरा बूढाले बताए ।

म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । आलुको उत्पादन बढे पनि बिक्री हुन नसक्दा समस्या भएको किसानको गुनासो छ ।

विगतका वर्षहरुमा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । प्रतिकिलो रु ५० देखि रु एक सय सम्ममा कृषकले आलु बेच्ने गरेका थिए । व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्ने गर्दथे तर यस वर्ष भने प्रतिकिलो रु ३५ मा आलु दिँदा पनि बिक्री हुन नसकेको मङ्गला–४ का तीर्थबहादुर पुनले बताए ।

जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा–६, ७ र ८ र अन्नपूर्ण–५, ६, ७ र ८ नं वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको जानकारी दिए । “अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार सात सय ९३ मेट्रिक टन उत्पादन भएको थियो”, उनले भने, “क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो ।”

यस वर्ष धेरै उत्पादन भए पनि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको मालिका–४ देवी स्थानकी कृष बूढाले बताए । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको कृषक बूढाको भनाइ थियो ।

बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उनले बताए । “अहिले मालिका गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ”, उनले भने, “आलु खनेर बारीमा थुपारेका छौँ, वर्षाका कारण सडक अवरुद्ध हुँदा उत्पादन भएको आलु जिल्ला सदरमुकाम बेनी बजारसम्म पुर्याउन सकेका छैनौँ ।”

स्थानीय तहले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो । अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे र हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला र कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर र टोड्के, मालिकाको बिम र दिच्याम, धौलागिरिको गुर्जा र मरेनी तथा बेनीको भकिम्ली र डडुवा आलु उत्पादन हुने पकेट क्षेत्र हुन् ।

नागी राम्चेबाट वार्षिक रु दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ । जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको आलु निकासी हुने केन्द्रको तथ्याङ्क छ । कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा–८ कुइनेमङ्गले र मङ्गला–३, ४ र ५ मा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । मालिका–६ दिच्याम र ७ बिमलाई आलु बल्क कार्यक्रममा समावेश गरिएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय

Techie IT