काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनशील विषयमा खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्न चेतावनी दिएका हुन् ।
अझै पनि राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल रहेको भन्दै उनले आफूलाई किनारा लगाएर संविधान संशोधन हुन्छ ? भन्दै प्रश्नसमेत गरे ।
‘साथीहरुलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला । तपाईंहरुकै जस्तो तरिकाले पाउँछ जनताको स्वीकार्यता ?,’ उनले भने, ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’
कांग्रेस–एमाले स्थिरताका नाममा २०४७ सालको संविधानतिरै फर्कन खोजेको आरोप लगाए ।