काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति भएको छ ।
सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेशमा ४ बुँदे सहमति भएको हो । सहमतिसँगै अनुसूचीमा समस्याग्रस्त सहकारीको नाम पनि उल्लेख छ ।
कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा टीओआरमा जुटेको सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको मङ्गलबार बसेको बैठकले सोमबार दलबिच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्ष उन्मुख सहमतिलाई अनुमोदन गरेको छ । सदनमा भएका प्रमुख दलबिच समिति गठन गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र छानबिन गर्ने अवधिबारे समेत सहमति भएको कांग्रेस प्रमुख रमेश लेखकले जानकारी दिए ।