Techie IT
२०८१ असोज १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले


मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।
प्रजिअ लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।” चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।
चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए ।
पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।”
पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।
चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, “चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्ण रुपमा बन्द नभएको भुजेलले जानकारी दिए ।
पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उहाँले बताए । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउँछन् । आफूहरु घर कुर्ने र याकचौँरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, “चिसोमा माउ चौँरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने  मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् ।”
“लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ ।
जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहुँदैनाँं”, उनले भने, “लेकका खर्कबाट गाउँघर नजिक याकचौँरी ल्याइन्छ । नावर पनि याकचौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।”
यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबी

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा

स्कूल बसको ठक्कर बाट बालकको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्कर बाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर र ठुला सवारी सञ्चालनमा रोक

काठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था

परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

पूर्व राजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व

Techie IT