Techie IT
२०८१ चैत्र २६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीगाउँको तिहार सम्झिएर न्यास्रो मान्दै सहरिया

गाउँको तिहार सम्झिएर न्यास्रो मान्दै सहरिया


“आहै झिलीमिली झिलिझिली
के को झिलिमिली
आहै बत्तिको झिलिमिली
सिमल बारुलै सिमल बारुलै…”

गायक नवीनकुमार खड्का र पुस्तका खड्काका मात्रै होइन धेरै लोकप्रिय गायक र कलाकारका स्वरमा हरेक तिहारमा टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमा देउसी–भैलोका गीत गुञ्जिएका हुन्छन् । मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी–भैलोको परम्परा पछिल्लो समयमा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको देखिन्छ । तिहारको रौनकसँगै गाउँ–सहरमा भिलिमिली बत्तीको उज्यालो छाउँछ । घरका ढोका र आँगनदेखि ढोकासम्म सयपत्री र मखमली फूलका माला र रङ्गोलीले सजिएका हुन्छन् ।

पहिला पहिला गाउँघरको दैउसी–भैलीको रौनक बेग्लै हुन्थ्यो । राँको, टर्च लाइट, लालटिन वा मैनटोल बालेर कात्तिक कृष्णपक्षका रातमा परबाट देउसी–भैलीको टोली गाउँदै हिँडेका हुन्छन् । कुनै घर नजिकै पुग्न लागेपछि कुकुर भुक्न थाल्छ । घरका बा–आमाले आँखा तन्काउँदै हेर्छन् । ओहो, देउसी–भैलो टोली आएछ है भन्दै स्वागतको तयारीमा जुट्छन् । ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको, ए… औँशीको बारो गाईतिहारो भैलो’ गाउँदै विभिन्न भाकामा बूढाबुढी, बालबालिका र युवाहरु एकसाथ नाचगान गरेर जाने बेलामा घरधनीले खुसी मनले नाङ्लामा चामल, दियो बत्ती, सेल–रोटी, फलफूल, मिठाइ र दक्षिणा ठीक पार्छन् । देउसी भैलो खेल्नेले ‘ढुङ्गा छुँदा अन्न होओस्, यो घरमा सुनको छाना होओस्’ आदि भनेर आशिष पनि दिने गर्दछन् ।

नेपाली मौलिक संस्कृतिका रुपमा रहेको यो परम्परा पछिल्ला वर्षमा हराउनुमा सहरिया जीवनशैली, युवाहरुको विदेश पलायन, आर्थिक मन्दी, कोभिड–१९ पछिको अवस्था, समय समयमा आइपर्ने विपद्का घटना आदि कारण देखिएका छन् । देउसी–भैलो तिहारको मौलिक गहना हो । तिहार भन्नासाथ देउसी–भैलोको झझल्को हरेकलाई आउने गर्छ । समयक्रमसँगै सांस्कृतिक रहनसहनमा परिवर्तन आएकाले तिहारको रौनक क्रमिक रुपमा घट्दै गएको छ । यो वर्ष पनि तिहारको चहलपहल निकै घटेको छ । विगतका वर्षहरुमा गाउँघरदेखि सहरमा देउसी–भैलो खेल्ने हुलका हुल रातभर हिँड्थे । तिहारलाई थप उल्लासमय बनाउँथ्यो । तर, यसपटक तिहारमा विगतका वर्षमा जस्तो उल्लासमय देखिँदैन । त्यसो त विदेशमा रहने नेपालीले आफू बसेका ठाउँमा पनि चाडपर्व मनाएका हुन्छन् । उनीहरुले त्यहाँ नेपाल र नेपालीको संस्कृतिप्रतिको माया दर्शाउँदै नाचगान गरेका भिडियो सामाजिक सञ्जालमा देखिन्छन् ।

काठमाडौं उपत्यकालगायत मुख्य सहरदेखि भित्री गल्लीहरुमा पनि देउसी–भैलोको चहलपहल देखिँदैन । कतिपय घरटोलमा त बत्तीको झिलिमिली पनि छैन । अति व्यस्त बजार असन, नयाँसडक, वसन्तपुरतिर त्यत्ति चहलपहल छैन । वसन्तपुर क्षेत्रमा केही विदेशी पर्यटक घुमिरहेका भेटिए पनि बजारमा किनमेल खासै बढेको छैन ।पहिला पहिला खैंजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा नै हाम्रो संस्कृतिको वैभव हो । देउसी–भैलोबाट जम्मा भएको रकम विद्यार्थीको पठनपाठन, मठ, मन्दिर, चौतारी, पँधेरा, कुवा निर्माण तथा दीनदुःखीलाई दान दिने जस्ता सामाजिक पवित्र काम गरिने असल परम्परा पनि हुनेगर्दथ्यो ।

पश्चिमा संस्कृति र आधुनिक पप–सङ्गीतको प्रभावका कारण मौलिक संस्कृतिमा प्रतिकूल असर परेको संस्कृतिविद् एवम् पाका नागरिकको बुझाइ छ । संस्कृतिविद् जगमान गुरुङ मेमोरी कार्ड राखेर डिस्को बजाउँदै नाच्नेजस्ता विकृतिले मौलिक संस्कृतिलाई गाँज्दै गएको बताउँदै देउसी र भैलोको आदर्श र मर्यादा गुम्दै गएको जानकारी दिन्छन् । “राजनीतिक दलका भ्रातृृ सङ्गठन र संस्थाले राजनीतिक अभीष्ट र आर्थिक सङ्कलनको स्वार्थ राखेर देउसी भैलो खेल्न थालेका पनि देखिएको छ । सनातन कूलधर्म र परम्परालाई बजारमुखी बनाइएको छ । नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको मुहान सुक्न थालेको छ’’, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गुरुङले रासससँग भने, “गाउँघरमा द्वन्द्वकालदेखि नै मानिस विस्थापन हुँदै गए । सहरमा सहरिया जीवनशैलीले मानिसमा सामाजिकता हराउँदै गएको छ । संस्कृतिलाई संयमित बनाउने नाममा सरकार र स्थानीय तहले यति बजेसम्म खेल्न पाइने र नपाइने भनेर नियम बनाएको छ । यी सबैको मारमा देउसी भैलो पनि परेको छ ।’’

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ यमपञ्चकसहितको तिहारले काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइपूजा गरेर जनावर, प्रकृति र कृषिकर्मको पूजादेखि आपसी भ्रातृत्वको संरक्षण गर्ने बताउँछन् । यस्तो असल परम्परालाई जोगाउनु सबैको दायित्व भएको पुडासैनीको आग्रह छ । अर्का साहित्यकार सरिता अर्याल सामाजिक अपराधका घटनको डरले सहरमा रातिसम्म हिँडडुल गर्न असुरक्षा हुने गरेको र संस्कार–संस्कृतिमा कमी आएका कारण यस वर्ष देउसी भैलो खेल्नेहरु न्यून भएको बताउँछन् । भोजपुरको साल्पा सिलिछो गाउँपालिका–४ का ७० वर्षीय उद्धवबहादुर राई गाउँघरमा पनि पहिला पहिला जस्तो उल्लासमय तिहार नभएको बताउनुहुन्छ । “गाउँमा तन्नेरीहरु छैनन् । बूढाबुढीले खेल्न जानु पनि भएन । पहिलाको जस्तो मजा हुनै छाडेको छ ।’’

सङ्खुवासभा घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ६८ वर्षीय लालबहादुर बुढाथोकी आजभोलि देउसी खेल्ने र मनाउनेहरु धेरै कम देखिएको जनाउँदै साना साना बालबालिका अलिअलि देखिए, अरु देखिएनन् । युवा पुस्तामा धर्म–संस्कृतिप्रतिको विश्वास र लगाव कम भएर पनि उनीहरुको रुचि घटेको हुन सक्ने उनको भनाइ छ । प्यूठान घर भइ हाल भक्तपुर बस्दै आउनुभएका खुम केसीको अनुभवमा सरहको तिहार न्यास्रो भएको छ । कोभिडपछि धेरै व्यावसायी काठमाडौँ उपत्यकाबाट बाहिरएकाले पनि चलहपलहमा कमी आएको उहाँको भनाइ छ । पौराणिक मान्यताअनुसार दानवीर कहलिएका बलिराजालाई दमन गर्न वामनको रुपधारण गरेका भगवान विष्णुको सहारामा देवताहरु लागेका बेला तीन पाउ जमिन पाउँ भनेर माग्दा बलिराजाले त्यति जमिन दिने सङ्कल्प गरे । वामनको अवतार ठूलो हुँदै गएकाले उनको एउटा पाउले पृथ्वी र अर्को पाउले आकाश ढाक्न थाले ।

वामनको तेस्रो पाउ पर्नासाथ बलिराजा भासिएर पाताल पुगे । त्यसपछि राजाले विष्णुसँग वर्षमा एक पटक तिहारमा पृथ्वीलोक घुम्न पाउने वरदान लिए । तिनै बलीराजा पृथ्वीमा आउने भएपछि दीप प्रज्ज्वलनसहित देउसी भैलो खेल्ने गरिन्छ । सबै ठाउँमा बलिराजा जान नभ्याउने भएकाले देउसी र भैलो खेल्ने समूहले ‘हामी त्यसै आएनौँ, बलि राजाले पठाए’ भन्दै घरघरमा पुग्ने गरेका हुन् भनिएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा. का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय उनको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

Techie IT