Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछः सांसद पराजुली

जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछः सांसद पराजुली


काठमाडौँ । अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गरेका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउँछन् । विधायिकाको मुख्य भूमिका कानुन निर्माण गर्ने भए पनि जनताका गुनासा सुन्न देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुली आफूबाट जनताका मुद्दामा कच्चा निर्णय हुन नहुनेमा सचेत छन् ।

केही समयअघि पूर्वीपहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा र भोजपुरका नागरिकसँग साक्षात्कार गरेका उनले भने, “राजनीतिक दल र नेताबाट बाचाबाहेक खास अरु केही प्राप्त गर्न नसकेका आम जनतामा धेरै निराशा भएको पाएँ । कतिपय ठाउँमा त नेताहरू आउँछन्, जान्छन् भन्दै हामीलाई नै व्यङ्ग्य गरेको पाएँ ।”

सांसद पराजुलीका अनुभवमा राजनीति, यसको नेतृत्व र राजनीतिक परिवेशप्रति आम नागरिकमा केही वितृष्णा बढेको छ । उनी भन्छन्“ आम नागरिकको अनुहारमा राजनीतिक दल र नेताप्रतिको अविश्वास प्रष्टै देखिन थालेको छ ।” यसलाई कम गर्न सांसद पराजुली सदनमार्फत सशक्त खबरदारीका लागि सम्बन्धित क्षेत्रका सांसदसँगको संवादको तयारीमा समेत छन् ।

“यतिबेला हाम्रो जिम्मेवारी आम नागरिकको आवाज सुन्ने र उहाँहरूको दैनिकीलाई कसरी सहज बनाउने भन्नेतर्फ काम गर्ने हो । जुनसुकै पार्टीका सांसद भए पनि उहाँहरूसँग सहकार्य गरी काम गर्ने हाम्रो योजना हो”, उनले भने । उनका अनुसार केही स्थानमा उनीहरूले काम सुरु पनि गरिसकेका छन् । “हाम्रो पार्टीले मात्रै यस्ता विषय उठाउँछ भन्ने सन्देश दिनुभन्दा पनि हामी सम्बन्धित क्षेत्रका सबै विधायिकासँग सकारात्मक छलफल गरेर समस्याको निराकरणका लागि बहुपक्षीय संवाद गरिरहेका छौँ”, उनले भने ।

नेता पराजुलीले आधारभूत सेवा सुविधाबाट बञ्चित ग्रामीण क्षेत्रका जनता स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूतिको आशामा रहेको बताए । त्यही आडमा राजनीतिक नेताले आश्वासन बाँड्दै आएकाले जनता विधायिकाको भूमिकाबारे प्रष्ट हुन नसकेको उनको बुझाइ छ ।

“आम नागरिकलाई विधायिकाको भूमिकाकाबारे बुझाइएकै रहेनछ”, सांसद पराजुलीले भने, “विधायिका को हो ? पालिका प्रमुख को हो ? मन्त्री को हो ? यी विषयमा चासो नराख्ने तर जसरी भए पनि आधारभूत आवश्यकता पूरा गर्दिनुपर्छ भन्ने सोच धेरैमा भएको पाएँ ।” त्यसो त सांसदले विधायिकाको भूमिकासँगै विकास निर्माणका काममा पनि सक्रिय हुनुपर्ने अवस्थाले आम नागरिकमा परेको छापलाई उहाँले स्वभाविकरूपमा लिएका छन् ।

विसं २०५४ मा प्रवेशिका परीक्षा (एसएलसी)उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाका लागि गृहजिल्ला खोटाङबाट काठमाडौँ आएका पराजुलीसँग तत्कालीन समयमा एउटामात्रै सङ्कल्प थियो, शिक्षक बन्ने र गाउँ फर्कने । तर काठमाडौँले पराजुलीलाई व्यवसायी बनायो । व्यवसायीबाट सांसद बन्नुभएका शिक्षकका रूपमा होइन, जनप्रतिनिधिका रूपमा गाउँ–गाउँ पुगेका छन् ।

उनी रेसाजन्य कच्चा पदार्थबाट तयारी सामग्री उत्पादन गर्ने र विश्वबजारमा निर्यात पेसामा आबद्ध थिए । विसं २०७९ देखि रास्वपाको संस्थापक केन्द्रीय सदस्यका रूपमा सक्रिय राजनीतिक यात्रा सुरु गरेका पराजुली काठमाडौँ जिल्ला क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनलाई त्यसअघिसम्म कहिल्यै राजनीतिमा आफ्नो भूमिका आवश्यक महसुस भएको थिएन ।

“पहिले राजनीतिमा व्यवसायी जोडिनु हुँदैन भन्ने सोच थियो । जो–जसले जिम्मेवारी लिनुभएको छ उहाँहरूले नै गर्नुहुन्छ भन्ने विश्वास र अपेक्षा थियो”, उनले भने, “ राजनीतिभित्रको विकृति, भ्रष्टाचारपछि अब नेताहरूलाई गाली गर्नेभन्दा पनि राजनीतिभित्रै पसेर यसको शुद्धीकरण गर्नुपर्छ भन्ने महसुस भयो ।”

संसदीय अभ्यासबारे राससले राखेको जिज्ञासामा सांसद पराजुलीले आफूसँगै रास्वपाका अन्य सांसदका लागि संसदीय अभ्यास पहिलोपटक भएको जनाउँदै धेरै सिक्न बाँकी रहेको बताउनुभयो । यद्यपि विधायिकाको भूमिका प्रभावकारी बनाउने हुटहुटीका बाबजुद कानुन निर्माणमा देखिएको सुस्तगतिले आफूहरू चिन्तित रहेको उनको भनाइ छ ।

“पछिल्लो आठ महिनामा हामीले धेरै अनुभव प्राप्त गर्यौँ तर त्यो पर्याप्त छैन, हामी अझै पनि सिक्ने, बुझ्ने र जान्ने प्रयासमै छौँ”, उनले भने, “पहिलो वर्षको दोस्रो अधिवेशन अन्त्य हुन लाग्दासम्म पनि विधेयकमा धेरै काम गर्न नसक्नु राम्रो अभ्यास होइन । यसले हामीलाई भित्रैदेखि पोलिरहेको छ ।”

उनले कानुन निर्माणमा भइरहेको ढिलाइमा सदनसँगै सरकार जिम्मेवार रहेको बताए । “सरकार र स्थापित राजनीतिक दल, जो बहुमत लिएर बसेका छन् उनीहरूले तदारुकता नदेखाएसम्म हाम्रो सुधारका चाहना र प्रयास सफल हुन नसक्ने रहेछ”, उनले भने ।

सांसद पराजुलीले सदनमा अनुभव महत्त्वपूर्ण भए पनि स्थापित राजनीतिक दलले जनताको मुद्दा प्राथमिकतामा नराखेको आरोपसमेत लगाए । उनले भने, “मुख्य राजनीतिक दलले आफ्नोे अस्तित्व बचाउने र आफ्ना पक्षका मान्छेलाई बचाउनेमै बढी ध्यान केन्द्रित गर्दा आम जनताका मुद्दा ओझेलमा परेका छन् ।”

संसदीय अभ्यासमा आफू र आफ्नो पार्टीलाई प्राप्त जनविश्वासले आफूहमा आत्मविश्वास बढेको उनको अनुभव छ । “देश र विदेशमा रहेका नागरिकले रास्वपाका सांसदको भूमिका सक्रिय रहेको बताउँछन् । सदनको प्रत्यक्ष प्रसारणबाट हामीलाई अवलोकन गरिरहनुभएकाले रास्वपाका सांसदको प्रस्तुतिले आशावादी भएको भन्नुहुन्छ । उहाँहरूको प्रतिक्रियाले हाम्रो आत्मविश्वास बढाएको छ ।”

मुलुकको अवस्था सुधारका लागि राजनीतिमा प्रवेश गरेको बताउनुहुने सांसद पराजुलीले फरक राजनीतिक दल र फरक विचारधारा भए पनि सुशासन, विकास, गरिबी निवारण, भ्रष्टाचार र बेथिति निवारणका लागि सबै पक्ष एकजुट हुनसके परिवर्तन सम्भव छ भन्नेमा पूर्णरूपमा विश्वस्त छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT