काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।
गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ०.७२ प्रतिशतले वृद्धि भएको छ । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ ।
यस्तै १ लाख ८२ हजार ९२६ जनाले एनजी ल्याएका छन् । नतिजाअनुसार सबैभन्दा बढी ‘नन ग्रेडिङ’ एनजी अंग्रेजी विषयमा आएको छ ।
वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।