काठमाडौँ । आमसञ्चारका नयाँनयाँ माध्यमको अभ्यास भइरहँदा अहिले पनि समाचार समितिको आवश्यकता र औचित्यमा कमी आएको छैन । समाचार समितिलाई थप व्यवस्थित गर्न सेवा विविधीकरणको खाँचो छ । विश्वका ८० प्रतिशतभन्दा बढी आमसञ्चारमाध्यम एपी, एएफपी, रोयटर्स, सिन्ह्वाजस्ता प्रमुख समाचार समितिबाट सम्प्रेषित समाचार सामग्रीमा निर्भर रहेको पाइन्छ ।
विश्वमा समाचार समिति सञ्चालनमा आएको करिब १२५ वर्षपछि नेपालमा यसको थालनी भएको हो । नेपालमा समाचार समितिको सुरुआत निजी क्षेत्रको पहलबाट भएको पाइन्छ । विसं २०१४ मा गठित प्रेस कमिसनको सुझावका आधारमा नेपालमा पत्रकारिताका विभिन्न संस्थागत संरचनाहरू स्थापना भएका छन् ।
देशमा राणाशासनको १०४ वर्षे अवधिमा निजी क्षेत्रबाट पत्रिका प्रकाशनको पहल त्यति प्रभावकारीरूपमा हुन सकिरहेको थिएन । यसको प्रमुख कारण त्यसवेलाको सरकार राज्य व्यवस्था थियो । विसं २००७ मा प्रजातन्त्र स्थापनासँगै निजी क्षेत्र पनि पत्रपत्रिका प्रकाशनका लागि निकै उत्साहित भए । देशमा पहिलोपटक प्रजातन्त्र प्राप्तिपछिको २०१७ सालसम्मका अवधिमा पहिलो दैनिक पत्रिकासहित १७० भन्दाबढी पत्रपत्रिका प्रकाशन भए । यी तथ्यका आधारमा मिडिया र प्रेस जगतको विकास गर्न लोकतान्त्रिक व्यवस्था अपरिहार्य हुने कुरा भन्न सकिन्छ । यही कारण राज्यले पनि ती पत्रिकाकाबारेमा केही बोल्नुपर्ने भयो र प्रेस कमिसन गठन भयो ।
कमिसनको प्रतिवेदनले नेपालमा निजी क्षेत्रबाट मात्र वा सरकारी क्षेत्रबाट मात्र संवाद समिति सञ्चालन गर्नु व्यावहारिक नहुने भएकाले अर्धसरकारी संस्थाका रूपमा एक निष्पक्ष, स्वायत्त र राष्ट्रव्यापी कार्यसञ्जाल भएको प्रभावकारी संवाद समिति स्थापना हुनु आवश्यक भएको सिफारिस गरेको थियो ।
प्रेस कमिसनको प्रतिवेदनका आधारमा २०१६ पुस १ मा नेपाल संवाद समिति (नेसस) स्थापना भयो । नेससले देशको पत्रकारिताको इतिहासमा पहिलो समाचार समितिका रूपमा चिनिने अवसर पायो । नेससका संस्थापकहरू गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धर थिए । उतिबेला श्रेष्ठ ‘द कमनर’ अङ्ग्रेजी दैनिक, शर्मा ‘स्वतन्त्र समाचार’ दैनिक, वियोगी ‘मातृभूमि’ र मानन्धर ‘जनता’ दैनिकका तर्फबाट नेपाल संवाद समितिमा आबद्ध हुनुभएको थियो ।
नेपाल संवाद समिति (नेसस) सञ्चालनमा आएको करिब पाँच महिनापछि २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति (ससस) स्थापना भएको थियो । निजी क्षेत्रकै पत्रकारहरू पशुपतिदेव पाण्डे (नयाँ समाज दैनिक), मणिन्द्रराज श्रेष्ठ (दि मदरल्यान्ड), शङ्करनाथ शर्मा (नेपाल समाचारपत्र) दैनिक आदिको सक्रियतामा सगरमाथा संवाद समिति स्थापना भएको थियो ।
त्यतिबेला आर्थिक दृष्टिबाट निकै कमजोर रहेका यी दुवै संवाद समितिलाई सहयोग गर्नुपर्ने आवाज राजनीतिक तवरबाट उठ्यो । यही कारण तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको सरकारले दुवै संवाद समितिलाई मासिक रु तीन सय का दरले सहयोग गरी समाचार किनिदिने निर्णय गरेको थियो ।
विसं २०१७ पुस १ गतेदेखि देशमा दलविहीन पञ्चायती व्यवस्था लागू भयो । राज्यका महत्त्वपूर्ण अङ्ग सरकारको प्रत्यक्ष निगरानी र नियन्त्रणमा राख्नुपर्छ भन्ने पञ्चायती राजनीतिक सोचको विकास भयो । यही सोचअनुरूप यी दुवै संवाद समितिलाई गाभेर सरकारी सञ्चारमाध्यमका रूपमा विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) स्थापना भएको हो । रासस स्थापना गर्दा नेससका तर्फबाट वियोगी, सससका तर्फबाट मणिन्द्रराज श्रेष्ठ र सरकारका तर्फबाट रामराज पौड्याललाई राखेर एउटा बोर्ड (रासस) बनाइयो । राससको २०१८ फागुन ७ गते राजधानीमा तत्कालीन राष्ट्रिय निर्देशनमन्त्री विश्वबन्धु थापाले उद्घाटन गर्नुभएको थियो ।
विसं २०१९ मङ्सिर २९ गते राष्ट्रिय संवाद समिति ऐन, २०१९ प्रकाशन भयो । यही ऐनअनुसार रासस अहिले सञ्चालन भइरहेको छ । राष्ट्रिय संवाद समिति स्थापना भएको १० वर्षपछि विसं २०२८ मा राष्ट्रिय संवाद समितिलाई राष्ट्रिय समाचार समिति ९रासस०का रूपमा नामकरण गरियो ।
प्रारम्भमा राससको समाचार बुलेटिन दिनमा एकपटक प्रकाशन हुन्थ्यो । केही वर्षपछि एकदिनमै पटक÷पटक प्रकाशन हुन थाल्यो । लामो समयसम्म दैनिक बिहान, मध्याह्न, अपराह्न, साँझ र राति पाँच पटक समाचार बुलेटिन वितरण भयो । विसं २०६३ कात्तिक १ गतेदेखि बिहान ६ः३० देखि राति १०ः३० बजेसम्म प्रत्येक घण्टामा दिनको १७ पटक बुलेटिन वितरण हुन थालेको थियो । समाचार बुलेटिनहरू पहिले टाइपराइटरबाट स्टेनसिलमा टाइप गरी लिथो मेसिनबाट मुद्रण गरेर आफ्ना ग्राहकलाई वितरण गरिन्थ्यो । लिथो मुद्रण प्रविधिबाट रासस केन्द्रीय कार्यालय काठमाडौँ, पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराबाट समाचार बुलेटिन प्रकाशन हुन्थ्यो । ती बुलेटिनका समाचार टेलेक्स प्रविधि र आकाशवाणीमार्फत राससको केन्द्रीय कार्यालयलाई उपलब्ध गराइन्थ्यो ।
लामो समयदेखि यही पद्धतिबाट समाचार सेवा प्रदान गर्दै आएको राससले २०५२ सालदेखि कम्प्युटर प्रविधिमा प्रवेश ग¥यो । कम्प्युटर प्रविधि सुरु भएपछि टाइप गरी लिथोबाट बुलेटिन प्रकाशन गरेर साइकल चढी वितरण गर्ने परिपाटी बन्द भयो । आफ्ना ग्राहकहरूलाई कम्प्युटरको ‘डायल अप’ प्रविधिबाट समाचार बुलेटिन उपलब्ध गराउन थल्यो । हाल राससले छुट्टै अनलाइन वेबसाइट बनाएर आफ्ना सेवाग्राहीलाई ‘युजर आइडी’ र ‘पासवर्ड’ दिई अनलाइन सेवा दिइरहेको छ ।
नेपाली भाषामा मात्रै समाचार बुलेटिन प्रकाशन गरेर सुरुआत भएको राससले २०२० फागुन १८ देखि अङ्ग्रेजीमा समाचार बुलेटिन प्रकाशन गर्न थाल्यो । राससले आलेख समाचारका सुरुआत २०५५ वैशाखदेखि गरेको हो । आर्थिक, सामाजिक, स्वास्थ्य, पर्यटन, वातावरण आदि विभिन्न विषयमा आलेख समाचार तयार गरिंदै आएको छ ।
विस २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्वपछि भएको बृहत शान्ति सम्झौताले नेपाल एउटा नयाँ राजनीतिक परिवर्तन ल्यायो । नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो । यही संविधानकै जगमा उभिएर नेपालमा पहिलो संविधानसभाको निर्वाचन भयो भने नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने आधारशिला तयार गरेको हो । नेपालमा अन्तरिम संविधान जारी भएपछि आमसञ्चार क्षेत्रको विकासमा आमूल परिवर्तन भएको छ ।
राससले अन्तरिम संविधान जारी भएपछि आफ्नो सेवामा विविधीकरण र विस्तार गर्ने कार्य भएको हो । राससले २०६४ सालदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय तस्बिर सेवा र २०६६ फागुन ७ देखि अडियो सेवा सञ्चालनमा ल्याएको हो । त्यस्तै सेवालाई थप विविधीकरण गर्दै राससले २०७९ साउन १ देखि भिडियो सेवा तथा विचार सेवा प्रारम्भ गरेको छ । विज्ञहरुको विचार समेटिएका लेखलाई महत्वका साथ प्रकाशित गरिंदै आएको छ । त्यस्तै नियमित रुपमा अन्तर्वार्ता लिने र प्रकाशित गर्ने कार्य भइरहेको छ । खोजी समाचारको लागि खोज तथा अनुसन्धान ब्युरो बनाएर कार्य प्रारम्भ भएको छ । राससले आफ्नो सेवालाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै लगेको छ ।
गणतन्त्र स्थापनापछि राससले नेपाल सरकार र जनताप्रतिको उत्तरदायी भूमिका निभाउँदै आएको छ । राससले सरकारको नीति, कार्यक्रम र जनताका सरोकार विषयलाई मुख्य प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्दै आएको छ । राससको स्थापनाकालमा पञ्चायती व्यवस्था भएकाले तत्कालीन अवस्थामा दरबार र सरकारप्रति अलिक धेरै जवाफदेही बन्नुपर्ने बाध्यता रहेको थियो । तर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि राससको भूमिकासमेत परिवर्तन भएको छ ।
अहिले राससको सेवा बिहान ६ देखि राति ११ बजेसम्म समाचार सेवा दिँदै आएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ का सन्दर्भमा राससले करिब १० दिन २४सै घण्टा सेवा दिएर समाचार संस्थाको भूमिकालाई स्थापित गर्ने प्रयास गरेको छ । हाल राससले नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सेवा, आलेख÷विचार र अन्तर्वार्ता, फोटो सेवा, अडियो र भिडियो सेवा सञ्चालन गर्दै आएको छ । राससले आगामी दिनमा २४ घण्टे सेवा र राष्ट्रिय भाषामा समाचार सेवा सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ ।
संस्थाले आफ्ना सेवाग्राहीका लागि अन्तर्राष्ट्रिय समाचार उपलब्ध गराउन एपी, एएफपी, सिन्हवा, पिटिआई र क्योदोसँग सम्झौता गरी तिनका समाचार पनि आफ्ना ग्राहकलाई उपलब्ध गराइरहेको छ । रासस एसिया प्रशान्त क्षेत्रका समाचार संस्थाहरूको सङ्गठन (ओना) को सदस्य पनि हो । राससको देशका ७७ जिल्लामा स्ट्रिङ्गर एवं समाचारदाता, सात प्रदेश र जिल्लामा राससका कार्यालय र प्रतिनिधि एवं कर्मचारी छन् । राससले दैनिक सम्प्रेषण गर्ने समाचारहरूको करिब ७० प्रतिशत हिस्सा जिल्लाका समाचार छन् ।
राससको भौतिक अवस्था
रासस स्थापना हुँदा यसको आफ्नो भवन थिएन । सुरुमा संस्थामा कार्यरत आदित्यध्वज जोशीको नयाँ सडकस्थित घरमा कार्यालय सञ्चालन गरियो । सो घरमा कार्यसञ्चालन गर्न साँघुरो हुन थालेपछि नयाँ सडककै पाकोमा इन्द्रनारायण मानन्धरको घरमा कार्यालय सारियो । पाँच÷छ वर्ष सोही घरमा कार्यालय रह्यो । त्यहाँबाट फेरि गणबहालस्थित ठाकुरलाल मानन्धरको घरमा सारियो । विसं २०३१ असार ३२ गते राससले आफ्नो भवन उद्घाटन गरी कार्यालय सारेको थियो । विसं २०५५ सालमा डाटा बैंक भवन निर्माण भएको हो ।
विसं २०७२ को भूकम्पका कारण राससको पुरानो भवन क्षतिग्रस्त भएपछि नेपाल सरकारको अनुदानमा दुईवटा नयाँ भवन निर्माण गरिएको छ । यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन भएको छ । सो भवनको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ कात्तिक ९ गते शिलान्यास र २०७९ साउन ११ गते उद्घाटन गर्नुभएको थियो ।
हाल राससको सातवटै प्रदेश कार्यालय ११ वटा जिल्ला कार्यालय रहेको छ । कर्णाली प्रदेशको सुर्खेत र बागमती प्रदेशको हेटौँडामा राससले भाडामा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको छ । यी प्रदेशमा पनि कार्यालय बनाउन जग्गा प्राप्ति गर्ने प्रक्रिया सुरुआत भएको छ ।
सहरी विकास मन्त्रालयको सहयोगमा चितवनको भरतपुरमा अत्याधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रियस्तरको आवसीय राष्ट्रिय तालिम केन्द्र भवन निर्माण कार्य अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा राससको आठ वटा कार्यालय भवनको मर्मत कार्य सम्पन्न भएका छन् भने केही कार्यालयको काम सम्पन्न हुने चरणमा रहेको छ । राससको रिपोर्टिङ र समाचार डेस्कलाई व्यवस्थापन गर्ने कार्य भएको छ । पोखरा र काँकडभित्तामा रहेको जग्गालाई उपयोगको लागि डिपिआर बनाउने प्रक्रिया अगाडि बढेको छ ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले सञ्चारमाध्यमलाई पनि प्रादेशिक ढाँचामा सेवा दिन निर्देशन दियो । विसं २०७४ पुस २५ गते राससका तत्कालीन अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’को अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले राससलाई सङ्घीय ढाँचामा लैजाने र सङ्घीय कार्यालय राख्ने विषयमा निर्णय गरी कार्यान्वयन भएका छन् ।
यीबाहेक राससका पुराना कागजपत्र र ऐतिहासिक तस्बिर, समाचार र सामग्रीहरु राखेर कार्यालयको भुइँतलामा मिनी सङ्ग्रहालय बनाउने कार्य अगाडि बढाएको छ । स्मार्ट कार्यालयको अवधारणाअनुसार पेपरलेस प्रविधिको प्रयोग गर्ने, समाचार र प्रशासनलाई प्रविधिमैत्री बनाउने योजना रहेको छ । भिडियो सेवालाई आगामी आवदेखि व्यावसायिकरुपमा सेवा विस्तार गर्ने योजना रहेको छ ।