Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्वार्ता‘हामीलाई अर्काको ठुलो व्यवसायमा जागिर खाउ भन्ने किसिमले जागिरप्रति मात्रै सोच्न लगायो’

‘हामीलाई अर्काको ठुलो व्यवसायमा जागिर खाउ भन्ने किसिमले जागिरप्रति मात्रै सोच्न लगायो’


(आज २४ औं अन्तर्राष्ट्रिय युवा दिवस हो । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गरेको थियो । सोही घोषणासँगै सन् २००० बाट विभिन्न देशले हरेक वर्ष यो दिवस मनाउदै आएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसलाई विश्वभर युवाहरूका अधिकार र सशक्तिकरणको बारेमा जागरूकता बढाउनका लागि विविध कार्यक्रम गर्दै मनाउने प्रचलन छ । यो दिवस युवाहरुको लागि एक किसिमको उत्सव पनि हो जस्ले युवाका विश्वव्यापी युवाहरूलाई असर गर्ने महत्वपूर्ण मुद्दाहरूलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदछ । सन् २०२३ का लागि संयुक्त राष्ट्रसंघले ‘दिगो विश्व निर्माणको लागि युवामा हरित सिप विकास’ भन्ने मूल नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस मनाउन आह्वान गरेको छ ।

यो दिवस नेपालमा सन् २००४ बाट मनाउनको लागि हो । हरेक बर्ष नेपालमा पनि विभिन्न नारा तय गरि यो दिवस मनाउदै आइएको छ । यस वर्ष नेपालमा विभिन्न सरकारी र गैर सरकारी संस्थाहरू, युवा संगठनहरूले एक्लाएक्लै एवं संयुक्त रूपमा विविध कार्यक्रमहरू आयोजना गरी यो दिवस भव्य रुपमा मनाइरहेका छन । यसै सन्दर्भमा विगत दुइ दशकदेखि युवा उद्यमशीलताको क्षेत्रमा कार्य गर्दै आउनु भएका, अल्टरनेटिभ्स् नेपालका संस्थापक एवं नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीका इन्कुबेसन प्रमुख, समुन्द्र पौडेलसंग युवा उद्यमशीलतामथि केन्द्रित रही सामाजिक अभियन्ता तीर्थराज भट्टसंग नेपाल युवा संस्था संजाल (आयोन)ले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को कार्यक्रम स्थल नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेज, जावलाखेल, ललितपुरमा गरिएको अन्तरसंवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।)

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ?

सर्बप्रथम त अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा समस्त युवा बर्गलाई सिर्जनात्मक एवं उद्यमशिल सोचका साथ समृद्द नेपालको लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु । नेपालमा कूल जनसङ्ख्याको झन्डै ४१ प्रतिशत युवा छन् । नेपालमा कुल जनसंख्याको यो उमेर समूहले नेपालको मेरुदण्डको रूपमा काम गर्दछ । हाल नेपालमा युवाहरुको व्यवसाय/उद्यममा संलग्न हुने प्रवृत्ति उल्लेख्य रुपमा बढ्दै गएको छ । पछिल्लो आर्थिक जनगणना अनुसार कुल उद्यमी मध्ये करिब ५५% युवा उद्यमी रहेका छन् । कुल उद्यमीहरूको लगभग ३५% ,३०-३९ वर्ष बीचका र २०.०%, ३० वर्ष भन्दा कम उमेरका छन् । यो तथ्यांक हेर्दा केहि आशाको किरण देखिन्छ । तर पनि कोरोना पछिको आर्थिक सुस्तताले कयौं उद्यम व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् भने कयौं बन्द भैसकेका छन् । अहिलेको लघुवित्त, बैंक र सहकारीहरुको संकट यिनै समस्याहरुको कारणले अझ धेरै बल्झेको हो । धेरै व्यवसायीले थप लगानी गर्न समेत डराइरहेको अवस्था हेर्दा अहिले उद्यम सिर्जना र विकासको अवस्था अत्यन्तै नाजुक अनुभव गर्न सकिन्छ ।

अर्कोतर्फ नेपाली युवाहरुको बैदेशिक पलायनको तथ्यांकले सबैलाई सोचमग्न बनाएको जस्तो लाग्छ । अहिले नै झण्डै ६० लाख युवा वैदेशिक रोजगारमा छन् । नेपालमा वर्षको झन्डै ५ लाख युवा रोजगारीको लागि तयार हुन्छन भनिन्छ । तर गत वर्ष मात्रै साढे सातलाख बढी युवाले श्रम स्वीकृति लिई बैदेशिक रोजगारीको निम्ति बाहिर गए । बर्षेनी दुईलाख भन्दा धेरै युवा अध्ययनको नाममा विदेश पलायन भैरहेका छन् । यसमा भारत रोजगार गर्न र पढ्न जानेको तथ्यांक जोड्दा युवा पलायनको डरलाग्दो स्थिति देखिन्छ । अझ बिगत केहि वर्षबाट लाखौं युवा नेपालमै राम्रै जागिर व्यवसाय भए पनि विदेश पलायन भैरहेका छन । यहि अवस्थामा युवाको पलायन भैरयो भने भोलिको समय देशको निम्ति अत्यन्तै संकटपूर्ण हुनेछ र युवा उद्यमशीलताको कुरा गराइ मात्र हुन्छ ।

देशमा युवा पलायनको नाजुक अवस्था छ तर पनि तपाईं आफै पनि युवा उद्यमशिलता विकासको लागि झन्डै २ दशकदेखि काम गर्दै आउनुभएको छ । यो क्षेत्रमा तपाइको यात्राका बारेमा केहि बताईदिनुहोस न ।

मेरो आफ्नो पृष्ठभूमिको कुरा गर्दा, म आफै पोखरामा व्यवसायीको सन्तानको रूपमा हुर्किएको हुँ । पारिवारिक व्यवसायको वातावरणमा हुर्किंदै गर्दा कतिपय अवस्थाले म आफैलाई उद्यमशीलता क्षेत्रमा लाग्न प्रेरित गरेको थियो । मेरो एसएलसी पछि तिन बर्षमा पारिवारिक व्यवसायमा संलग्नका साथै म आफैले नै दुईवटा छुट्टाछुट्टै व्यवसाय सुरू एवं संचालन गरेको थिएँ । तर जब म स्नातक तह बिबिएमा भर्ना भएँ मैले स्थापना गरेका व्यवसायहरू बन्द गरेर पढाईमा मात्रै ध्यान दिनुपर्ने भयो । सन् २००४ मा मेरो एमबीएको अध्ययनको क्रममा कलेजमै विद्यार्थीहरुको आर्थिक, व्यवसायिक, उद्यमशीलता र विविध विकासको लागि म्यानेजिङ ह्यान्स भन्ने संस्था खोलेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै अगाडी बढेको थिए ।

मेरो स्नाकोत्तर पछाडि केही साथीहरुसंग मिलेर युवाहरुमा उद्यमशीलता विकासको लागि पोखरामा सन् २००७ मा अल्टरनेटिभ्स् नेपाल भन्ने संस्था खोली विविध कार्यक्रमका साथ अगाडि बढ्यौँ । उक्त सामाजिक उद्यममार्फत झन्डै १० बर्ष युवा, बालबालिका, ग्रामीण, विद्यार्थी एवं अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उद्यमशीलता विकासको लागि अन्तरक्रियात्मक कार्यक्रम, तालिम, कार्यशाला लगायतका कार्यक्रम सञ्चालन गरियो । काम गर्दा जाँदा संस्थाले क्लिन्टन ग्लोबल युनिभर्सिटी अवार्ड र वर्ल्ड युथ समिट अवार्ड लगायत केहि राष्ट्रिय एवं अन्तर्रास्ट्रिय सम्मान समेत प्राप्त गर्न सफल भएका थियौं ।

त्यसपछि थप अध्ययनको महसुस गरि काठमाडौं विश्वविद्यालयमा एमफिल भर्ना भई उद्यमशील नेतृत्व एवं विकास लगायतका सम्बन्धित विषयमा विभिन्न शोधकार्य गरे । हाल त्रिभुवन विश्वविद्यालयमा उद्यमशीलता शिक्षा भन्ने विषयमा विद्यावारिधिको क्रममा रहेको छु र संगसंगै विभिन्न संस्थाहरु मार्फत उद्यमशीलता विकासका कार्यक्रम मार्फत युवा विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने कार्यमा पनि संलग्न छु ।

तपाईको आफ्नो अनुभवमा युवालाई उद्यमशीलता तर्फ आकर्षित गर्न कसरि सकिँदो रहेछ?

मेरो अनुभव र अध्ययन अनुसार नेपालको शिक्षा प्रणाली नै हामीलाई उद्यम सिर्जनाको सट्टा जागिर तर्फ आकर्षित गर्ने गर्दछ । हामीले यो शिक्षा प्रणालीलाई पुनर्संरचना गर्न सकेनौ भने भोलि पनि विश्वविद्यालय र कलेजहरु केवल जागिरे र दास मनोवृतिका व्यक्तिमात्र उत्पादन गर्ने थलो मात्र हुने देख्दछु । अहिले विद्यालय देखिनै विश्वविद्यालयसम्म प्रयोगात्मकभन्दा बढी सैद्धान्तिक कोर्सहरुले विद्यार्थीलाई घोक्ने र पास गर्ने किसिमले मात्रै अघि बढाएको छ । यस्तो पढाइले उनीहरुलाई उद्यमशील क्षमतामा पछि पारिरहेको छ । सोच्ने, प्रश्न सोध्ने, नयाँ कुरा गर्ने, अगाडि बढ्ने, जोखिम मोल्ने लगायतका उद्यमशिलताका विशेषताहरु अहिलेका कोर्षमा भेटिदैनन् ।

विश्वविद्यालय र कलेजमा उद्यमशीलताको इन्कुबेसन सेन्टरहरूको सट्टा राजनैतिक दलका विद्यार्थी युनियन प्रोत्साहन गरिएको देखिन्छ । जसले उद्यमी हुन्छु भन्ने सोच भएका विद्यार्थीहरुलाई पनि केही वर्षमा जागिरे मानसिकता भएका शिपबिहिन बेरोजगार व्यक्तिको रुपमा परिवर्तन गरेको मात्रै देखिन्छ । यस्तै किसिमको बेरोजगार उत्पादन हुन्छु की भन्ने डरले अहिले त यो शिक्षा प्रणालीप्रति नै विद्यार्थीहरूको अरुची तथा अविश्वास झन् बढ्दै गइ शिक्षाको लागि समेत युवाको वैदेशिक पलायन भैरहेको छ ।

तपाइलाई म मेरै उदाहरण दिन चाहन्छु । म आफै पारिवारिक व्यवसाय भएको परिवारमा हुर्किएको मान्छे र एसएलसी पछी दूइवटा व्यवसाय सुरु गरेको व्यक्ति । झन्डै २३ वर्ष अघि जब पोखरा विश्वविद्यालयमा बिबिए पढ्न भर्ना भए, झन्डै ४ वर्षको अवधिमा मलाइ पनि पढ्न र परिक्षामा सफल हुन मात्र सिकाइयो । म मात्र होइन, म पढ्ने बेलामा ४० जनामध्ये झन्डै २५ जना मेरा सहपाठीहरु पारिवारिक व्यवसाय भएका थिए । तर सबैजसो विद्यार्थीहरुलाई हाम्रो बिबिए कार्यक्रमले जागिर खाने मानसिकतामा बदलिदियो । सानै भए पनि तिम्रो परिवारको व्यवसायलाई अघि बढाऊ भनेर कहिल्यै सिकाएन । हामीलाई अर्काको ठुलो व्यवसायमा जागिर खाउ भन्ने किसिमले जागिरप्रति मात्रै सोच्न लगायो । त्यो पढाईले झन्डै २५ जना उद्यमीका छोराछोरीलाई समेत जागिरे मानसिकतामा बदलिदियो । धेरैजसो मेरा सहपाठीका पारिवारिक व्यवसाय राम्रो संग पुस्ताहस्ताहरण हुन नसकेर बन्द हुने अवस्था आए । मलाइ लाग्छ त्यो शिक्षा आफैमा उद्यमशिलता विकासको लागि अबरोधक थियो, गलत थियो ।

अहिले पनि बिबिए र एमबीए कार्यक्रममा व्यवसाय विकास गर्ने भनिन्छ तर पढाउने शिक्षक, कोर्ष र पढाउने तौरतरिका उस्तै छ, जागिरे मानसिकताको व्यक्ति उत्पादन गरिरहेको छ । यो त केवल एउटा कार्यक्रमको कुरा भयो । नेपालको सबैजसो विश्वविद्यालयका कोर्ष र कार्यक्रमहरु उही खालका रहेका छन् । यस्तो खालको पढाईले कहिले पनि उद्यमशीलता विकास गर्न दिदैन ।

मेरो दृष्टिकोणमा सबैभन्दा पहिला नेपालको प्रारम्भिक शिक्षाबाटै स-साना विद्यार्थीहरुलाई नै उद्यमशीलतातर्फ मानसिक रुपले तयार पार्नुपर्छ । उद्यमशील सोचाईको व्यक्ति बनाउन मिल्ने विषयवस्तु जुनसुकै कोर्षमा पनि राख्न सकिन्छ । विद्यार्थीलाई उद्यमशील बिचार भएको बनाउने भन्ने ध्येयकासाथ काम गरियो भने कोर्ष र पढाउने तरिका परिवर्तन गरियो भने उद्यमशीलताप्रति आकर्षण गर्न सम्भव छ । त्यति मात्र नभएर जब उनीहरु उच्च शिक्षामा पुग्दछन्, उनीहरुलाई उद्यमशील शिक्षाको साथै विभिन्न उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत मेन्टरसिप, बीउपुँजी लगायतको सहयोग गर्न सकेमात्रै नेपालमा युवा उद्यमशीलता विकास सम्भव छ । सँगसँगै राज्यको तर्फबाट हुनुपर्ने नीति नियम र वातावरणको पनि टड्कारो आवश्यकता रहेको छ । त्यति मात्र नभएर अहिलेको वैदेशिक पलायन हेर्ने हो भने परिवार र समाजबाट पनि युवाले यथेष्ट सहयोग पाए भने मात्रै युवाका स्टार्टअपहरू अघि बढ्नसक्ने देख्दछु ।

हाल युवा उद्यमशीलता विकासको लागि नेपालमा हाल के कस्ता गतिविधिहरु संचालन भइरहेका छन् ?

हाल विभिन्न किसिमका सरकारी एवं गैरसरकारी संस्थाहरूले युवा उद्यमशिलता विकासको लागि विभिन्न कार्यहरू गर्दै आइरहेका छन् । नेपाल सरकारको विभिन्न मन्त्रालय अन्तर्गत निकायहरुले उद्यमशीलता विकासमा तालिम एवं कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सरकारले विगतमा उद्यमशिलतामा पटकपटक युवा स्वरोजगार, युवा उद्यमीहरुलाई स्टार्टअप ऋण लगायतका कार्यक्रम ल्याईरहेको छ । सरकारले केही समयदेखि नेपालमा स्टार्टअपहरू अगाडि बढाउनको लागि राष्ट्रिय स्टार्टअप नीति ल्याउने अन्तिम चरणमा रहेको बताएको छ । यो नीति आइसके पछि स्टार्टअपहरूको लागि झन् सजिलो होला भन्ने हामीले आशा गर्न सक्छौं ।

हालै मात्र विश्वविद्यालय अनुदान आयोगले नेपाली विद्यार्थीहरुमा उद्यमशीलताको भावना जगाउन र विद्यार्थी जीवनबाटै स्टार्टअपहरू अगाडि बढाउनको लागि उद्यमशीलता सहयोग एकदम राम्रो कार्यक्रम ल्याएको छ । यसले विद्यार्थीहरुलाई उद्यमशीलता शिक्षा, तालिम. मेन्टरसिप र सँगसँगै बीउ पुँजी समेत दिने भनेको छ । आगामी ३ वर्षमा झण्डै १६० व्यवसायिक योजनाहरुलाई बिउ पुँजी समेत दिने गरेर ल्याइएको यो योजनाले पनि धेरै विद्यार्थीहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्छ भन्ने मलाई लाग्दछ । त्यसका साथसाथै केहि विश्वविद्यालय एवं कलेजहरूले पनि आफ्नो तर्फबाट उद्यमशीलता विकासको लागि इन्कुवेशन सेन्टर स्थापना गर्ने र त्यसअन्तर्गत विभिन्न स्टार्टअप सहयोगी कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यस्ता खालका इन्कुबेसन सेन्टरहरू प्रत्येक कलेजमा स्थापना हुने र ति इन्कुबेसन सेन्टरहरू मार्फत् विभिन्न युवाहरुलाई विद्यार्थीहरूलाई उद्यमशीलताको तालिम सँगसँगै मेन्टरसिप र बिउ पुँजीसमेत दिन सकियो भने धेरै विद्यार्थीहरुलाई हामीले उद्यमशीलता तर्फ आकर्षण गर्न सकिन्छ ।

कतिपय गैर सरकारी संस्था एवं प्राइभेट संस्थाहरूले पनि उद्यमशीलता विकासको लागि विविध कार्यक्रमहरु लिएर आईरहेकाछन । कतिपय संस्थाहरु उद्यमशीलता शिक्षासंग सम्बन्धित छन् भने कतिपयले स्टार्टअप वर्कशप, मेन्टरसिप, बिउ पुँजीको समेत व्यवस्था गर्ने गरेको पाइएको छ । खुशीको कुरा के देखिन्छ भने नेपालमा प्राइभेट सेक्टरबाट भेन्चर क्यापिटलिस्ट र एन्जल इन्भेष्टरहरुपनि विभिन्न कम्पनि नै दर्ता गरि नया स्टार्टअप हरुलाई पुंजी संकलनमा सहयोग गरिरहेका छन् ।

तर पनि नवप्रवर्तन एवं उद्यमशीलता विकासका लागि गरिएका प्रयासहरु अझ पनि अपुग र सीमित नै रहेका छन । धेरैजसो संस्थाका कार्यक्रमहरु राजधानी र ठूला शहर केन्द्रित रहेका छन् । त्यसैले स्टार्टअप विकासका कार्यक्रम धेरै युवा विद्यार्थीहरु संग पुग्न सकेको छैन । तर पनि सरकारी, उद्योग वाणिज्य संघसंस्था एवं विभिन्न गैरसरकारी संघसस्थाको कार्यक्रम र योजना हरुको मुल्यांकन गर्दा उद्यमशीलता विकासको अवधारणा नेपालमा उदीयमान एजेन्डाको रूपमा अघि बढेको छ ।

अन्तर्रास्ट्रिय युवा दिवसको दिनमा थप केहि भन्न चाहनुहुन्छ ?

उद्यमशीलता विकास नयाँ विचार र सिर्जनाको बढावाको लागी एक महत्वपूर्ण अवसर मानिन्छ । युवा उद्यमशीलता मात्र होइन । हाम्रो समाजको हरेक पक्षमा युवाको सहभागिता महत्त्वपूर्ण छ । राज्यले युवा विकासलाई प्राथमिकता दिनुपर्छ, उनीहरुको विचार, ऊर्जा र साहसको उपयोग गर्नुपर्छ । अहिलेको युवाको वैदशिक पलायनले दिगो आर्थिक विकास मात्र होइन सांस्कृतिक मूल्य र पारिवारिक जीवनमा समेत बाधा पुर्‍याइरहेको छ । त्यसैले उद्यमशीलता शिक्षाले युवाहरूलाई सशक्त बनाउन सके यो समस्यालाई हल गर्न सहयोग गर्छ । अन्तर्रास्ट्रिय युवा दिवस मात्र होइन प्रत्येक दिन युवाहरूको उद्यमशीलता विकासको जागरणलाई अझ जोड दिन सकियो भने हाम्रै पालामा युवाको उद्यमशील सोच र कार्यद्वारा नेपाली समाजलाई समृद्ध बनाउन सकिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना

‘चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन’

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी

मेलम्चीको पूर्णरुपमा निर्माण कार्य नहुँदासम्म काठमाडौँबासीले धैर्य राख्नुपर्छ: मन्त्री यादव…

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी

१६औँ योजना कार्यान्वयन योग्य बनाउँछौँ: उपाध्यक्ष डा. श्रेष्ठ

वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गदैं यो अवधिमा सुशासन, समृद्धि र

प्रमोद अग्रहरिको प्रश्नः म रोजाइको अभिनेतामा किन पर्दिन ?

प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन् । प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परिक्षण नेपाली सिनेमाले गरेको

‘छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ’

‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार

Techie IT