बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता

नेपालमा जस्तै बेलायतमा पनि हरेक १० वर्षमा जनगणना हुने गर्दछ । बेलायतका चार वटा राज्यहरूमध्ये इङ्गल्यान्ड र वेल्समा एउटा संस्थाले जनगणना गर्ने गर्दछ भने स्कटल्याण्ड र नर्देन आयरल्याण्डमा अलग अलग संस्थाले जनगणना गर्ने गर्दछन् । इङ्गल्यान्ड र वेल्सको जनगणना अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस) ले गर्दछ भने स्कटल्याण्डको न्याशनल रेकर्ड अफिस अफ स्कटल्याण्डले गर्दछ । नर्देन आयरल्याण्डको जनगणना चाहिँ नर्देन आयरल्याण्ड स्टाटिटिक्स एण्ड रिसर्च एजेन्सीले गर्ने गर्दछ । प्रायजसो यी सबै संस्थाले एकै दिन जनगणना गर्ने भएता पनि यो वर्ष इङ्गल्यान्ड, वेल्स र नर्देन आयरल्याण्डमा मार्च २१ तारिख आइतबारका दिन जनगणना हुँदैछ भने स्कटल्याण्डमा भने अर्को वर्ष २०२२ मा मात्र जनगणना हुनेछ । बेलायतमा सन् १८०१ देखि जनगणना लिन शुरु गरिएको हो ।

 

जनगणनामा हरेक घरमा बसोबास गर्ने मानिसहरूको तथ्यांक सङ्कलन गरिन्छ । यो तथ्यांक सरकार, स्थानीय निकायहरू, च्यारिटी संस्थाहरू, अनुसन्धानकर्ताहरूले प्रयोग गर्ने अति नै विश्वसनीय सूचना हो । यसै तथ्यांकका आधारमा नीति बनाउने, बजेट छुट्याउने गरिन्छ । यसै सूचनाबाट समुदायका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, अत्यावश्यक सेवा आदिका बारेमा योजना बनाउने गरिन्छ । व्यापार, उद्योग, कलकारखानासमेत खोल्ने योजना बनाउन यो तथ्यांक सहायक हुने भएकाले यसबाट स्थानीय समुदायमा रोजगारीको अवसर पनि उपलब्ध हुन सक्छ ।

 

इङ्गल्यान्ड र वेल्समा पछिल्लोपटक सन् २०११ मा भएको जनगणनामा ९४ प्रतिशत मानिसले सहभागिता जनाएका थिए । बेलायतको सन् १९२० को कानुनअनुसार बेलायतमा बसोबास गर्ने हरेक व्यक्तिले जनगणनामा सहभागी हुनै पर्छ । जनगणनामा भाग नलिएमा वा गलत सूचना दिएमा १ हजार पाउण्डसम्म जरिवाना हुनसक्छ । तर जनगणनाको फाराममा रहेका जवाफ दिए पनि हुने नदिए पनि हुने इच्छाधिन प्रश्नको जवाफ नदिएको अवस्थामा भने यस्तो जरिवाना हुँदैन ।

 

जनगणनाका लागि ओएनएसले मार्च महिनाको सुरुतिर हरेक घरघरमा एउटा विशेष कोड समावेश भएको पत्र पठाउने कार्यक्रम छ । सो संकेतको प्रयोग गरी इन्टरनेटबाट आफ्नो परिवारको विवरण भरेर पठाउन सकिन्छ । यो ल्यापटप, मोवाइल, आइप्याड वा कम्प्युटरबाट पनि भर्न सकिन्छ । कम्प्युटरको सुविधा नभएका वा चलाउन नजान्नेहरूका लागि कागजको फाराम पनि मगाउन सकिन्छ । एउटा फाराममा परिवारका पाँच जनासम्मको विवरण भर्न सकिन्छ । त्यसमा परिवारका सबै सदस्यको विवरण नअटाएमा थप फाराम मगाउन सकिन्छ । हेर्नको लागि नेपाली भाषामा पनि फाराम र निर्देशिका मगाउन/ डाउनलोड गर्न सकिन्छ । तर जनगणना फाराम अंग्रेजीमा हुन्छ र अंग्रेजीमै भर्नुपर्ने हुन्छ । यदि कसैलाई अंग्रेजी भाषामा समस्या पर्यो भने उनीहरूले मद्दत पनि माग्न सक्छन् । उनीहरूलाई मद्दत गर्नका लागि विभिन्न उपायहरू हुन्छन् र व्यक्तिहरू खटाइएका हुन्छन् । यस्तै, दृष्टिविहीनहरूका लागि ब्रेल लिपिमा पनि जनगणनाको फाराम पाइन्छ । जनगणनाको फाराम मेसिनले पढ्ने भएकाले फाराम भर्दा सफा र प्रष्ट हुनुपर्दछ । यदि भर्दाभर्दै फाराम केरमेट भयो वा च्यातियो भने अर्को फाराम मगाउन सकिन्छ । जनगणनाको फाराम आफैँले भर्न नसके आफ्नो विश्वासिलो अरुलाई पनि भर्न लगाउन सकिन्छ । जनगणना भर्नका लागि कोड आएपछि वा कागजकै फाराम पाएपछि तुरुन्त भर्न मिल्छ मार्च २१ सम्म नै कुरिरहन पर्दैन । तर मार्च २१ भित्र कुनै कारणवश फाराम भर्न सकिएन भने पनि धन्धा नमान्नुहोस् कोरोना महामारीका कारण त्यसको केही सातासम्म पनि ओएनएसले तथ्याङ्क संकलन जारी राख्ने भएको छ ।

 

भरेको जनगणनाको फाराम सरकारले हेर्न पाउँदैन । त्यसैले बेलायतमा गैरकानुनी रूपमा बसिरहेको भए पनि, कुनै भत्ता वा सुविधा पाइरहेको पनि, घरमा जति जना बसिरहेको भए पनि, कर तिर्न बाँकी रहेको भएपनि जनगणनामा सामेल हुँदैमा त्यसमा कुनै असर पर्दैन । किनभने १०० वर्षका लागि जनगणनामा दिइएका सूचनाहरू कतै नदिइने कानुनमै ग्यारेण्टी गरिएको हुन्छ । जनगणना सम्पन्न भएपछि प्रकाशन गरिने तथ्यांकमा कतै पनि कसैको व्यक्तिगत विवरण प्रकाशन गर्न पाइँदैन । जनगणनामा लगत लिने राष्ट्रिय तथ्यांक कार्यालय स्वतन्त्र निकाय भएकाले सरकारले उसलाई दबाब दिएर व्यक्तिगत तथ्यांक लैजान पाउँदैन ।

 

जनगणना बेलायतमा बस्ने सबैले भर्नैपर्छ । बेलायतको नागरिकले मात्र जनगणना भर्नुपर्छ भन्ने कुरा सत्य होइन । विद्यार्थी, वर्क परमिटमा रहेका, गैरकानुनी रूपमा बसिरहेका, शरणार्थीका हैसियतमा रहेका सबैले जनगणना भर्नुपर्छ । जनगणना हुनु अघिल्लो रात बेलायतमा बिताएका व्यक्तिले समेत जनगणना फाराम भर्नुपर्छ ।


यसपटकको जनगणनामा पहिलोपटक सैन्य सेवा गरेको, नगरेको पनि सोधिँदैछ । यसबाट कति मानिस सेनामा काम गरेका रहेछन् भन्ने पत्ता लाग्नेछ । यसबाट बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खाको संख्या पनि थाहा हुन सक्ने छ ।

जनगणना र नेपाली समुदाय


बेलायतमा नेपाली समुदाय नयाँ समुदाय हो । बेलायत र नेपालको सम्बन्ध दुई शताब्दीभन्दा लामो छ । यस क्रममा बेलायत–नेपाल सम्बन्ध सेतुका रूपमा रहेका गोरखा सैनिकहरू तालिम र कामको सिलसिलामा धेरै पहिलेदेखि नै बेलायत आउने जाने गर्दथे । जंगबहादुर राणाको सन् १८५० को बेलायत भ्रमणका बेला बेलायतमै भेटिएका मोतिलाल सिंह नै बेलायत आउने पहिलो नेपाली थिए भन्ने मानिएको छ । तथापि स्थायी बसोबासका लागि नेपालीहरू बेलायत आउने क्रम भने सन् १९५० ताकाबाट शुरु भएको मानिन्छ । शुरुमा नेपालीहरू अध्ययनका लागि र त्यसपछि क्याटरिङ क्षेत्रमा काम गर्नका लागि आएका थिए । तर उनीहरू सन् २००१ भन्दा अघि कति थिए भन्ने खुल्न सकेको छैन ।

 

सन् २००१ को जनगणनामा नेपालीहरूको संख्या करिब ५ हजार ९४३ रहेको जनगणनाको तथ्यांकले देखाएको थियो । तर सन् २००४ तथा सन् २००९ को पूर्व गोरखाहरूलाई बेलायतमा बसोबास गर्न दिने बेलायत सरकारको निर्णयपछि र सन् २००९ ताका बेलायतमा अध्ययन गर्न विद्यार्थीहरूलाई सजिलै भिसा दिइएपछि बेलायतमा नेपालीहरूको संख्या ह्वात्तै बढ्न गयो । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युके र गैरआवासीय नेपाली संघ युके लगायतको संघ संस्थाहरूको पहलमा सन् २०११ को जनगणनामा बेलायतमा नेपालीहरूलाई जनगणनामा सहभागी हुन प्रोत्साहित गरिएको थियो । त्यसको कारण पनि हुन सक्छ नेपालीको संख्या विगतको जनगणनाको तुलनामा करिब ११ गुणा बढ्न गई सन् २०११ मा इङ्गल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा १२९८ पुगेको तथ्यांकले देखाएको छ । यद्यपि यो संख्या पनि बेलायतमा रहेका नेपालीहरूको वास्तविक संख्याभन्दा कम रहेको मानिन्छ किनकि सिएनएस युकेले सन् २००८ मा गरेको सर्भेक्षणमा त्यस समयमा करिब ७२ हजार नेपाली बेलायतमा रहेको प्रक्षेपण गरिएको थियो । त्यसपछि सन् २००९ पछि नेपालीहरू निकै ठूलो संख्यामा बेलायत आएका थिए –विद्यार्थी र पूर्व गोरखा दुवै बाटोबाट । बेलायतमा रहेका नेपाली समुदायका अगुवाहरूबाट बेलायतमा नेपालीहरूको संख्या कम्तीमा १ लाखभन्दा बढी रहेको दाबीहरू सुनिन्छन् । उनीहरूको आँकलनमा करिब १ लाखदेखि १ लाख ५० हजारसम्म बेलायतमा नेपालीहरू हुन सक्छन् । तर यस्तो दाबी गर्ने आधार भने जबसम्म जनणनाले पुष्टि गर्दैन तबसम्म गतिलो रहँदैन । त्यसैले अहिले बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरू संगठित रूपमा पनि रहेका छन् । जाति, सँस्कृति, पेशा, व्यवसाय, स्थानीयता आदिका आधारमा अहिले बेलायतमा प्राय नेपालीहरू समुदायमा आवद्ध छन् । त्यसैले हामीले हाम्रो समुदायको राम्रोसँग परिचालन गरी बेलायतमा रहेका नेपालीहरूको सकेसम्म वास्तविक तथ्यांक ल्याउने कोसिस गर्नुपर्दछ । १० वर्षमा एकपटक मात्र आउने यस्ता दुर्लभ अवसरहरूको भरपूर उपयोग गर्न सक्नुपर्दछ ।

 

जनगणनामा नेपाली समुदायको यथार्थ विवरण आउन सकेमा यसबाट नेपाली समुदायलाई बेलायतका स्थानिय काउन्सिलहरू, स्वास्थ्य सेवा, शैक्षिक क्षेत्र लगायतबाट पर्याप्त सेवाहरू उपलब्ध हुन सक्नेछन् । सरकारले जारी गर्ने स्वास्थ्य लगायतका महत्वपूर्ण सूचनाहरू नेपाली भाषामा प्रकाशन हुनेछन् । विभिन्न निकायमा लिइने अभिलेखहरूमा आफ्नो पहिचानमा नेपाली लेख्ने महल खडा हुन सक्नेछ । यसबाट हाल युकेमा रहिरहेका नेपालीलाई मात्र होइन भविष्यका नेपाली पुस्तालाई पनि फाइदा पुग्ने छ । यसरी जनगणनामा भाग लिँदा फाइदा मात्र छ कुनै व्यक्तिगत वा सामुदायिक बेफाइदा छैन । बरु माथि नै भनिए अनुसार जनगणनामा भाग नलिएको पाइएमा एक हजार पाउण्डसम्म जरिवाना हुन सक्छ ।
त्यसैले जनगणना बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्ने एक अमूल्य अवसर हो । वेल्स तथा इङ्ल्यान्ड, र नर्दन आयरल्यान्ड मा बसोबास गर्ने सबै नेपालीहरूले यही मार्च २१ तारिखका दिन सम्पन्न हुन गइरहेको जनगणनामा आफू पनि सहभागी होऔँ । साथै आफ्ना छरछिमेकी, आफन्त, गाउँलेहरूलाई पनि सहभागी गराऔँ ।

 

(यो सामग्री जनगणनामा बेलायतका नेपाली समुदायमाझ जनचेतना जगाउन सिएनएस युके र नेपाल पत्रकार महासंघ युकेको संयुक्त रुपमा तयार पारिएको हो ।)


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति

  • 1 hour ago
हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाललाई अविश्वासको प्रस्ताव लिएर आउन चुनौति दिएका छन् । ओली समूहको सचिवालय सद

गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना

  • 2 hours ago
गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ । गृहले जारी गरेको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो । सुचनामा उल्लेख भए अनुसार

शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण

  • 2 hours ago
शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९४४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।