पुनः मुग्लान फिरेको स्वाभिमान

पोखरा । भनिँदै अनि सुनिँदै आएको वाक्य हो  'समस्या आफै मात्रै एक्लै कहिल्यै आउदैन । सबै समस्याहरु सङ्गै जुम्ल्याहा झै , समाधान र अवसरहरु पनि आउँछन् ।' सिङ्गै विश्व कोरोना महामारीसँग जुध्दै गर्दा , चुनौती पछिका अवसरहरुमा छलफल चलिरहेको परिदृश्य पनि देख्छौँ हामी अहिले । यो बिचमा गुमेको सान / मान / वैभव सबै फिर्ता गर्ने तयारिमा छ पुरै विश्व । यहि बिच दशकौँदेखि बन्धकी बसेको राष्ट्रिय अभिमान फिर्ता गराउने जवर्जस्त अवसर जुरेको थियो वा जुरेको छ , नेपाललाई पनि । तर यो अवसरको सदुपयोगमा राज्य दिनप्रतिदिन चुक्दै गएको आभास हुन थालेको छ ।

 

हिजै मात्र इन्डियन छापाले नेपालीको भोकलाई खिल्ली उडाउँदै छापेको शीर्षकले अति दुखी बनायो । शीर्षक ठ्याक्कै के थियो ? भूलेँ मैले । तर सारमा भोक खप्न नसकी भारतको पाउमा शिर चढाउन आए बहादुरहरु भन्ने भाव झल्किन्थ्यो शीर्षकमा । नदिको पानी सरि अवसरहरु बग्ने हाम्रो मुलुकमा , अवसर र चुनौती सम्म छुट्याउन नसक्ने राष्ट्रीय ठेकेदारहरु सङ्ग जोरको रिस पनि उठ्यो केहिपल । तर रिस पोख्ने पो कहाँ ? मनमा उब्जेको रिस मनैमा मर्‍यो । फेरि पनि मेरो मन दुखेको घटनाको सतही विश्लेषणले पनि , अकर्मन्यताको औला सिधै देश बिकासको तिलस्मी सपना मात्रै देखाउन सिपालु नेताहरु तिर सोझ्यायो । 

 

सायद कुर्सिको साईड इफेक्ट पो हो कि ? सत्ता उक्लिएपछि निमुखाजनको आवाज नसुनिने , दुख / पिडाले छुँदै नछुने , अन्याय अत्याचार देख्दै नदेख्ने , मात्रै आफ्नै आत्मरतिमा रम्ने रोगले ग्रसित हुँदा रहेछन बिकासे ठेकदारहरु । कुर्सिमा बिराजमान छोटे र बडे ठेकेदारहरु जन आवज नसुन्ने , मजदुर किसानको आँसु देख्दै नदेख्ने , भावशुन्य मांशपिण्डमा परिणत भएपछि , निमुखाको समृद्दिको सपना कति जुनि मनको लड्डु बनेर बस्ने हो ? सम्झिदै हैरान हुन्छु घरिघरी ।

 

कोरोनाको हाउगुजिले सिङ्गै विश्व त्राहिमाम भएपछी , मजदुरिलाई मुग्लान छिरेका दुखिजनहरु कुम्लो काखी च्यापेर देश फिरे । उ बेला आफ्नै देश फिर्न पनि कम सकस परेन बिचराहरुलाई । मुग्लानेहरुको देश फिर्तिको सकसलाई लिएर , खाँदै गरेका अनि खान नपाएको झोकमा मुर्मुरिएका बिचको गाईजात्रा पत्रपत्रिका / फेसबूक / ट्विटर / युट्युब जतासुकै छरियो ।

 

देशभित्रका दुखिजनको स्वास्थ्य साक्षी राखेर मुग्लानेको फिर्तिमा लगाम लगाईयो । परदेशिहरु मुलुक फिर्ने मन भरिको सपना साँच्दै गेटपारी चिउरा चपाउदै बन्द गेट कुरि बसे हप्ता दिन वा त्यो भन्दा बेसि समय । यता सत्ताको लुटबाट आफ्नै बुद्दिले लखेटिएकाहरु पारी पट्टिका दुखिजन देखाउँदै कोकोहोलोमा उत्रिए । देश भित्रीने मुलद्वार खुल्ने आसमा अल्झिएकाहरुको केही मुठी चिउरा पनि सकियो । र पनि द्वार खुलेन । खुल्दै खुलेन । त्यहीबिच तयारिको बहाना देखाउँदै थप केहिदिन भोकै बस्ने आदेश भयो राज्यबाट । आफ्नै देश फिरेपछी एकमुख पानी पिएर पनि प्राण धानिने विश्वास थियो मुग्लानेहरुलाई । झन खाने , बस्ने , खेल्ने , नाच्ने सबै खाले सुबिधायुक्त बसोबास निर्माण हुँदै गरेको खबरले उचालिनु उचालियो अभागिहरुको हलुँगो मन । जब सरकारी बसोबासमा पुगे , उचालिएको मन कहिल्यै नउठ्ने गरि थेचारियो । एकाध बाहेक , सबै जसो सरकारी अड्डाहरुमा किरा मिस्सिएको चामल हो वा चामल मिस्सिएको किरा , एक थान स्कुल कलेजको खाली डेस्क बेन्च , हेर्दै बान्ता आउलाझैँको शौचालय नसिब भयो अभागिहरुलाई ।

 

खोरमा थुनिन नमान्ने केही अभागिहरु सरकारी खोर छोडेर भागे पनि । हुन त थुनेझैँ गर्ने तयारिमा थियो होला राज्य । खटाउनलाई खटाए केहीथान पहरेदारहरु पनि । तर खोर छोडेर भाग्नेहरु देखेर पनि नदेखे झै सुर्ती माडेर बस्दिए पहरेदारहरु पनि । हुन त कस्लाई के थाहा , माथिको आदेश नै त्यस्तो पो थियो कि ? आफ्नै मुलुक छिर्न पाए प्राण जोगिएला भन्ने आसमा भित्रीएकाहरुको आधा प्राण त सिमा मै सकियो । मात्रै आधा श्वास बोकेर टेके आफ्ना झुपडिका दैलाहरु ।

 

सबै मुग्लानेलाई थाहा थियो , आ आफ्ना झुपडिका कहिल्यै नरित्तिने अटेरी दुखहरु । परदेश मात्रै होईन देश पनि बन्दिमा छ भन्ने थाह नभएको पनि होइन । तर आम मानवको स्वभाव न हो , झुपडी जति सुकै जिर्ण होस् , बिपदमा पर्दा मात्रै टाउको सम्म छिपाउन पाए पनि ढुक्क हुन्छ मन केहिछिन् । त्यही मानसिकताले देश भित्रीए । तर कमाई गर्ने ज्यान खालि हात घर फिरेपछि पेट भर्ने पिरलोले सर्ल्लक्कै छोपिए आउँदा आउँदै ।

 

महिनासँगै खाली प्राय चामलको बोरा रित्तिँदै गए । भोकको भकारी दिनप्रतिदिन भरिन लाग्यो । भोकमरिको क्रूर यातना खप्न नसकी , सयौंको सङ्ख्यामा आफ्नै झुपडिको दलिनमा / जङ्गलमा / बारिमा झुण्डिए । कतिलाई बर्खाको भेल प्यारो भयो । तर देख्दै देखेन । सुन्दै सुनेन राज्यले । सायद सवाल मात्रै आफ्नै ज्यानको भए , उसै गरि झुण्डिने थिए वा बग्ने थिए होलान् बाँकी शरिरहरु पनि । तर भोका चिचिलाहरुको थप बिचल्ली पारेर त्यो पनि गर्ने आँट पलाएन । र फर्किए अब फिर्दिन भन्ने कसम खाएर आएको त्यही कष्टकर मुग्लान । हिजो मूलुक फर्किँदाको झै पुनः मुग्लान फिर्ने दुखिजनको लामबद्द तस्बिरले सामाजिक सन्जालको भित्तामा आतङ्क मच्चाउँदै छ । तर यो पनि देख्न चाहदैन वा देख्दैन राज्य ।

 

अति हुनुको पारोले अत्यचारको मानक नाघी सक्यो अब । देशको ठेक्का आफ्नो पोल्टामा पारी बसेका ठेकेदारहरुप्रती केही सवाल गर्न बाध्य छु म । राज्य संचालनको शिर्ष भागमा बिराजमान सम्माननिय प्रधानमन्त्री तथा झण्डै दुईतिहाई अभिमत प्राप्त पार्टिका अध्यक्ष के पि ओलि र अर्का अध्यक्ष पुष्प कमल दाहल (प्रचण्ड) ज्यु , कहिँकतै बाट मेरा सवालहरु तपाईं सम्म पुगेछन् भने जवाफ दिनुहोला ।

 

तपाईहरुलाई नेता बनाउन भरपुर मद्दत गरेको , तपाईहरुले मान्ने सिद्धांतले हुँदा खाने र हुनेखाने बिचको फरक छुट्ट्याउन किन सक्दैन आजभोली ? कि तपाईको सिद्धान्तमा कुर्सिको जालो लाग्यो ? सर्बहारा र पुँजिपतीबिच फरक देखाउने तपाईका सैद्धान्तिक चस्माको पावर फेरिएकै हो ? होईन भने तपाईहरुका सिद्धान्तले सम्भ्रान्त / पुँजिपती / हुनेखाने / कुन्नी के के करार गएकाहरुको अङ्गालोमा मात्रै किन देख्नुपर्छ तपाईहरुलाई ? आफैले दलाल करार गरेकाहरुको साघुरो घेरादेखी कहिले उम्किनु हुन्छ तपाईहरु ?

 

हिजो देश बदल्ने अभिलाषामा भूमिगत हुँदा उनै मुग्लानेहरुको झुपडीमा बितेका रातहरुको याद गर्नुहोस् । प्रत्येक छाक गाँस निल्नेबेला , हिजो झुपडिको जोडि नमिलेका सिलोटका थाल कचौराहरु सम्झिने गर्नुहोस् । दुखिजनले आफ्नो गाँस काटेर तपाईहरुका पेट भरिदिएको गुण कहिले तिर्नुहुन्छ ? आफ्ना दिवङ्गत पुर्खाप्रती पिण्ड दिनेबेला , कुनै बेला आफ्नै उक्साहटमा जीवन कुर्वान गरेका शहिदको अभागी सपनाले झस्क्याउँछ कि त्यो पनि भुल्नु भो ? तपाईको अभियानमा उर्जा भर्दाभर्दै जवानिमै उजाडिएको सिउदो टुक्रीएको परिवार र टुहुरिएको सन्तानको झल्कोहरु कहिल्यै आउँछन वा बिराना भइसके ती पनि ?

 

हैरान त अस्तिको एउटा समचारले भए म । चिया खर्च मै बीस करोड झ्वाम् पार्नुभएछ तपाईहरु मिलेर । एक बर्ष चिया नपिउँदा के सक्किन्थ्यो तपाईहरुको ? फेरि कम्तिमा आफूले पिएको एक कप चियाको मोल तिर्न नसक्ने हैसियत पनि त होईन । केहिबेर सोच्नुहोस् । तपाईहरुले मात्रै चिया नपिइदिनु भएको भए बीस करोड जोग्गिन्थ्यो । अझ  पिउनुपर्ने चियाको मोल जम्मा गर्नु भएको भए अर्को बीस करोड थपिन सक्थ्यो । अब हिसाब गर्नुहोस् चालीस करोड रुपियाँ दस लाखका दरले बिनाधितो देशफिरेका मुग्लानेहरु सम्म पुर्‍याउन सक्नुभएको भए चार सय जना आफ्नै देश बस्न पाउँथे । प्रसङ्ग चिया कै मात्रै उप्काए मैले । सवाल खानाको हुदा थप कति नेपालिको स्वाभिमान जोगिन्थ्यो ? हिसाब आफै गर्नुहोला ।

 

यहि बिच दूध पचाएर बीस ओकल्ने सर्प पाल्नलाई बहत्तर करोड छुट्याउनु भयो रे । खबर कति आधिकारिक हो तपाईहरुलाई नै थाह होला । तर यहि रकम जनता पाल्न खर्चिएको भए थप हजार जनाको मजदूरी बेचिने थिएन सायद । यी केही जानाकारिमा आएका प्रतिनिधि प्रसङ्गहरु मात्रै हुन् । लोकले पत्तै नपाएका कति गुमनाम प्रसङ्गहरुको साक्षि हुनुहोला तपाईहरु । ती सबै रकम हजम गर्ने गोप्य प्रसङ्गहरु निमुखाजनको उद्दारमा खर्चिन सकेको भए हज्जारौं परदेशिहरु यो माटो छोडेर जान बिबश हुने थिएनन । पद मिलानको किचलोबाट फुर्सद मिले यतातिर पनि सोच्नुहोला केहिबेर ।

 

हुन त तलब नै तिरेर रातदिन तपाईहरुकै सल्लाहको लागि उपलब्ध हुने बिज्ञ सल्लाहकारहरुको जमात नै छ तपाईहरुसँग । र पनि म आफूलाई हो कि झैं लागेको एउटा सल्लाह दिन चाहन्छु । तपाईहरुको दुईतिहाईको हालिमुहालीको प्रदर्शन ठिक मध्यतिर छ अहिले । बाँकी आधाभाग पनि क्लाईम्याक्स कुर्दाकुर्दै सकिनेछ पक्कै । अनि फेरि अर्कोचोटी दुईतिहाईको अनुमोदनमा गाउँ फिर्नुहुन्छ होला  पक्कै । फेरि सडकका भित्ताहरु / पाटी पौवा / शौचालय / पूल / चौतारो / जताततै समृद्धिको पोस्टरहरुले रङ्गिने होला । बाटो / दोबाटो जतासुकै तपाईंहरुका घोषणापत्र भेटिने होलान् । तपाईहरु भित्रीने नयाँ / नयाँ प्रवेशद्वारहरु बनाईने होला । मन्च सजावटको त कुरै नझीकौं । स्वर मिलाई मिलाई भाकाहालेर तपाईहरुको महिमा गान पनि गर्लान कलाकारहरु मिलेर । बोराभरी कालोधन कोचेर टिकस नामको चिर्कटोको आसमा तपाईहरुका दरवार धाउलान् दलालहरु । मगजमा लिदि भरिएका दुखी भेडाजनहरुलाई पुन एकमहिने दसै आउला । बेमौसमि दसै आएको उपलक्ष्यमा टोल / टोलमा , चोक / चोकमा , होटल / होटलमा रक्सी मासुको आतंक पनि होला । पाँच मिनेट तपाईको पार्टिको झण्डा बोके बापत पाँच लिटर पेट्रोलको माग पनि गर्लान् केहिथान ट्यापेहरुले । यस्तै रमिता पछि तपाईहरु पुन अनुमोदित हुनुहोला ।

 

तर सुझाव सुरु गर्नुअघि एउटा जिज्ञासा राख्ने अनुमती चाहन्छु । यो राम रमिताको आर्थिक स्रोत के हो अध्यक्षद्वय ? यो स्रोतको मुहान कालो छ कि गोरो ? खैर मुहान कालो हिस कि गोरो तात्विक फरक पार्दैन यसले मेरो सुझावमा । मात्रै जान्न खोजेको हु । सुझाव के छ भने आगामी अनुमोदनमा बिगतमा झै रमिता नदेखाउनुहोला । बिरोधीलाइ देखाउन गरिने यी रमिताहरुको खर्च सोझै निमुखाको उद्दारमा खर्च होस् । समय छँदै उद्घोष होस् आगामी चुनावमा हाम्रो पार्टिले प्रचार प्रसारमा सुको खर्चिँदैन भनेर । यो बापत बचेको रकम कुन मोडलमा गरिब किसान मजदुरको झुपडी सम्म पुर्‍याउने हो बेला छँदै स्किम तयार गर्नुहोस् विश्वास गर्छन् जनताले ।

 

कुनै दलाललाई रकम हजम नभएर टिकट किन्न आउछन् भने पनि स्विकार गर्नुहोस् तर खर्च गरिबको हितमा होस् । देशभर बाँडिने घोषणापत्र छपाईको खर्चले कति परिवारले भरपेट कति दिन खान पाउँछन् हिसाब गर्नुहोला । हुन त निकैचोटि एकहातमा लड्डु देखाउँदै अर्कोहातमा लुकाएको ईटाले हिर्काउनुभएको छ तपाईहरुले दुखिजनलाई । तसर्थ आफैँमा विश्वास नलाग्न पनि सक्छ । तर बेला छदै सुध्रीएर देखाउनुहोस् । तपाईहरुको बिग्रीएको मति सुध्रीएपछि , हुलका हुल दुखी , गरिब , मजुदुर , किसान , न्यायप्रेमिहरु तपाईको कित्तामा उभिनेछ्न । जतिबेला तपाईहरुले आफ्नो प्रचारको खातिर न त पर्चा छर्दै हिड्नुपर्छ । न कसैलाई रक्सी मासु खुवाउनु पर्छ । न कुनै समुहको भवन निर्माणलाई केही हजार दिए झै गर्नु पर्छ । न त कसैको खाली ट्याङ्किमा तेल भर्नुपर्छ । सिङ्गो समुदाय तपाईको प्रचारमा खट्न सक्छ्न , मात्रै तपाईहरुको मति सुध्रीनु पर्‍यो ।

 

यस्ता यथार्थ भुलेर बैरिहरुसँग ओठे जवाफ लगाउदै बस्ने हो भने स्खलनको यात्र अब रोकिँदैन । बोलिले मात्रै चिउरा भिज्ने भए हिजो जङ्गल छिपेर भारतसँग सुरुङ्ग युद्ध गर्छु भन्दा भयङ्कर राष्ट्रवादिको पदवी पाएकै हो । नाकाबन्दीले देश सकसमा पर्दा सामना गरेबापत इनाम पनि दिएकै हुन जनताले । तर हिजो प्राप्त पदविको टालो फाटेर चुरचुर भै सक्यो । उही राष्ट्रवादको फाटेको टालोले लाज छेकिँदैन अब । हामी भन्दा कति साल कान्छो छिमेकी , आफ्नै देशमा करोडौं भिखारीको बिचल्लिमा आँखा चिम्लँदै हाम्रो भोकमा खिल्ली उडाउँदै छ । हुन त हाम्रा दाजुभाईले श्रम बेच्ने हुन् । र पनि फोकडमा खाना खुवाए झैं अहङ्कारमा कुर्लिन सुरु गरिसक्यो छिमेकी । यहि रफ्तारले हिजो प्राप्त भयङ्कर राष्ट्रवादिको पहिचान माटोमा मिल्नेवाला छ छिटै । हेक्का होस अध्यक्षद्वय देशको स्वाभिमान र प्रतिष्ठा बेचिएका केही हजार चेलिहरुको अस्मितासँग मात्रै जोडिँदैन । घर फिरि सकेको हाम्रो स्वाभिमान भोक खप्न नसकी पुनः मुग्लान पलायन हुँदैछ , दिनरात अरुको घर कुरेर उभिनु पर्ने बहादुरको बिल्ला भिरेर ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीनः गृहमन्त्रालय

  • 8 minutes ago
सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीनः गृहमन्त्रालय

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई काेराेना सङ्क्रमण

  • 12 minutes ago
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई काेराेना सङ्क्रमण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । आज भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी ग

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना

  • 16 minutes ago
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना

काठमाडौँ । नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थाप



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।